सार्वजनिक शौचालय संरक्षणको जिम्मा क्लबलाई

झापा ।  झापाको कमल गाउँपालिका–५ स्थित मंगलबारे बजारमा सार्वजनिक शौचालय (महिला र पुरुषका लागि छुट्टाछुट्टै) निर्माण गरिएको छ ।

जिल्ला खानेपानी डिभिजन कार्यालय, लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र स्थानीय सगुन युवा क्लबको साझेदारीसमेत कुल ५ लाख ६० हजार रुपैयाँको लागतमा शौचालय निर्माण गरिएको हो ।

शनिबार एक कार्यक्रमबीच नवनिर्मित शौचालयको उदघाटन तथा हस्तान्तरण गरिएको छ ।

कमल गाउँपालिका–५ का वडाध्यक्ष डम्बर निरौलाको प्रमुख आतिथ्य र लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाकी अध्यक्ष उषा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका अध्यक्ष देवी आङदेम्बेलाई वडाध्यक्ष निरौला र खानेपानी अध्यक्ष भण्डारीले शौचालयको ताला चाबी हस्तान्तरण गरे ।

शौचालय निर्माण गर्न डिभिजनको ५ लाख, क्लबको ५० हजार र खानेपानी समितिको १० हजार रुपैँया खर्च भएको बताइएको छ । खानेपानी समितिको सक्रियता तथा खुला दिशापिसाब मुक्त गाउँपालिका बनाउन क्लबमा सार्वजनिक शौचालय निर्माण गरिएको खानेपानीकी अध्यक्ष भण्डारीले बताए ।

प्रत्येक मंगलबारका दिन साप्ताहिक बजार लाग्दै आएको सो स्थानमा सार्वजनिक शौचालय निर्माण गरिएपछि त्यस क्षेत्रमा हाटबजार भर्न आउने सर्वसाधारणहरुलाई सुविधा पुग्ने स्थानीयबासिन्दा समेत रहेका दमक उद्योग वाणिज्य संघका कार्य समिति सदस्य ज्ञानु पौडेलले बताए।

सोही अवसरमा क्लबले निर्माण गरेको टेवलटेनिस बोर्डको समेत उदघाटन गरिएको छ । वडाध्यक्ष निरौलाले क्लबको आन्तरिक स्रोतबाट निर्मित सो टेबलटेनिस बोर्डको उदघाटन गरे ।

सो बोर्ड ९ हजार रुपैयाँको लागतमा निर्माण गरिएको क्लबका अध्यक्ष आङदेम्बेले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )