विद्यार्थीलाई माहेश्वरी महिला मञ्च मेचीको सहयोग

विद्यार्थीलाई  माहेश्वरी महिला मञ्च मेचीको सहयोग

बिर्तामोड । झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् विद्यार्थी बिहीबार हर्षित मुद्रामा भेटिए ।

बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृहमा आवासिय रुपमा रहेर जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् उनीहरु लत्ताकपडा ,फलफूल तथा शैक्षिक सामग्री पाउँदा हर्षित भएका हुन् ।

माहेश्वरी महिला मञ्च मेचीका पदाधिकारीले जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् विभिन्न कारागारमा कैदीजीवन बिताइरहेका कैदीबन्दीका छोराछोरी र असहाय वालवालिकालाई लत्ताकपडा ,फलफूल तथा शैक्षिक सामग्री प्रदान गरेपछि उनीहरु खुशी भएका हुन् ।
अक्षय तृतियाको अवसर पारेर वालवालिकालाई ती सामग्री प्रदान गरिएको माहेश्वरी महिला मञ्च मेचीकी अध्यक्ष रीता चित्लाङगियाले बताइन् ।

माहेश्वरी महिला मञ्च मेचीकी अध्यक्ष रीता चित्लाङगियाको अध्यक्षता तथा संस्थापक अध्यक्ष सुधा गट्टानीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयकी शिक्षक गीतादेवी खरेलले स्वागत गरेकी थिइन् ।

माहेश्वरी महिला मञ्च मेचीकी सचिव सुधा तोसनिवालले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा माहेश्वरी मञ्च मेचीका अध्यक्ष महेश चित्लाङगियाले शुभकामना मन्तव्य राख्दै जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयमा सरस्वतीको मन्दिर बनाइदिने घोषणा गरे । त्यस्तै सामाजिक अभियन्ता कमल पोखरेलले विद्यालयको दयनिय अवस्था देखेर आफूले सहयोगका लागि माहेश्वरी महिला मञ्च मेचीलाई आग्रह गरेको बताए ।
जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयमा विभिन्न कारागारमा कैदीजीवन बिताइरहेका कैदीबन्दीका छोराछोरी , असहाय वालवालिका , दैनिक ज्यालादारी गर्ने कृषि मजदुर, रिक्सा चालक तथा भ्यान चलाउने यातायात मजदुर र सुकुम्बासी परिवारका छोराछोरीहरु अध्ययन गर्ने भएकाले उनीहरुलाई सहयोगको जरुरत परेकोमा माहेश्वरी महिला मञ्च मेचीले लत्ताकपडा ,फलफूल तथा शैक्षिक सामग्री प्रदान गरेर ठूलो गुन लगाएको बिद्यालयका प्रधानाध्यापक रञ्जीत परियारले बताए ।
सोही कार्यक्रममा बिद्यालयको वार्षिक परिक्षा अन्तर्गत कक्षा नर्सरीमा प्रथम हुने सफल माझी, कक्षा एकमा प्रथम हुने प्रमिसा बराइली, कक्षा दुईमा प्रथम हुने जेनीसा रानामगर, कक्षा तीनमा प्रथम हुने समिर आलम, कक्षा चारमा प्रथम हुने सोनिया लिम्वू र कक्षा ५ मा प्रथम हुने मनिता राईलाई माहेश्वरी महिला मञ्च मेचीले पुरस्कार प्रदान गरेको थियो ।
कार्यक्रमको सञ्चालन जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयका प्रधानाध्यापक रञ्जीत परियारले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )