भारतीय राजदूतलाई भद्रपुरमा यसरी गरियो स्वागत

भद्रपुर ।  नेपालका लागि भारतीय राजदूत मञ्जुसिंह पुरीलाई सीमावर्ती नगर भद्रपुरमा भव्य स्वागत गरिएको छ ।

भारतसँग सीमा जोडिएका पूर्वी नेपालका क्षेत्रहरुको अवस्था बुझ्न आएका राजदूत सिंहलाई भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रामाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत काजीमान राई लगायत कर्मचारीको टोलीले शुक्रबार दिउँसो चन्द्रगढी विमानस्थलमा सम्मानसहित स्वागत गरेको थियो ।

विमानस्थलमा स्वागतपछि राजदूत सिंहको सम्मानमा नगरपालिका सभाहलमा संक्षिप्त कार्यक्रम आयोजना गर्नुका साथै भद्रपुरमा सञ्चालित विकास निर्माणका कामलगायत दूतावासद्वारा सञ्चालित परियोजनाका प्रगतिबारे जानकारी गराइएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले सञ्चालन गरेको कार्यक्रममा नगरप्रमुख श्रेष्ठले तीन गाविस एकीकृत भइ बनेको हालको बृहद् भद्रपुर नगरपालिकालाई तत्काल बारुणयन्त्र आवश्यक रहेकाले सहयोगका लागि राजदूतसँग आग्रह गरे ।

नगरपालिकाको तर्फबाट दमकलका लागि एउटा आग्रहपत्र पनि राजदूत सिंहलाई दिइएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए ।

राजदूत सिंहले नगरपालिकाले गरेको स्वागतप्रति खुशी व्यक्त गर्दै वारुणयन्त्र सहयोगका लागि आफूले पहल गर्ने बताए । उनले सीमावर्ती नेपाली क्षेत्रमा दूतावसले भौतिक निर्माण तथा समाज विकासका कार्यमा सहयोग पु¥याउँदै आएको र त्यस्तो सहयोग निरन्तर रहने उल्लेख गरे ।

राजदूत सिंहले भद्रपुरमा निर्माण भइरहेको मेची पूलको अवलोकन गर्नुका साथै पूलले जोड्ने भारतीय गलगलिया बजार र पूलदेखि त्यहाँसम्म पुग्ने बाटो, नेपाल भारतको आयात निर्यातका विभिन्न विषयमा एसएसबी क्याम्प गलगलीयामा समेत जानकारी लिएका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )