आइतबार ‘झापा स्पोर्ट्स अवार्ड’

बिर्तामोड ।  दिवंगत फुटबल खेलाडी आशिषविक्रम नेम्वाङको स्मृतिमा नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले आइतबार पूर्वमै पहिलो पटक झापा स्पोटर््स अवार्ड वितरण कार्यक्रम गर्दैछ ।

मञ्चले शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

अवार्डका लागि १२ खेलाडी र ३ वटा क्लब मनोनयनमा परेका छन् । चारवटा विधा प्रत्येकमा तीन जनाका दरले र तीनवटा टीमको मनोनयन गरिएको मञ्चका अध्यक्ष रमेश समदर्शी राईले बताए ।

वर्ष उत्कृष्ट पुरुष खेलाडीको सूचीमा फुटबल खेलाडी विशाल राई (बी) र योगेश गुरुङ तथा बुद्धिचालका भूपेन्द्र निरौलालाई मनोनयन गरिएको मञ्चका सचिब पर्वत पोर्तेलले बताए ।

वर्ष उत्कृष्ट महिला खेलाडीका लागि क्रिकेटका रुविना क्षेत्री, करातेका एस्तर राई र बक्सिङका सुलप मगर मनोनयनमा परेको जनाइएको छ ।

यस्तै युवा वर्ष खेलाडीका लागि फुटबलका देवेन्द्र तामाङ र पूजन उपरकोटी तथा क्रिकेटका सवनम राईलाई मनोनयन गरिएको छ ।

झापा स्पोर्ट्स अवार्ड २०७३ प्रदान गरिने अर्को विधा वर्ष उत्कृष्ट प्रशिक्षकको रुपमा फुटबलका सञ्जय राई, क्रिकेटका मनोज कटुवाल र कराँतेकी सीता राई मनोनयनमा परेको जनाइएको छ ।

पिपुल्स च्वाइस अवार्डका लागि झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड एफसीको नाम मनोनयनमा परेको छ ।

स्पोर्ट्स अवार्डबाट विभिन्न विधाका ४ जना खेलाडीसहित एउटा टीम हरेकले नगद १५ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाउने छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )