अब आइपीएलमा देखिनेछन् सन्दिप
झापा । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट प्रतियोगिताका लागि भएको खेलाडी अक्सन (बोलकबोल) मा पहिलोपटक नेपाली खेलाडी सन्दिप लामिछानेलाई दिल्ली डेयर डेभिल्सले भारू २० लाखमा खरिद गरेको छ ।
५ सय ७८ जनाको अक्सन सूचीमा रहेका सन्दिप २ सय ७८ नम्बरमा थिए । अक्सन सूचीमा ७० जना क्याप्ड खेलाडी थिए भने बाँकी अनक्याप्ड हुन् ।
सन्दिप अनक्याप्ड क्याटागोरीमा थिए । आइपिएलको नयाँ नियमअनुसार अनक्याप्ड खेलाडीको रूपमा लामिछानेको मूल्य कम्तिमा २० लाख भारू (३२ लाख रुपैयाँ) थियो ।
सन्दिपलाई आफ्नो क्लबबाट खेलाउन पाउँदा निकै खुसी लागेको पनि दिल्ली डेयर डेभिल्सले बताएको छ । उसले ट्वीटमा लेखेको छ, ‘१७ वर्षीय लेग स्पिनर सन्दिपलाई स्वागत गर्न पाउँदा हामीलाई धेरै खुशी लागेको छ ।’
आइपिएलका ८ टिमले आफ्नो टिममा बढीमा २५ र कम्तीमा १८ खेलाडी राख्नुपर्नेछ । जसमा बढीमा ८ जना विदेशी खेलाडी एक टिममा हुन सक्नेछन् ।
यसअघि सन्दिप पाकिस्तान सुपर लिग (पिएसएल) र बंगलादेशको घरेलु लिगको ड्राफ्टमा परे पनि अक्सनबाट टिममा छनोट हुन असफल भएका थिए ।
पहिलो चरणमा घोषणा गरिएका ११ सय खेलाडीको सूचीमा भने सन्दिप थिएनन् । तर, सन्दिप लगायत ९ खेलाडीलाई फ्रेन्चाइज टिमको विशेष आग्रहमा राखिएको थियो ।
अस्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कले पनि यसअघि प्रशंसा गरेका थिए । ‘सन्दिप ठूलो सम्भावना भएका खेलाडी हुन् । खेलप्रति उनको लगाव एकदमै धेरै छ,’ क्लार्कले भनेका थिए ।