डा. केसीबारे किन बोलेनन् गिरिराजमणि ?

झापा ।  माओवादी केन्द्रका नेता एवम् पूर्व मन्त्री गिरिराजमणि पोखरेल डा. गोविन्द केसीबारे बोल्न डराएका छन् । आइतबार झापा पुगेका नेता पोखरेलसँग पत्रकारले पटकपटक डा. केसीको आन्दोलन र अनशनबारे धारणा बुझ्न खोेज्दा उनले जवाफ नदिएका हुन् ।

नेता पोखरेलले आइतबार बिर्तामोडको बी एण्ड सी टिचिङ हस्पिटलको अवलोकन गरेका थिए । अवलोकनलगत्तै बी एण्ड सी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरे ।

सो क्रममा नेता पोेखरेलले झण्डै आधा घण्टा शिक्षा र स्वास्थ्यका बारेमा आफ्ना धारणा राखेका थिए ।

सो क्रममा उनले आफू शिक्षा मन्त्री र स्वास्थ्य मन्त्री हुँँदा पनि चाहेअनुरुपको काम गर्न नसकेको बताए । त्यतिबेला मुलुकमा संक्रमणकाल भएकाले चाहेका काम गर्न नसकिएको उनको भनाइ थियो ।

अब नयाँ जनादेश प्राप्त भएकाले मुलुक नयाँ ढंगले अगाडि बढ्ने उनले बताए । मुलुकका कतिपय अस्पतालहरु अझै अस्पतालजस्ता नभएको उनले टिप्पणी गरे । ती अस्पताललाई सुधार गर्दै लैजानुपर्ने उनको भनाइ थियो । उनी सोमबार मेची अञ्चल अस्पतालको अवलोकन गर्दैछन् ।

पत्रकार सम्मेलनमै उनले बी एण्ड सीका कार्यकारी निर्देशक प्रसाईंलाई डा. केसीविरुद्ध नबोल्न पनि आग्रह गरे । डा. केसीका कतिपय मुद्दालाई सम्मान गर्नुपर्ने उनको भनाइ थियो । केसीको आन्दोलनले बी एण्ड सी हस्पिटलको सम्बन्धन नरोकिने उनले बताए ।

डा. केसीले अब एमाले अध्यक्ष केपी ओलीविरुद्ध आन्दोेलन गर्ने अभिव्यक्ति दिएको विषयमा पत्रकारले नेता पोखरेलको धारण लिने प्रयास गरेका थिए । उनले त्यसको पनि जवाफ दिएनन् । ‘केपी ओली प्रधानमन्त्री हुँदा डा. केसी र प्रधानमन्त्रीबीच भेट मैले नै गराएको थिएँ,’ उनले यति मात्र भने ।

उनले आफू शिक्षा र स्वास्थ्यलाई मजबुत बनाउन लागिपरेको बताए । मेहनत गर्दा पनि विधेयक पास गर्न नसकेको तर, अझै नहारेको उनको भनाइ थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )