कुन कुन प्रदेशमा को को मुख्यमन्त्री ?

प्रदेश नम्बर ४ बाहेकका प्रदेशमा मुख्यमन्त्री तयार भएका छन ।

संघीयतापछि भएको पहिलो प्रदेशसभा चुनावपछि देशले सात मुख्यमन्त्री पाउँदैछ ।

शुक्रवारसम्म ७ मध्ये ६ प्रदेशमा को मुख्यमन्त्री हुने भन्ने तय भएको छ भने एउटा प्रदेशमा आइतवार यसको टुंगो लागेपछि सबै प्रदेशमा मुख्यमन्त्री तयार हुनेछ ।

बामगठबन्धनको सहमति अनुसार एमालेले चार र माओवादीले २ वटा प्रदेशमा मुख्यमन्त्री पाईसकेका छन ।

प्रदेश नम्वर २ मा चाहिँ राष्ट्रिय जनता पार्टीको समर्थनमा संघीय समाजवादी फोरम, नेपालले मुख्यमन्त्री पाउँदैछ ।

शुक्रवारसम्म एमालेका ३, माओवादीका दुई र मधेशवादी दलका एक नेता मुख्यमन्त्रीका लागि दलको नेता चयन भैसकेका छन् ।

कुन कुन प्रदेशमा को को ?

प्रदेश नम्वर १ मा  : एमालेका पोलिटव्यूरो सदस्य एवम पूर्वसंचारमन्त्री शेरधन राई मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

शुक्रवार भएको प्रदेशसभा संसदीय दलको चुनावमा राईले एमालेका सचिव समेत रहेका भीम आर्चायलाई २ मतले पराजित गरेपछि मुख्यमन्त्री बन्ने बाटो खुलेको हो । राई भोजपुर जिल्लाको ‘ख’ बाट निर्वा्चित भएका थिए । यसअघि उनी सञ्चारमन्त्री समेत भईसकेका छन ।
प्रदेश नम्बर २ मा : संघीय समाजबादी फोरम, नेपालका लालबाबु राउत मुख्यमन्त्री बन्ने पक्का भएको छ । फोरम र राजपा नेपाल मिलेर प्रदेश सरकार गठन गर्ने तयारी गरेका छन् ।

मन्त्रालयलगायतका बाँडफाँडमा भने फोरम नेपाल र राजपावीच सहमति बनेको छैन् । राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष छन् । उनी पर्साबाट प्रदेशसभामा निर्वाचित भएका थिए ।

प्रदेश ३ मा : डोरमणि पौडेल संसदीय दलको नेता बनेपछि उनी मुख्यमन्त्री बन्ने पक्का छ । शुक्रबार ललितपुरमा भएको निर्वाचनमा पौडेल ५८ मतमध्ये ३४ मत प्राप्त गरी संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

अष्टलक्ष्मी शाक्यले २४ मत प्राप्त गरेपछि उनको लागी पनि बाटो खुलेको हो ।

प्रदेश ४ मा भिडन्त रोचक : यो प्रदेशको मुख्यमन्त्री को बन्ने भन्ने कुरा आइतवारमात्रै टुंगो लाग्नेछ ।

मुख्यमन्त्री बन्ने दौडमा एमालेबाट पार्टी प्रदेश ४ का संयोजक किरण गुरुङ र केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङ खुलेरै लागेका छन् । किरण तनहुँ क्षेत्र नम्बर २ (ख) बाट र पृथ्वी लमजुङ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

यहाँको भिडन्त रोचक बन्ने निश्चित छ ।

प्रदेश ५ मा :  एमालेका शंकर पोखरेल मुख्यमन्त्री बन्ने पक्का भैसकेको छ ।

एमालेले प्रदेश ५ बाट पोखरेललाई यसअघि नै संसदीय दलको नेता चयन गरिसेकको छ । प्रदेशसभाको पहिलो बैठक बसेको भोलिपल्ट पोखरेल सर्वसम्मत संसदीय दलको नेता चयन भएका थिए ।

उनलाई गत निर्वाचनमै बाम गठबन्धनले भावी मुख्यमन्त्रीका रुपमा उभ्याएको थियो । दाङ निर्वाचन क्षेत्र नम्बर २ को १ क बाट निर्वाचित भएका पोखरेल यो प्रदेशमा एक्ला मुख्यमन्त्रीका दावेदार थिए ।

प्रदेश ६ मा : माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुने निश्चित भएको छ । पार्टी प्रदेश नम्बर ६ को संसदीय दलका नेतामा महेन्द्रबहादुर शाही (कालीकोट) विहिवार चयन भएका थिए । संसदीय दलको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । यहाँ जुम्लाका सांसद नरेश भण्डारी पनि मुख्यमन्त्रीका दावेदार थिए ।

प्रदेश ७ मा : माओवादीले मुख्यमन्त्रीका लागि त्रिलोचन भटट्लाई अगाडि सारेका छ । उनी माओवादी प्रदेश संसदीय दलको नेतामा चयन भैसकेका छन् । उनी डोटीबाट निर्वाचित सांसद हुन् ।

७ नम्वर प्रदेशमा बीरमान चौधरी र झपट बोहोरा पनि मुख्यमन्त्रीका आकांक्षी थिए ।

निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गरेको ३० दिनभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने व्यवस्था छ । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेता सम्बन्धित प्रदेशको मुख्यमन्त्री बन्ने व्यवस्था छ ।

निर्वाचन आयोगले प्रदेशतर्फको अन्तिम नतिजा माघ ५ गते सार्वजनिक गरेको थियो ।

प्रदेशसभाले मुख्यमन्त्री चयन गरेपछि मुख्यमन्त्रीले नै मन्त्रीपरिषद गठन गर्ने व्यवस्था छ । यो सँगै आईतबार बाट सात वटै प्रदेशले मुख्यमन्त्री पाउने निश्चित भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )