वालविकास शिक्षकलाई १० दिने पेशागत विकास तालिम

बिर्तामोड । सेतो गुँरास वालविकास सेवा झापा र सेतो गुँरास राष्ट्रिय वालविकास सेवा ललितपूरको आयोजनामा टीपीडी खाकामा आधारीत १० दिने पेशागत विकास तालिम झापाको बिर्तामोडमा आइतबारबाट शुरु भएको छ ।
नेपालको प्रारम्भिक वालविकास अध्ययनमा सहयोग परियोजना अन्तर्गत झापाका १५ वटै पालिकाको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।
सेतो गुँरास वालविकास सेवा झापाकी अध्यक्ष कृष्णमाया रिजालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाकी उपमेयर पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालको प्रारम्भिक वालविकास अध्ययनमा सहयोग परियोजना संयोजक प्रकाश रेग्मीले औचित्यमाथी प्रकाश पारेका थिए ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका मेयर धु्रवकुमार शिवाकोटी, शिक्षा इकाई समन्वय समिति झापाका प्रमुख राजकुमार विक , बिर्तामोड नगर शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, सेतो गुँरास राष्ट्रिय वालविकास सेवा ललितपूरकी कोषाध्यक्ष कौशिला खरेललगायतले शुभकामना दिएका थिए ।
झापाका १५ वटै पालिकाका १ सय ५० वटा वालविकास सेवामा कार्यरत १ सय ५० जना वालविकास शिक्षकहरुको सहभागिता रहेको तालिममा सातवटै प्रदेशका सेतो गुँरास वालविकास सेवाका प्रशिक्षकहरु भीमा राई, टीमकुमारी कुमाल, दुर्गाकुमारी शिवाकोटी, झलकुमारी कार्की, अनिता शर्मा, पम्फा खड्का, मिनादेवी ढुंगाना, कौशिला खरेल, नरबहादुर पाख्रिन, माधवीसिंह राजवंशीलगायतले सहजीकरण गरिरहेका छन् ।
आगामी चैत २९ गतेसम्म सञ्चालन हुने तालिममा वालवालिकाको सर्वाङगिण विकास सम्वन्धी सीप, प्रारम्भीक वालविकास केन्द्र सञ्चालन सम्वन्धी सीपलगायत प्रशिक्षण दिइने बताइएको छ ।प्रशिक्षक भीमा राईले तालिमको बारेमा जानकारी दिएको कार्यक्रमको सञ्चालन सेतो गुँरास वालविकास सेवा झापाकी सचिव माधवीसिंह राजवंशीले गरेकी थिइन् ।