कुखरा फार्मको विरोधमा गाउँले

झापा ।  गाउँको बीचमा सञ्चालित एक कुखुरा फार्मका कारण आफूहरु मारमा परेको कन्काई नगरपालिका–८ का बासिन्दाले गुनासो गरेका छन् ।

बिर्तामोड–२ मा पर्ने जग्गामा सञ्चालित भाटभटेनी ह्याचरी (कुखरा फार्म)का कारण सिंगो गाउँ नै दुर्गन्धित भएको उनीहरुको दुखेसो छ । दुर्गन्धसँगै रोगसमेत फैलिन थालेको स्थानीय बताउँछन् ।

तारा प्रसाईं, निर्जा शिवाकोटी, भरत ओडारी, उज्जल भट्टराई र युवराज गुरुङ गरी ५ जना लगानीकर्ता मिलेर गत वैशाखबाट भाटभटेनी ह्याचरी सञ्चालनमा ल्याएका हुन् ।

विवादको मुख्य कारण
भाटभटेनी ह्याचरीले अर्को पनि कुखुरा फार्म सञ्चालन गर्नकै लागि हाल सञ्चालन भइरहेको ह्याचरीदेखि ५ सय मिटर पश्चिम (कन्काई नगरपालिका–८) मा केही समयअघि नै जग्गा खरिद गरेको थियो ।

ह्याचरीका सञ्चालकले उक्त जग्गामा पनि कुखुरापालन गरी अण्डा उत्पादन गर्ने उद्देश्यले कुखराको खोर लगायत आवश्यक पूर्वाधार निर्माण सुरु गरेपछि स्थानीयबासीले अवरोध पु¥याएका छन् ।

उनीहरुले ह्याचरीका सञ्चालकलाई उक्त स्थानसम्म जानसमेत दिएका छैनन् । बाटोमा दुबैतर्फ बाँसको ढाट लगाइदिएका छन् ।

कन्काई नगरपालिका–८ का बासिन्दा स्थापना हुनै लागेको कुखुरा फार्मको विरोधमा उत्रिएपछि ह्याचरीका सञ्चालकहरु अप्ठ्यारोमा परेका छन् ।

समाजका कसैसँग सल्लाह नै नगरी ‘कुन्डले मुन्डले’ ल्याएर जबर्जस्ती पेलेकै भरमा नयाँ कुखुरा फार्म खोल्न खोजिएको स्थानीयको भनाइ छ ।

स्थानीयको यस्तो गुनासो
बिर्तामोड नगरपालिकाभित्र पर्ने जग्गामा हाल ह्याचरी (कुखुरा फार्म) सञ्चालनमा छ । २५ वर्षका लागि अमरसिंह माविको १ बिघा ११ कट्ठा जग्गा लिजमा लिएर ह्याचरी सुरु गरिएको हो । सञ्चालकका अनुसार यो मेची अञ्चलकै ठूलो कुखुरा फार्म हो ।
तर, हाल सञ्चालन भइरहेको ह्याचरीबाट मरेका कुखुरा, बिग्रिएका अण्डा र कुखुराका आन्द्रा नजिकैको घाग्रा खोलामा बगाइदिएको स्थानीयको भनाइ छ । खोलाको पानी दुषित भएसँगै गाईवस्तुले पानी खान छोडेको स्थानीयले बताए ।

‘गाउँभरी दुर्गन्ध हुन्छ, झिँगा र मच्छड भन्किरहन्छ, दुर्गन्धले गर्दा सिंगो गाउँ नै अप्ठ्यारोमा परिसक्यो,’ स्थानीय अगुवा बृहस्पति उप्रेतीले भने, ‘दुर्गन्धकै कारण खेतीयोग्य जमिन पनि बिक्न छाड्यो, हाम्रो बाँच्न पाउने अधिकार हनन् भयो ।’

कुखरा फार्मकै कारण आफूहरुको बसोबास उठ्न लागेको स्थानीय प्रमिला भेट्वालले बताइन् ।

दुगन्धका कारण टाउको दुखेर गाउँ नै छोडेर हिँड्ने स्थिति आएको उनको भनाइ छ ।

‘४ बजेदेखि ६ बजेसम्म माक्स नलगाइ बस्नै सकिँदैन, अहिले चलिरहेको फार्ममा १४ हजार कुखुरा छन्, बन्न लागेको नयाँ फार्ममा ५० हजार कुखुरा हाल्छन् अरे, हामी त यहाँ बस्ने अवस्थै छैन,’ स्थानीय युवा उमेश तिवारीले भने ।

सुरुमा औषधि उत्पादन गर्ने उद्योग बनाउने भनेर ढाँटेर अहिले कुखुरा फार्म खोल्न लागिएको स्थानीय रविलाल तिवारीले बताए । अरु काममा ज्यान दिएर सहयोग गर्ने तर, कुनै हालतमा कुखुरा फार्म खुल्न नदिने उनको भनाइ छ ।

‘कुखुरा फार्म खोल्न नदिनेलाई पाता फर्काउँछन् अरे, फार्म खोलिसकेर मात्र छोडिदिनेसम्मको धम्की दिँदैछन्,’ स्थानीय गंगामाया ढुंगेलले भनिन्, ‘अहिले सञ्चालन भइरहेको फार्मको दुर्गन्धले हाम्रो परिवारको ५ जनासम्म एकैपटक बिरामी प¥यौँ, पानी तताएर दिने मान्छेसम्म भएन, पाहुना आउँदा पनि बस्न सकेनन् ।

अब अर्को फार्म पनि खोले भने हामी गाउँमा बस्नै सक्दैनौँ ।’

स्थानीय युवा कमलप्रसाद बास्कोटाको गुनासो पनि उस्तै छ । ‘मानव बस्तीमा राखेको ह्याचरीले गाउँमा नै दुर्गन्ध फैलायो, रोग निम्त्यायो, जग्गाको कारोबार पनि बन्द नै भयो,’ उनले भने, ‘यसबारे कन्काईका जनप्रतिनिधि पनि बेखबरझैँ बस्ने गरेका छन् ।’

के भन्छन् ह्याचरी सञ्चालक ?
ह्याचरी सञ्चालकमध्येका एक भरत ओडारीका अनुसार गत वैशाखमा ह्याचरी स्थापना हुँदा स्थानीय सबै खुशी थिए । हाल नयाँ कुखुरा फार्म खोल्न लागिएपछि एक्कासी विरोध सुरु भएको उनको भनाइ छ ।

‘कुखुरा पाल्दा रोग फैलन्छ भनेर केही व्यक्तिले गाउँभर त्रास फैलाइदिएका छन्,’ उनले भने, ‘हामी लेटेस्ट टेक्नोलोजीको फार्म खोल्ने तयारीमा छौँ, कम्पाउण्डसहित व्यवस्थित पारेर गन्धरहित फार्म बनाउने हाम्रो लक्ष्य हो ।’

नयाँ बन्नै लागेको कुखुरा फार्ममा १० दिनदेखि स्थानीयले अवरोध गरेर आफूहरुलाई त्यो बाटै हिँड्न नदिएको सञ्चालक ओडारीले बताए । ५÷७ हजार कुखुराको चल्ला ल्याएर हुर्काउने र अण्डा निकाल्ने सोचमा आफूहरु रहेको उनले सुनाए ।

‘चल्ला बुक पनि गरिसकेका छौँ, फेब्रुअरी २० मा चल्ला आउँदैछ,’ उनले भने, ‘त्यो बीचमा खोर बनाइसक्नुपर्ने हुन्छ तर, कुखुरा पाल्नै दिँदैनौँ भन्दैछन् ।’
मुलुकको अर्थतन्त्र पोल्ट्रीले ५ प्रतिशत धानेको दाबी गर्दै उनले आफहरुले खरिद गरेको जग्गामा जसरी पनि फार्म सञ्चालन गर्न पाउनुपर्ने बताएका छन् ।
जनप्रतिनिधि नै अन्योलमा
कुखुरा फार्म अव्यवस्थित ढंगले चलाइएमा समाजमा असर पर्ने कन्काई–८ का वडाध्यक्ष प्रेमबहादुर कटुवालले बताए । ‘चलाउन जानेनन् भने त उठिबास नै हुन्छ, व्यवस्थित गरे पनि छेउछाउका केही घरलाई त असर गर्छ,’ उनले भने, ‘उद्योग व्यवसायलाई फुत्तै हटाउन पनि गाह्रो, अर्कोतर्फ स्वस्थ वातावरणमा बाँच्न पाउने स्थानीयको अधिकार पनि हामीले रक्षा गर्नुपर्ने, हामी त असाध्यै धर्मसंकटमा परेका छौँ ।’
फार्म सञ्चालकलाई आफूहरुले वैकल्पिक ठाउँ खोज्न सल्लाह पनि दिएको उनले बताए । कन्काई नगरपालिकाले यस विषयमा चाँडै आन्तरिक छफलफल गर्ने उनको भनाइ छ । ‘अलिअलि छलफल त भइरहेकै छ, हामी ठोस निर्णयमा चाहिँ पुगेका छैनौँ,’ उनले भने ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )