इष्ट होराइजन अंग्रेजी माविमा जीवनोपयोगी शिक्षा

इष्ट होराइजन अंग्रेजी माविमा जीवनोपयोगी शिक्षा

बिर्तामोड । सामान्यतया विद्यार्थीलाई विद्यालयमा कितावी ज्ञान मात्र दिइन्छ । विद्यार्थीलाई कितावी ज्ञानसंगै व्यवहारिक तथा जीवनोपयोगी शिक्षा पनि दिनुपर्छ भन्ने विद्यालयलाई थाह भएको पाइँदैन किनभने विद्यालयलाई एसईई परीक्षामा राम्रो रिजल्ट ल्याउने मात्र ध्याउन्न रहेको हुन्छ । तर झापाको मेचीनगर नगरपालिका –१० धुलावारीमा रहेको इष्ट होराइजन अंग्रेजी माविले भने जीवन उपयोगी शिक्षाका लागी कक्षा सञ्चालन गर्दै आएको छ ।

पढाइसँगै अतिरिक्त क्रियाकलापमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको उक्त विद्यालयले विद्यार्थीको माग अनुसारका विषय छनोट गरेर त्यही अनुरुपको शिक्षा प्रदान गरिरहेको विद्यालयका प्रिन्सिपल सञ्जिव राईले बताए ।
विद्यार्थीलाई कितावी ज्ञानका अतिरिक्त उनीहरुको रुची अनुसारका जीवनोपयोगी शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए ।
एनप्याब्सन झापाका पूर्व अध्यक्ष समेत रहेका राईले निजी विद्यालयहरुले विद्यार्थीको गतिविधि उजागर गर्ने खालको शिक्षा दिनुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयभन्दा निजी विद्यालयको शैक्षिक गतिविधि पृथक हुनुपर्ने बताए ।
निजी स्कूलमा अभिभावकहरुले पैसा तिरेर आफ्ना छोराछोरी पढाउने हुँदा पढाइको क्वालिटीसँगै पुराना र नयाँ खोज अनुसन्धान गर्ने कुरामा विद्यार्थीलाई उत्प्रेरित गर्न सक्नुपर्नेमा उनले जोड दिए ।
इष्ट होराइजन माविमा अध्ययनरत् विद्यार्थीले विद्यालय परिसरमा तरकारी खेती (करेसाबारी) गरेको प्रिन्सिपल राईले बताए । विद्यार्थीले तरकारी रोपेर शिक्षकहरुलाई विक्री वितरण गर्दै आएको बताउँदै उनले अर्गानिक तरकारी भएकाले विद्यालयमै खपत हुने बताए ।
विद्यार्थीले मूल्यमा मोलमोलाई गरेर शिक्षकहरुलाई तरकारी बेच्ने गरेको बताउँदै उनले विद्यार्थीले कृषि वा अन्य व्यवसाय गर्दा मोलमोलाई गर्न सकुन् भन्ने उद्धेश्यले यस्तो गरिएको जानकारी दिए ।
त्यस्तै इष्ट होराइजन माविमा अध्ययनरत् विद्यार्थीलाई पुराना सामग्रीको महत्व दर्शाउन विद्यालयमा पुराना सामग्रीको संग्रहालय निर्माण गरिएको प्लस टु को–अर्डिनेटर रेखा क्षेत्रीले बताइन् ।
गाउँ–समाजमा प्रयोग गरिने ढिकी, जाँतो लगायतका पुराना सामग्री लोप हुँदै गएपछि विद्यालयले ती सामग्री संग्रहालयमा राखेर विद्यार्थीलाई महत्व बुझाउने प्रयास गरिरहेको उनले बताइन् ।
त्यस्तै, विद्यालयले कुकिङ ल्याब सञ्चालन गरेको र त्यहाँ विद्यार्थीले मिठो–मिठो खानेकुरा पकाएर शिक्षकलाई बेच्ने गरेको क्षेत्रीले बताइन् । यस्तै, विद्यार्थीलाई दुनाटपरी बनाउन सिकाउने , सिलाई बुनाई तालिम साथै प्लविङ, इलेक्ट्रिसियन तालिम दिने गरेको क्षेत्रीले बताइन् ।
इष्ट होराइजन माविले अनुशासनलाई पहिलो शिक्षाको रुपमा लिएर पालना गराइरहेको विद्यालयका अनुशासन विभाग प्रमुख प्रेमनारायण डाँगीले बताए । उनले विद्यालयमा अध्ययनत् १५ सय विद्यार्थीका निम्ति अनुशासन पाटोलाई महत्वपूर्ण बनाएर लागू गरिरहेको बताए ।
शिक्षक महेश खड्काले यस विद्यालयका विद्यार्थीहरुले विभिन्न विधामा राम्रो प्रदर्शन र नतिजा निकाल्न सफल भइरहेको बताए । उनले विद्यार्थीको चाहना र शिक्षकको मेहनतबाट नै सफलता हात पार्न सकिएको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )