जहाँ शनिबार पनि कर्मचारी कार्यालयमै भेटिन्छन्

झापा ।  शनिबार पनि सरकारी कार्यालय खुल्छ भन्ने कुरा धेरैलाई विश्वास लाग्दैन । पत्याउनै गाह्रो हुन्छ । तर, झापाको शिवसताक्षी नगरपालिका कार्यालय भने शनिबार पनि खोलेर कर्मचारीले सेवाग्राहीको काम गरिरहेका भेटिन्छन् ।

शनिबार विहान ११ बजे शिवगञ्ज जाने क्रममा दुधे–शिवगञ्ज सडकबाट कार्यालयको ढोका खोलिएको देखियो । शिवगञ्जको काम छोट्याएर शिवसताक्षी नगरपालिका जाँदा तीनजना कर्मचारी हुँदै आ–आफ्ना फाँटमा काम गरिरहेका थिए ।

नगरपालिकाका इञ्जिनियर महेश भण्डारी, कार्यक्रम अधिकृत महेश लामिछाने र जिन्सी स्टोर प्रमुख दिपक तामाङ कार्यलयको काम गरिरहेको भेटिएका हुन् । कार्यक्रम अधिकृत लामिछानेका अनुसार इञ्जिनियर भण्डारी बिहान साढे ९ बजे कार्यलयमा काम गर्न आएका हुन् भने स्टोर प्रमुख तामाङ र बिहान साढे ६ बजे आएका हुन् ।

इञ्जिनियर भण्डारीको फाँटमा जाँदा उनी योजनाका काम गरिरहेका थिए । अघिल्लो दिन मात्र वडा नम्बर २ को २५ वटा योजनाको निरीक्षण गरेर फर्किएका भण्डारीलाई घर पुग्न राति साढे सात वजेको थियो ।

उनले भने, ‘शुक्रबारै ती योजनाको स्टिमेट, डिजाईन गर्न समय नपुगेकाले शनिबार कार्यलयमा ती योजनाको काम गरेका हौँ । वडाकै काम गर्न भ्याइ–नभ्याइ छ, नगरको त छोएकै छैन ।’

शिवसताक्षी नगरका इञ्जिनियरले योजना छनौट, योजना तयार, योजनाको डिजाइन स्टिमेट, अनुगमन लगायतका काम गर्नुपर्छ । नगरमा साहायक इञ्जिनियर नहुँदा कामको चाप बढेको भण्डारीले बताए । विधागत कर्मचारीको जनशक्ति अभावकै कारण शिवसताक्षी नगरका कर्मचारीले विदाको अनुभव गर्न पाएका छैनन् ।

महेश लामिछाने शिवसताक्षी नगरको कार्यक्रम अधिकृत हुन् । उनको फाँटमा पुग्दा उनी निकै व्यस्त देखिन्थे । नगरसभाका कतिपय वुँदालाई उनि धमाधम स्क्यानिङ गरिरहेका थिए ।

नगरसभाका निर्णयलाई स्क्यानिङ गरेर कम्प्युटरमा फाइलिङ गर्दै थिए । सामाजिक सुरक्षाको कार्यक्रमले पनि उनलाई निकै थिचेको छ । कार्यालय खुल्ला हुने दिन र कार्यालय समयमा नभ्याइएका काम बिहान, बेलुका र बिदाको दिन गर्ने गरेको उनले बताए । उनलाई पनि कार्यलयको कामले छोडेको छैन ।

शिवसताक्षी नगरपालिकाका अर्का कर्मचारी दिपक तामाङ पनि शनिबार बिहान ११ वजे कार्यकक्षमै भेटिए । उनी नगरका स्टोर प्रमुख हुन् । अन्य दिन नगरका वडा कार्यलयको काम गर्दे ठिक्क हुन्छ । कामको चाप बढेपछि शनिबार पनि जनताको सेवा गर्न कार्यलय आएको उनले बताए ।

नगरपालिकामा कार्यकारी अधिकृत पंकज भुर्तेल पनि बिदाको दिन कार्यालयको काम गर्न आउँछन् । उनी मात्र होइन, लेखा अधिकृत भीम खवास पनि विदाको दिन कार्यालय आउने गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )