कनकाईको बजेटमा कृषि तथा उत्पादनलाई प्राथमिकता

कनकाईको बजेटमा कृषि तथा उत्पादनलाई प्राथमिकता

बिर्तामोड । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले आर्थिक वर्ष २०७९\०८० को बजेटमा कृषि तथा उत्पादनको क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपाल मेची शाखाद्धारा आयोजित ‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ बिषयक जनप्रतिनिधिसँग साक्षात्कार कार्यक्रममा नगरप्रमुख पोखरेलले यस्तो बताएका हुन् ।
नगर प्रमुख पोखरेलले कनकाई नगरपालिकासंग भएको स्रोतसाधनलाई प्रयोग गरेर बजेट तथा कार्यक्रमहरु ल्याएको बताउँदै अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छुट्याएको जानकारी दिए ।
उनले पूर्वाधार विकासमा कम बजेट छुट्याएर कृषि उत्पानदनमा कनकाई नगरलाई आत्मनिर्भर बनाउन कृषि तथा उत्पादनको क्षेत्रलाई प्राथमिकता दिएको बताए । कनकाई नगरपालिकाले आर्थिक वर्ष २०७९\०८० को बजेट दुई करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा कृषि पकेट क्षेत्र, कृषि औजार, मल बिऊ व्यवस्थापन, चक्लाबन्दी खेती, अग्र्यानिक खेती, पशुपंछी, सामूहिक खेती लगायतका कार्यक्रममा उक्त रकम खर्च हुने जनाइएको छ । उत्पादन क्षेत्रलाई चारैतीरबाट जोड्ने प्रयास गरेको बताउँदै नगर प्रमुख पोखरेलले अर्गानिक तरकारी उत्पादनका लागि बजेट नै छुट्याएको बताए ।
त्यस्तै, नगरप्रमुख पोखरेलले आगामी पाँच वर्षभित्र नगर क्षेत्रमा रहेका विपन्नको घर निर्माण गर्ने योजना रहेको बताउँदै उनले जमिन भएपनि सुरक्षित घर नभएकालाई घर बनाउने योजना रहेको र मेयर आवास कार्यक्रम अन्तरगत काम भइरहेको उनले जानकारी दिए ।
कनकाई नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थललाई नगरको गौरबको आयोजनाको रुपमा अघि बढाउने बताउँदै कनकाई नगरपालिकाका प्रमुख पोखरेलले कनकाई नगरका प्रत्येक वडाभित्र रहेका धार्मिक तथा पर्यटकीय स्थललाई योजना संग जोडेर नगरको पहिचान स्थापित गर्ने योजना अगाड़ी बढाइने बताए । उनले कनकाई नगरमा हुने बिपद् न्यूनीकरण,कृषि बजारका रुपमा टहरा, धार्मिक तथा पर्यटकीय क्षेत्रको बिकास, युवा स्वरोजगार कार्यक्रम, बालमैत्री नगर, नगर अस्पताल, कनकाई, अर्जुनधारा र बिर्तामोड नगर मिलेर फोहोरमैला ब्यवस्थापन, शिक्षालगायत सवै क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम ल्याएको जानकारी दिए ।
कार्यक्रममा कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले आर्थिक बर्ष आर्थिक वर्ष २०७९÷०८० को बजेटमा संमग्र नगरका समस्यालाई छुने किसिमले बजेट निर्माण गरिएको बताउँदै नगरका सवै राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिहरुको सल्लाह सुझाव तथा उपस्थितिमा नगरको नीति, कार्यक्रम तथा बजेट ल्याएको बताइन् ।
यस बर्षको बजेटमा कृषि र पशुपालनको रुपान्तरण र प्रविधिको प्रयोग वढाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने, स्वास्थ्य र शिक्षालाई गुणस्तरीय बनाइने, गरीब र भूमिहिनलाई व्यवस्थापन गरिने, पर्यटकीय क्षेत्रको उजागर गरी आर्थिक विकास गरिने लगायत बजेटका प्राथमिकता रहेको नगर उपप्रमुख शिवाकोटीले बताइन् ।
नगरको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्र बजेट छुट्याइए पनि कृषिमा बढी बजेट छुट्याइएको बताउँदै उनले कृषिको माध्यमबाट रोजगारी सिर्जना गरेर विदेशिइरहेका युवालाई स्वदेशमै टिकाउने उद्धेश्यले कृषिलाई प्राथमिकता दिइएको बताइन् ।
कार्यक्रममा कनकाई नगरको बिकास निर्माण,जनताको आवश्यकता र भाबी योजना र कार्यक्रम समेटिएको करीब १३ मिनेटको डकुमेन्ट्री भिड़ियो प्रस्तुत गरिएको थियो ।
कार्यक्रम क्लबका अध्यक्ष शेखर सेढ़ाईले कनकाईका समस्या र नगरले आगामी दिनमा प्राथमिकतामा राख्नु पर्ने बिषयलाई समेटेर नगरका जनप्रतिनिधिलाई १६ बुँदे प्रश्न राखेका थिए ।
कार्यक्रममा कनकाई वडा नं. ७ की वडा सदस्य अरुणा सुब्बाले महिला सवलीकरण र सीप विकासको क्षेत्रमा काम गरिने बताइन् । त्यस्तै, वडा नं. १ वडाअध्यक्ष सुशिलकुमार पोखरेलले सामाजिक विकासका लागि वडाले विशेष कार्यक्रम सञ्चालन गरिने बताए । वडा नं. २ का वडाध्यक्ष बलराम राईले पयर्टन प्रबद्र्धन र सामाजिक रुपान्तरणमा वडाको बजेट केन्द्रीत हुने उल्लेख गरे । वडा नं. ३ का वडाअध्यक्ष युवराज चम्लागाईले आगामी पाँच वर्षमा आफ्नो वडालाई नमूना वडा बनाइने बताए ।
त्यस्तै जिल्ला समन्वय समिति सदस्य सन्तोष शोरेनले धनी र गरीबको बीचमा रहेको असमान शिक्षाको खाडल अन्त्य गर्न नगरपालिका लाग्नुपर्नेमा जोड दिए ।
त्यस्तै, कार्यक्रममा सहभागी वडाध्यक्षहरु वडा नं.४ का वडाअध्यक्ष रोषन सुवेदी,वडा नं. ६ का वडाअध्यक्ष दीर्घबहादुर थापा,वडा नं. ८ का वडाअध्यक्ष लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्य नवलकिशोर दत्त, महिला सदस्य निर्मला खड्का, राधाकुमारी विश्वकर्मा, सावित्रादेवी बर्देवा, कल्पना विश्वकर्मा, वडासदस्य भगन टुडू लगायतले आ–आफ्ना वडागतका भावी योजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा पत्रकार महासंघ प्रदेश कमिटी सदस्य लीलाराज झापाली, नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारी, विवेक भण्डारी, विजय पाठक लगायतको आतिथ्य रहेको थियो ।
रिपोर्टर्स क्लब नेपाल मेची शाखाका अध्यक्ष शेखर सेडाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष तथा बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )