कोटामा परेको एक सिटमा श्रीमती उम्मेदवार

विराटनगर ।  नेकपा माओवादी केन्द्रका १ नम्बर प्रदेश संयोजक सावित्रीकुमार काफ्लेले राष्ट्रियसभा निर्वाचनमा प्रदेशमा पार्टीको भागमा परेको कोटामा आफ्नै श्रीमतीलाई उम्मेदवार बनाएका छन् ।

राष्ट्रियसभामा आफैँ आकांक्षी रहेका काफ्लेले वाम गठबन्धनको भागबन्डामा प्रदेशमा माओवादीलाई महिला कोटा परेपछि श्रीमती विना पोखरेललाई उम्मेदवार बनाएका हुन् ।

जनयुद्धको समयमा काफ्लेसँगै केही समय भूमिगत भएकी विना पछिल्लो समयमा राजनीतिमा सक्रिय भने छैनन् ।

राष्ट्रियसभामा माओवादीबाट बेपत्ता योद्धाहरु वीरेन्द्र बस्नेत र धीरेन्द्र बस्नेतकी आमा एवं पार्टीका सल्लाहकार झापा दमककी चन्द्रकुमारी बस्नेतलगायतको दाबी थियो ।

पार्टीका अधिकांश नेताहरुले बस्नेतलाई उम्मेदवार बनाउनुपर्ने सुझाब दिए पनि काफ्लेले आफ्नै श्रीमतीलाई उम्मेदवार बनाएका हुन् ।

पहिलो संविधानसभामा मोरङको क्षेत्र नम्बर ३ बाट विजयी भएका काफ्लेले दोस्रो संविधानसभामा निर्वाचनमा वैद्य माओवादीमा लागेर बहिष्कार गरेका थिए ।

गएको प्रतिनिधिसभा निर्वाचानमा मोरङको क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्न प्रयास गरे पनि एमालेले क्षेत्र नम्बर ३ नछाडी ४ माओवादीलाई छाडेको थियो ।

सो क्षेत्रबाट उम्मेदवार बन्न नेता तथा कार्यकर्ताहरुले सुझाब दिए पनि काफ्लेले चुनाव हार्ने डरले उम्मेदवार बनेनन् । चुनाव हार्ने डरले काफ्ले पछि हटेको सोही क्षेत्रबाट माओवादीका युवा नेता अमनलाल मोदीले मोरङमै सबैभन्दा बढी मतान्तरले चुनाव जिते ।

उनै काफ्लेसहितका माओवादीका जिल्ला तहका केही नेताहरुले प्रदेशसभाको टिकट मागेका मोदीलाई टिकट नदिएर चुनाव हार्ने ठानिएको क्षेत्रमा उम्मेदवार बनाएका थिए ।

प्रदेशको नेतृत्वमा रहेर आफ्नै श्रीमतीलाई उम्मेदवार बनाएको भन्दै काफ्लेको माओवादी कार्यकर्ताहरुले चौतर्फी आलोचना गरिरहेका छन् । माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमा उनीविरुद्ध आक्रोश पोखिरहेका छन् ।

वाम गठबन्धनका तर्फबाट माओवादीका भागका परेका राष्ट्रियसभाका १४ मध्ये पोखरेलेसहित १३ जनाको नाम माओवादीले मंगलबार बिहान तय गरेको हो । प्रदेश २ मा एकजनाको नाम टुंगो लगाउन बाँकी छ ।

मधेसी दलहरुसँगको तालमेल हुने गरी वार्ता चलिरहेकाले एक सिटको भनेपछि टुंगो लगाइने बताइएको छ। माओवादीका तर्फबाट प्रदेश १ मा एक जना र प्रदेश ६ मा तीन जना उम्मेदवार हुनेछन् ।

बाँकी ५ वटा प्रदेशमा दुई÷दुई जना उम्मेदवार हुनेछन्। प्रदेश १ मा बीना पोखरेल (महिला), प्रदेश २ मा शशिलकला दाहाल (महिला), प्रदेश ३ मा रामबहादुर थापा (खुला) र गंगा पराजुली (महिला), प्रदेश ४ मा दीनानाथ शर्मा (खुल्ला) र खीमबहादुर विक (दलित), प्रदेश ५ मा राजमकुमार कुँवर (अल्पसंख्यक/अपाङ्ग) र चन्द्रबहादुर खड्का (खुल्ला), प्रदेश ६ मा जीवन बुढा (अल्पसंख्यक/अपाङ), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुल्ला) तथा प्रदेश ७ बाट लालिराम लोहार (दलित) र हरिराम चौधरी (खुल्ला) माओवादीका उम्मेदवार हुनेछन्।

राष्ट्रियसभा निर्वाचनको लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ भने निर्वाचन २४ माघमा हुनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )