स्कूल बसका चालकले मादक पदार्थ सेवन गरेपछि…
झापा । मादक पदार्थ सेवन गरी स्कूल बस चलाइरहेको अवस्थामा प्रहरीले चालकलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गरेको छ ।
बससहित चालकलाई प्रहरीले दमकबाट नियन्त्रणमा लिएको हो ।
सुनसरीको दुहवीस्थित दुहबी आदर्श बोर्डिङ स्कूलको को १ ख ३८०१ नम्बरको बसका चालक सोनापुरका ३८ वर्षीय नारायण माझीलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकको जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।
प्रहरी निरीक्षक राईका अनसार स्कूल बसका चालक माझीलाई शनिबार साँझ ६ः३० बजे नियन्त्रणमा लिइएको हो ।
चालकलाई इलाका प्रहरी दमकले आइतबार सार्वजनिक मुद्दा चलाएको छ ।
उक्त स्कूल बसमा चढेर दुहबी आदर्श बोर्डिङ स्कूलका शिक्षक तथा विद्यार्थी झापाको जामुनबारी पिकनिकका लागि आएका थिए ।
पिकनिकमा मादक पदार्थ सेवन गरी चालकले गाडी चलाएको ट्राफिक प्रमुख राईले बताए ।
पिकनिकबाट सुनसरी फर्किने क्रममा दमकको ताराबारी पुगेपछि उक्त स्कूल बसले अगाडिको एउटा गाडीलाई ठक्कर दिएको थियो । ठक्करबाट गाडीमा सामान्य क्षति भएको बताइएको छ ।
प्रहरीले चालक र गाडीलाई नियन्त्रणमा लिएपछि शिक्षक तथा विद्यार्थी अर्कै गाडीमा चढेर गएका थिए ।
पछिल्लो समय पिकनिकका लागि आउने सवारी चालकहरुले मादक पदार्थ सेवन गर्ने क्रम बढेको छ ।