धर्मान्तरणविरुद्ध झापाका धार्मिक संघसंस्था जुटे

धर्मान्तरणविरुद्ध झापाका धार्मिक संघसंस्था जुटे

बिर्तामोड । नेपालमा भइरहेको धर्मान्तरणविरुद्ध झापाका धार्मिक संघसंस्था एकजुट भएका छन् । विभिन्न गुट र समूहको नाममा हिन्दूधर्म माथि भएको चौतर्फी आक्रमणलाई प्रतिकार गर्ने उद्देश्यले झापाका धार्मिक संघसंस्था धार्मिक महागठबन्धनका लागि जुटेका हुन् ।

 

जबसम्म धार्मिक क्षेत्र गैरराजनीतिक रूपमा एकैछाता मुनि आउँदैनन् र कार्यगत एकतामा सहमत हुँदैनन् तबसम्म धर्ममाथिको विविध आक्रमणलाई तिरस्कृत गर्न सक्ने आँट कसैमा पनि नहुने भएकोले हिन्दू जागरण नेपाल जिल्ला कार्यसमिति झापाको आयोजनामा अर्जुनधारा जलेश्वरधाममा भएको झापाका धार्मिक संस्थाहरुका प्रतिनिधी तथा प्रमुखको भेलाले धार्मिक महागठबन्धनको रुपमा सनातन एकता केन्द्र नेपाल नामक छाता संगठनको निर्माण गरेको छ ।
झापामा हिन्दू धर्म परिवर्तन गराउँदै हिड्ने विभिन्न समूह सक्रिय रहेकाले त्यसलाई निरुत्साहित गर्न सनातन एकता केन्द्र नेपाल जिल्ला कार्यसमिति झापाको गठन गरिएको हिन्दू जागरण नेपाल जिल्ला कार्यसमिति झापाका अध्यक्ष खगेन्द्रप्रसाद निरौलाले बताए ।
हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको महाअभियान भन्ने मुख्य नारासहित रञ्जन देवकोटाको संयोजकत्वमा ‘सनातन एकता केन्द्र नेपाल’ गठन गरेको उनले बताए । नवगठित समितिको सहसंयोजकमा सोमनाथ सुवेदी, सचिवमा भीम भट्टराई र सदस्यहरुमा तुलसीप्रसाद निरौला,केदार खड्का, जयराम भट्टराई, निराजन ओली, प्रदीपकुमार पुरी र सूर्य सुवेदी रहेको बताउँदै अध्यक्ष निरौलाले नवगठित समितिलाई विस्तार गरी २१ सदस्यीय बनाइने जानकारी दिए । ‘सनातन एकता केन्द्र नेपाल’ ले झापा जिल्लाभरी रहेका सम्पूर्ण धार्मिक संस्थालाई समाहित गरेर लैजाने र त्यसले झापामा हुने धर्मानन्तरण विरुद्ध अभियान सञ्चालन गर्ने संयोजक देवकोटाले बताए ।
हिन्दु जागरण नेपाल झापाका अध्यक्ष खगेन्द्रप्रसाद निरौला‘को अध्यक्षता तथा हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष रामकृष्ण उपाध्यायको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सदस्य खगेन्द्र निरौलाले स्वागत गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष रामकृष्ण उपाध्यायले झापामा धार्मिक महागठबन्धनको रुपमा सनातन एकता केन्द्र नेपाल नामक छाता संगठनको निर्माण गरेकाले झापाका कुनै पनि धार्मिक संस्था अनाथ नहुने बताए । उनले २०७१ सालमा हिन्दु जागरण नेपालको स्थापना गरेको बताउँदै धर्म परिवर्तन मुक्त, जातिय छुवाछुत मुक्त र सनातन हिन्दु राष्ट्र नेपाल निर्माण गर्नु संस्थाको उद्धेश्य रहेको जनाए ।
कार्यक्रममा हिन्दु जागरण नेपालका प्रमुख प्रशिक्षक धुव्रराज लूँइटेल, केन्द्रीय सदस्य कुशलकुमार निरौला,सुवास ढकाल, केन्द्रिय सदस्य राघव उपाध्याय, अर्जुनधारा जलेश्वरधामका मुल अर्चक अग्निप्रसाद सिग्देल, स्वामी भागवताचार्य, राष्ट्रवाद केन्द्र नेपालका संयोजक निराजन ओली, आचार्य छन्दुराम भण्डारी, धार्मिक व्यक्तित्व केदार खड्का, सोमनाथ सुवेदी, नैनकला भट्टराई, गायत्री दाहाल , घनश्याम ढकाल, सूर्य सुवेदीलगायतले धार्मिक भेला अत्यन्तै अपरिहार्य भएको बताउँदै धर्मानन्तरण विरुद्ध एकजुट हुने बताएका थिए ।
कार्यक्रमको सञ्चालन हिन्दू जागरण नेपाल जिल्ला कार्यसमिति झापाका सचिव सिताराम तिम्सिना र सदस्य गंगाराम रिमालले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )