तत्कालीन गरामनी गाविसबाट यसरी ठगिए युवा

झापा ।  तत्कालीन गरामनी गाउँ विकास समितिको कार्यालयले आफुहरुलाई झुक्याएको भन्दै स्थानीय युवाले गुनासो गरेका छन् ।

झण्डै डेढ वर्षअघि गाविसले कम्प्युटर अपरेटर पदका लागि आवेदन खुलाए पनि सो परीक्षा नगराई आवेदन नै नदिएका व्यक्तिलाई नियुक्ति गरेर आफूहरुलाई गाविसले झुक्याएको उनीहरुको दुखेसो छ ।

तत्कालीन गाविसले ०७३ बैशाखमा कम्प्युटर अपरेटर पदका लागि विज्ञापन खुलाएपछि १५ जना युवाले तोकिएको दस्तुरसहित आवेदन दिएका थिए ।

तर, गाविसले आवेदनमाथि कुनै प्रक्रिया अघि नबढाइ आवेदन नै नदिएका व्यक्तिलाई सो पदमा नियुक्त गरेको युवाको आरोप छ ।

गाविसले ०७३ बैशाख २४ गते सेवा करारमा खरिदार पदका लागि एक जना कर्मचारी माग गरेको थियो ।

तोकिएको समय ०७३ जेठ ७ गते भित्रमा जम्मा १५ जनाले आवश्यक कागजात र ३ सय रुपैयाँ दस्तुरसहित आवेदन बुझाएका थिए ।

तर, तोकिएको मितिमा परीक्षा गराउँदा परीक्षार्थीलाई अध्ययनको समय नपुग्ने भन्दै परीक्षाको मिति सारिएको थियो ।

जेठ ८ गतेबाट सारेर जेठ १५ गते परीक्षा गराउने भनिए पनि गाविसले त्यो परीक्षा नगराएको आवेदक विकास दर्जी सिवाले बताए ।

परीक्षाको मिति आउन ३ दिन बाँकी रहँदा गाविसका सचिव लोकराज बरालले परीक्षा गराउने जिम्मा लोकसेवा आयोगलाई दिइएको भन्दै सूचना टाँस गरेका थिए ।

सूचनामा परीक्षाको विभिन्न चरणमा समस्या देखिएकाले निश्पक्ष बनाउन लोकसेवालाई जिम्मा लगाइएको उल्लेख गरिएको थियो ।

सिवाले भने, ‘गाविस परीक्षा नगराउने नियतमा थियो, त्यसै कारण बारम्बार परीक्षाको मिति सारियो र दायित्वबाट पन्छिन परीक्षा गराउने जिम्मा लोकसेवा आयोगलाई दिइएको नौटंकी गरियो ।’

तत्कालीन गाविसका सचिब बरालले परीक्षाको प्रक्रिया चल्दाचल्दै स्थानीय तहको निर्वाचन भएको र अब कर्मचारीको पदपूर्ति गर्ने जिम्मा नगरपालिकाको भएकाले पूरानो प्रक्रिया स्थगित भएको बताए ।

अहिले गाविसको कार्यालयमा बिर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त वडा कार्यालय बसेको छ ।

केही समय अघिसम्म कार्यालयमा रमेश खुलाल नाम गरेका व्यक्ति कम्प्युटर अपरेटरमा काम गरिरहेका थिए ।

कर्मचारी अभाव देखेर नगरपालिकाले नै कर्मचारी पठाएको बरालले बताएका थिए ।

त्यतिबेला आवेदकबाट लिइएको दस्तुरसमेत आम्दानीमा बाँधिएको उनले दाबी गरेका छन् ।

तत्काल परीक्षा गराउनका लागि बनाइएको समितिका अध्यक्ष भीष्म न्यौपानेले स्थानीय तह बनेपछि त्यो समिति स्वत निस्कृय भएकाले आफूलाई त्यो विषयमा केही थाहा नभएको बताए ।

उनले भने, ‘राजनीतिक दबाबका कारण परीक्षा गराउन सकिएन, अब परीक्षार्थीबाट लिइएको शुल्क सम्बन्धित कार्यालयले फिर्ता गर्नुपर्छ ।’

वडा नम्बर ९ कि वडाअध्यक्ष पवित्रा पाठकले त्यो परीक्षाका विषयमा आफुलाई थाहा नभएको बताइन् ।

उनले भनिन्, ‘तत्कालीन गाविसले के गरेको थियो हामीलाई थाहा छैन, अब कर्मचारी आवश्यक परे हामी नै आह्वान गर्छौँ ।’

आबेदक सन्तोस बरालले त्यो बेला आबेदन दिएका व्यक्तिलाई परीक्षामा सामेल गराउनुपर्ने माग गरेका छन् ।

परीक्षा गराउन नसके आफूहरुबाट लिएको आवेदन शुल्क फिर्ता गर्नुपर्ने उनको माग छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )