झापा जिल्ला फुटबल संघमा ‘मामा’को नेतृत्व

झापा ।  झापा जिल्ला फुटबल संघको अध्यक्षमा बरिष्ठ फुटबल प्रशिक्षक भगिरथ आले ‘मामा’ सर्वसम्मत चुनिएका छन् ।

शनिबार धुलाबारीमा सम्पन्न वार्षिक साधारणसभा तथा अधिवेशनबाट मामा दोस्रो पटक संघको अध्यक्षमा चुनिएका हुन् ।

मामा फुटबल संघको संस्थापक अध्यक्ष हुन् । २०५२ सालमा फुटबल संघ गठन हुँदा मामाको नेतृत्वमा कार्यसमिति चयन भएको थियो ।

यसअघि मामा संघको बरिष्ठ उपाध्यक्ष थिए । निवर्तमान अध्यक्ष जलकुमार गुरुङ सदस्यमा रहेका छन् भने भेलाले नै महासचिवमा शेरबहादुर बस्नेत र नरेन्द्रमणि लिम्बूलाई कोषाध्यक्षमा मनोनित गरेको छ ।

त्यस्तै अन्य सदस्यमा एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङ, कर्णबहादुर थापामगर, प्रदीप राई, अमिरकुमार श्रेष्ठ, टिकाराम प्रसाई, पूर्णमाया लिम्बू, केदार चौधरी र बुद्धराज लिम्बूलाई अधिवेशनले सर्वसम्मत चयन गरेको छ ।

जलकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा फुटबलप्रेमी तथा उद्योगी होम पाण्डेले प्रमुख अतिथिको मन्तव्य राख्दै मनमुटाव छाडेर सिंगो फुटबलको विकासमा लाग्न अनुरोध गरेका थिए ।

उनले फुटबलकै कारण झापा जिल्लाको शीर उँचो भएको भन्दै गर्व गर्नका लागि फुटबलको विकास अनिवार्य भएको बताए ।

त्यस्तै, झापा ११ गोल्डकपका संयोजक महेन्द्र गिरीले फुटबलप्रति क्रेज बढ्दै गएकाले पनि यसको विकासले खेल र खेलाडीको भविष्य सुनिश्चित गर्न फुटबलको विकासमा समर्पित हुन आग्रह गरे ।

कार्यक्रममा एन्फाका केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङ, बसन्त बानियाँ, पूर्व नेपाली फुटबलका राष्ट्रिय कप्तान हरि खड्का लगायतले बोलेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )