झापाका विद्यार्थीलाई पल्मोनरी हाइपर्टेन्सनसम्बन्धी अभिमूखीकरण

बिर्तामोड । मोरङको उर्लाबारीमा केन्द्रीय कार्यालय रहेको पल्मोनरी हाइपर्टेन्सन एसोसिएसन नेपालले आइतबार बिर्तामोडमा अभिमूखीकरण तथा चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

मारवाडी युवा मञ्च बिर्तामोडको संयोजनमा एसोसिएसनले झापाका विभिन्न विद्यालयका विद्यार्थीलाई कार्यक्रममा सहभागी गराएर सचेतना प्रदान गरेको हो ।

अग्रसेन भवनमा आयोजित कार्यक्रममा मेची प्राविधिक प्रतिष्ठान, कन्चनजंघा इन्स्टिच्युट अफ हेल्थ साइन्स, मदन भण्डारी मेमोरियल एकाडेमी, एमिटी एजुकेशन, न्यूटन्स एजुकेशन, बालमिकी एजुकेशन, देवी मावि, कन्काई एजुकेशन र लिटल फ्लावर्स गरी ९ वटा विद्यालयका दुई सयभन्दा बढी विद्यार्थीको सहभागिता थियो ।

उनीहरुलाई अमेरिकाबाट डा. चुडामणि खनालले अनलाइनमार्फत् प्रत्यक्ष रुपमा सचेतना प्रदान गरेका थिए । त्यस्तै डा. सीपी यादवले मुटु तथा फोक्सोका बारेमा सचेतना प्रदान गरेको कार्यक्रममा भारतको सिलिगुडीका डाक्टर अरुणदाती दास गुप्ताले थाइराइड र मधुमेह तथा जयदिप दे ले न्यूरो र मृगिसम्बन्धी सचेतना प्रदान गरेका थिए ।

कार्यक्रममा पल्मोनरी हाइपर्टेन्सन, यसका लक्षण, जोखिम तथा उपचारबारे सचेतना प्रदान गरिएको लायन्स क्लब अफ बिर्तामोडका उपाध्यक्ष गौरीशंकर गुप्ताले जानकारी दिए ।

सम्झना खनालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत विनोद पोखरेलले गरेका थिए । कार्यक्रमको सञ्चालन उर्मिला दाहालले गरेकी थिइन् । कार्यक्रमको सम्पूर्ण व्यवस्थापन संस्थाकी महासचिब निलम अग्रवालले गरेकी थिइन् ।

के हो पल्मोनरी हाइपर्टेन्सन् ?
फोक्सोमा उच्च रक्तचाप हुने अवस्थालाई पल्मोनरी हाइपर्टेन्सन वा पल्मोनरी आर्टेरीय हाइपर्टेन्सन भनिन्छ । यो प्राणघातक दीर्घरोग हो । समयमा यसको उपचार नभएमा मुटुले काम नगर्ने अवस्था आउन सक्छ ।

लक्षणहरु :
– सास फेर्न कठिन हुने

– छाती दुख्ने

– चक्कर लाग्ने (रिँगटा लाग्ने)

– बेहोस हुने (मुर्छा पर्ने)

– कमजोरी

– पेट, हात पाखुरा, खुट्टा, गोलीगाँठा सुन्निने

– सुख्खा खोकी लाग्ने

– औँलाहरु सेतो वा निलो देखिने र दुख्ने

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )