चुरेमा बालुवा तस्करको नजर

मोरङ ।  मोरङका खोलानालाबाट अवैध रूपमा ढुंगा, बालुवा तस्करीमा प्रयोग भएका ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले लेटाङ नगरपालिका सुकेचौरीस्थित चिसाङ खोलाबाट बुधबार सातवटा ट्र्याक्टर नियन्त्रणमा लिएको हो ।

लेटाङ इलाका प्रहरीका प्रहरी निरीक्षक खगेन्द्र खड्काले ट्र्याक्टर नियन्त्रणमा लिई अनुसन्धान थालेको जानकारी दिए ।

चुरे क्षेत्रबाट बालुवा र ढुंगा तस्करी रोक्न इलाका प्रहरी कार्यालय बेलबारी, पथरी, उर्लाबारी, लेटाङ र केराबारीबाट प्रहरी छुट्टाछुट्टै टोली परिचालित छन् ।

गछिया, खदम, बक्राहा, चिसाङ, बुढी, डाँस, मावा, नुनसरी, लोहन्द्राबाट ढुंगा, बालुवा चोरी तस्करी हुने गरेको प्रहरी दाबी छ ।

तस्करी रोक्ने मुख्य जिम्मेवारी दिएर प्रहरीको अलग–अलग टोली परिचालन गरेको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले जानकारी दिए । भने, ‘मुख्य चार–पाँचवटा खोलामा तस्करी भइरहेको पाइएकाले प्रहरीले आफ्नो घेरामा राखेर अवैध ओसारपसार रोक्ने प्रयास सुरु गरेको हो ।’

जिल्लाका खोलानाला गत असोजमै ठेक्का लागिसकेका छन् ।

आवधिक क्षेत्रका खोला ठेक्का लागे पनि चुरे र वन क्षेत्रका ठेक्का लाग्दैनन् ।

राष्ट्रिय महत्तवका आयोजनामा अत्यावश्यक परे वातावरणलाई प्रतिकूल नहुने गरी प्राविधिकको निगरानीमा उपयोग गर्नेबाहेक चुरे क्षेत्रको ढुंगा र बालुवा ओसारपसार र उत्खनन् गर्न पाइँदैन ।

‘ठेक्का लागेभन्दा नलागेको ठाउँमा बढी ढुंगा पाइने भएकाले तस्करको ध्यान त्यतै हुन्छ’, बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले भने, ‘ठेक्का लागेका खोलाबाट सहज रूपमा बालुवा पनि पाइँदैन ।

त्यही भएर तस्करको नजर चुरे र वन क्षेत्रका खोलानालातर्फ तेर्सिन्छन् ।’

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )