पार्कभन्दा कम छैनन् घाट

झापा ।  स्थानीयको सक्रियतामा दुई करोडको पूर्वाधारपूर्वमा कन्काई नदी पार्थिव शरीर अन्त्येष्टिका लागि ‘पवित्र’ स्थल मानिँदै आएको छ ।

कन्काईमा दैनिक पाँचवटासम्म शव जल्छ । माईपूर्व र पश्चिम दुवैतिर घाट छ । कन्काई नगरपालिका वडा नम्बर ४ मा रहेको घाट भने स्थानीयवासीको सक्रियताका कारण व्यवस्थित बनेको छ । शव जलाउन दुईवटा व्यवस्थित स्थल निर्माण गरिएको छ ।

घाटमा आउने र किरियापुत्री बस्नेका लागि राष्ट्रिय समर्पण अभियानले आधुनिक कर्मयोग भवन निर्माण गरिदिएको छ ।

अभियान चलाएर स्थानीयले घाट व्यवस्थापनका लागि संकलन गरेको दुई करोड रकमले आधुनिक भवन बनेको हो ।

अभियानका कार्यवाहक अध्यक्ष लीला चिमरियाले मानव सेवा गर्ने उद्देश्यले भवन निर्माण गरेको सुनाउँदै केही समयपछि कन्काई घाट व्यवस्थापन समितिलाई हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए ।

उनका अनुसार अभियानअन्तर्गत १० हजार जनाबाट दुई हजारका दरले रकम उठाइएको थियो । भवनमा चार ब्लक छन् । प्रत्येक ब्लकमा सुविधासम्पन्न चार कोठा छन् ।

एउटा ब्लकमा अहिले सर्पदंश उपचार केन्द्र राखिएको छ । किरियापुत्री महिला र पुरुषका लागि बेग्लाबेग्लै कोठा, आफन्त तथा आगन्तुकका लागि पनि शौचालय, नुहाउनेसहितको सुविधासम्पन्न कोठा निर्माण गरिएको उनले बताए ।

बीचमा ठूलो हलसमेत निर्माण भएको छ । थप दुईवटा ब्लकको काम भइरहेको छ ।

घाट समितिका संस्थापक महासचिव मदनगोपाल सुब्बाका अनुसार अहिलेसम्म कतैबाट सहयोग नआए पनि स्थानीय समाजसेवी र दाताको सहयोगले घाट व्यवस्थापन भइरहेको छ ।

जंगलमा थरीथरी चराचुरुंगीको आवाज सुनिन्छ । नजिकै बग्ने खोलाको सुसाइले धेरैको ध्यान तान्छ । त्यहींभित्र मन्दिर र गुम्बा बनाइएको छ । ध्यानमुद्रामा लीन महादेवको मूर्ति निर्माणाधीन छ । एकै रङ र आकारका आधुनिक टायलले छोपेको सफा भुइँ देखिन्छ ।

आकर्षक देखिन्छ विराटनगरको हाटखोलास्थित परम वि श्रान्तिस्थल घाट । भवन र वि श्राम गर्ने फलैंचाले कुनै पार्कको तुलनामा कम मनोरञ्जन दिँदैन । यसको व्यवस्थापनमै करिब तीन करोड रुपैयाँ खर्च भइसकेको व्यवस्थापन समितिले जनाएको छ ।

पाँच वर्षअघि निर्माण सुरु भएको घाटमा बिजुली, पानी, घुम्ने ठाउँ, देवस्थल आदि सबै व्यवस्थित छन् । समुदायको पहलमा निर्माण भएको यो घाट पूर्वकै नमुना मानिन्छ ।

‘चार वर्षअघि अवस्था भिन्न थियो, यहाँको जंगल र झाडीभित्र मानिस पस्न डराउँथे’, घाट निर्माणमा सक्रिय देवकिसन मुन्दडाले भने, ‘तर, निरन्तरको मेहनत र प्रयासले यसलाई व्यवस्थित गर्न सकिएको हो । मरेपछि शरीरको दहन गर्न मात्र नभएर जिउँदाहरू पनि घुम्न मिल्ने बनाएका छौं । त्यसैले त यहाँ जिउँदैमा घुम्न आउँ–आऊँ लाग्छ ।’

हाटखोला चोकबाट उत्तरतर्फ सिंघिया खोला किनारमा बनाइएको छ घाट । यहाँ राति सोलार बत्तीको व्यवस्था छ ।

शव जलाउन खोला किनारमा अलग संरचना छ । मलामीका लागि कुरुवाघर र किरिया गर्नेका लागि छुट्टै भवन पनि छ । मुन्दडाकै पहलमा थालिएको घाट व्यवस्थापनको काम अहिले सामाजिक संघसंस्थाले पनि हातेमालो गर्न थालिसकेका छन् ।

विराटनगर महानगरपालिकाले पनि यो घाटलाई नमुना बनाउन थप कार्ययोजना बनाउने तयारी गरेको मेयर भीम पराजुलीले बताए । ‘

जिउँदाका लागि मात्र नभई मरिसकेपछि पनि आफन्तलाई सुविधा होस् भन्ने हाम्रो चाहना हो’, मेयर पराजुलीले भने ।

इटहरीमा केही वर्षअघिसम्म शव जलाउनका लागि हिलो र पानीसँग जुध्नुपर्ने बूढी खोलाको घाट यति खेर कुनै पर्यटकीय क्षेत्र र पार्कभन्दा कम छैन ।

तीन वर्षको अन्तरालमा उक्त घाट धार्मिक तीर्थस्थलमा परिणत भएको छ । त्यहाँ व्यवस्थित घाटका साथै किरियापुत्री भवन तथा केही मन्दिर निर्माण भएका छन् । विगतमा दिसा गर्ने, दुव्र्यसनीले गाँजा तान्ने ठाउँका रूपमा परिचित पुलमुनिको उक्त स्थान अहिले ‘बृहत्तर मुक्तिधाम क्षेत्र’का रूपमा विकसित भएको छ ।

‘इटहरी उपमहानगरपालिका र जिल्ला विकास समिति सुनसरीले तीन वर्षमा जम्मा ४० लाख रुपैयाँ दिए’, बृहत्तर मुक्तिधाम क्षेत्र विकास समितिका अध्यक्ष हेम घिमिरेले भने, ‘जबकि झन्डै ६ करोड लगानी भइसकेको छ ।’ घाट निर्माणमा सरकारको सहयोग सात प्रतिशत पनि देखिएन ।

राज्यका निकाय तथा राजनीतिक दलबाट सहयोग नपाए पनि मुक्तिधामको विकास रोकिएको छैन । केही दिनअघि मात्र एक दाताले मन्दिरको विकासका लागि ५० लाख कबोलेर पहिलो किस्ताबापत २५ लाख पठाएको घिमिरेले बताए । अझै मुक्तिधामसँग अटोमेटिक झाँकी, पानीको फोहरा, हिमाल, पहाड तथा तराईसमेतको १० करोडको योजना छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )