झापाली पत्रकारलाई युएईमा अवार्ड

युएई ।  नेपाल पत्रकार महसंघ युएई शाखाले बर्से्नि प्रदान गर्दै आएको उत्कृष्ट पत्राचार अवार्ड यस वर्ष रामप्रसाद ढंगेललाई प्रदान गरेको छ ।

महासंघको दशौं वार्षिकोत्सवको अवसरमा पुस २८ शुक्रबार दुबईमा आयोजित एक कार्यक्रममा एफएनजे युएई अवार्ड घोषणा गरिएको हो ।

युएईको नेपाली पत्रकारिता क्षेत्रमा क्रियाशील एक पत्रकारको कदर स्वरुप बर्से्नि प्रदान गरिँदै आएको एफएनजे युएई अवार्ड पाउन सफल पत्रकार ढुंलेल अनलाइनखबरमा आबद्ध छन् ।

झापा स्थायी घर भएका ढुंगेल अनलाईनखबरमा विगत २ वर्षदेखि आबद्ध भएर समाचार संकलन गरिरहेका छन् । स्नातक तह अध्ययन गरेका ढुंगेल १४ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।

समाचार संकलन, लेखन, सम्पादन, प्रकाशन र प्रशारणमा मात्र होइन, युएईको सामाजिक जीवनमा प्रत्यक्ष योगदान गरिरहेका ढुंगेल सकारात्मक समाचार संकलनमा जोड दिन्छन् ।

प्रवासी पत्रकारिता गर्दा धेरै विषयमा गम्भीर बन्नुपर्छ भन्ने धारणा राख्ने ढुंगेल तीन वर्षअघि समाचारकै कारण स्थानीय प्रशासनले पासपोर्ट नियन्त्रणमा लिएपछि ५ महिनासम्म मुद्दा खेपेका थिए ।

स्थानीय अदालतले निर्दोष सावित गरेका कारण हाल ढुंगेल रोजगारीसँगै सामाजिक पत्रकारितामा क्रियाशील छन् । झापाली समाज युएईका परिकल्पनाकार ढुंगेल सोही समाजको प्रवक्ताका रुपमा रहेर सामाजिक गतिविधिमा पनि सक्रिय छन् ।

समाचारको विषयवस्तु चयन अब्बल ढुंगेल समाचारमा शुद्धता, सरलता र प्रस्टताका लागि युएईमा परिचित क्रियाशील सञ्चारकर्मी हुन् । उत्कृष्ठ पत्रकार अवार्डको रुपमा मानिएको यस एफएनजे युएई अवार्डको छनौटका लागि महासंघका अध्यक्ष बस्याल र सचिव मेघराज सापकोटालाई महासंघको बैठकले जिम्मेवारी प्रदान गरेको थियो ।

दशौं वार्षिकोत्सवको अवसरमा महासंघ युएईका संस्थापक सदस्यद्वय निमेश गिरी र नारायण अधिकारीलाई सम्मान गरिएको छ । त्यसरी नै नवप्रतिभा सम्मान पत्रकार सुसान आचार्यलाई प्रदान गरिएको महासंघ शाखा युएईका उपाध्क्ष लक्ष्मण खनालले जानकारी दिएका छन् ।
आधारभुत तथा खोज पत्रकारिता तालिम सम्मन्न

यसैबीच, नेपाल पत्रकार महासंघ, युएई शाखाको दशौं वार्षिकोत्सवको अवसरमा जनवरी १२ तारिख शुक्रबार दुबईमा आयोजित आधारभूत तथा खोज पत्रकारिता तालिममा ४० जनाले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रशिक्षकका रुपमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकार केन्द्रका सम्पादक शिव गाउँले नेपालबाट युएई आएका थिए ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सन् २००७ मा शाखाको उद्घाटन गर्न आएका खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले १० वर्षपछि दोहोर्याएर युएई आएका हुन् ।

गाउँलेले युएईमा क्रियाशील सञ्चारकर्मी तथा सिकारु पत्रकारहरुलाई आधारभूत तथा खोज पत्रकारिता, सामाजिक उत्तरदायित्वपूर्ण पत्रकारिता सम्बन्धी तालिम प्रदान गरेका थिए ।

यस प्रकृतिको तालिमले समाचार लेखनमा सुधार हुने र पत्रकारहरुको क्षमता अभिवृद्धि हुने नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भूपराज बस्यालले प्रतिक्रिया दिएका छन् ।

नेपाली पत्रकारितामा २० वर्षभन्दा लामो अनुभव संगालेका पत्रकार गाउँलेले कानुनको समेत औपचारिक अध्ययन गरेका छन् ।

महासंघ युएई शाखाका उपाध्यक्ष लक्ष्मण खनालले उक्त तालिमको संयोजन गरेका थिए । प्रशिक्षणमा सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रशिक्षण कार्यक्रममा सहभागीहरुले तालिमबाट पत्रकारिता गर्न आवश्यक धेरै विषयमा ज्ञान हासिल गरेको प्रतिक्रिया दिएका छन् ।

प्रशिक्षार्थीहरुको तर्फबाट बोल्दै सामाजिक अभियन्ता राजु खड्काले पत्रकारिताको विषयमा अहिलेसम्मकै प्रभावकारी तालिममा भाग लिन पाएकोमा महासंघ युएई शाखालाई धन्यवाद प्रकट गरेका छन् ।

नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएन युएई, नेपाली समाज युएई लगायत विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा आमन्त्रित थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )