भद्रपुरमा किन बनेन झोलुंगे पुल ?

झापा ।  मुलुकमा चारजना प्रधानमन्त्री फेरिए पनि झापाको भद्रपुर नगरपालिका–३ स्थित मेचीपारिबासीको वर्षाैंदेखिको सपना अझै पूरा भएको छैन ।

गाउँमा बिजुली आए पनि पुल नबन्दा उनीहरूको पीडा जस्ताको त्यस्तै छ । भारतीय भूमिसँग जोडिएको मेची नदीपारि टापु आकारको सानो गाउँलाई भद्रपुरसँग जोड्ने उद्देश्यले नेपाल सरकारले आर्थिक वर्ष २०७२/०७३ मा एउटा योजना अघि सारेको थियो ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले सत्ता सम्हालेको सरकारले मेचीपारिबासीको सेवा सुविधालाई मध्यनजर गर्दै मेची नदीमा झोलुंगे पुल निर्माणका लागि बजेट निकासा गरेको थियो ।

नदीमा झोलुंगे पुल बन्ने दशकौँदेखिको सपना पूरा हुन लागेपछि मेचीपारिका १ सय ४० घर परिवारमा खुसियाली छायो । तर, मेचीपारिबासीको खुसीयालीलाई निर्माण कम्पनीले ग्रहण लगाइदिएका छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले २०७२ असोज ११ गते एक भव्य समारोहका बीच पुलको शिलान्यास गर्दै समयमा काम सम्पन्न गराउन सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई जानकारी गराए पनि त्यसले निरन्तरता पाउन नसक्दा स्थानीयमा फेरि निराशा छाएको छ ।

निर्माण कम्पनीले १८ महिनामा सक्नुपर्ने झोलुंगे पुलको काम २८ महिनामा पनि सकेको छैन । ठेकेदारले निर्माणकार्य अलपत्र छाडेर बेपत्ता बनेपछि अहिले स्थानीय नदी तर्न बाध्य छन् ।

हिउँदमा त नदी तर्दा समस्या छैन । तर, बर्खाको तीन महिना स्थानीयको आवतजावत नै ठप्प हुन्छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको बजेटबाट यो पुल बन्न लागेको हो ।

भ्याटसहित दुई करोड ८५ लाख ९८ हजार २५९ रुपैयाँमा नीलगिरी सेवा प्रा.लि. बानेश्वर काठमाडौँले २०७२ भदौ ७ गते ठेक्का सम्झौता गरेको थियो ।

२८० मिटर लामो र १३ मिटर चौडाइसहितको यस पुलको निर्माण कार्य १८ महिना अर्थात् २०७३ फागुन ६ गते सम्पन्न हुनेगरी निर्माण व्यवसायी युवराज डाँगीले ठेक्का लिएका थिए ।

तोकिएको समय अवधि सकिएर १० महिना बढी भइसकेको छ । अहिले निर्माणस्थलमा एउटा टहरामा दुई चार जना कामदार बस्दै आएका छन् ।

दुईवटा पिलरको काम अधुरो छाडिदिएका छन् । पुलको लागि ल्याएका सामग्री खिया लाग्न र सिमेन्ट डल्लो पर्न थालिसकेको छ । तर, ठेकेदारको अत्तोपत्तो छैन । यसतर्फ झापाका सम्बन्धित निकायले समेत बेवास्ता गरेकोप्रति स्थानीयले गुनासो पोख्न थालेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )