भारततर्फ भन्सार नहुँदा पशुपतिनगरमा बढ्यो अवैध कारोवार

इलाम । भारततर्फ भन्सार कार्यालय नहुँदा इलामको पशुपतिनगर नाकाबाट अवैध रूपमा सामान निकासी तथा पैठारी बढेको छ ।

नेपालतर्फ वि. सं. २०१३ बाट भन्सार कार्यालय स्थापना भएर संचालनमा रहे पनि भारततर्फ भने केही वर्षअघिसम्म सुकिया पोखरीमा ल्यान्ड कस्टम कार्यालय थियो ।

तर, सशस्त्र द्वन्द्वको समयमा सुकिया भन्सारले कारोवार गर्न छाडेपछि नेपालतर्फका उत्पादन वैधानिक रूपमा भारततर्फ निकासी हुन सकेका छैनन् ।

खुला सिमाना भएका कारण पनि यहाँ दैनिक उपभोग्य वस्तु, कस्मेटिक र अवैध मदिराको निकासी तथा पैठारी बढेको छ ।

पशुपतिनगर नाकाबाट नुन, तेल, चिनी, चामल, अवैध मदिरालगायतका वस्तुहरू नेपाल आयात हुन्छन् भने चाउचाउ, चुरोट, कस्मेटिक सामान नेपालबाट भारततर्फ निर्यात हुने गरेको छ ।

भन्सार छलेरै यस्ता वस्तु आयात तथा निर्यात भइरहेको छ ।

२०३६ सालमा स्थापना भएको बजार स्थानीयले सुकेको बताउँदै आएका छन् ।

सशस्त्र द्वन्द्वअघिसम्म भारततर्फ सुकियामा भन्सार कार्यालय संचालन हुँदा उक्त नाका हुँदै पूर्वी पहाडी जिल्लामा उत्पादित अदुवा, अलैँची, अम्लिसोलगायतका कृषिजन्य सामग्रीको निर्यात हुने गरेको थियो ।

तर त्यसपछि भारतीय पक्षले भन्सारको कारोवार बन्द गर्दा नेपालका उत्पादन वैधानिक रूपमा भारततर्फ निकासी हुन नसकेपछि बजारको चहलपहल पनि घट्दै गएको एकीकृत सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताए ।

बन्द सटर अवैध सामान राख्नका लागि नेपाली र भारतीय व्यापारीहरूको राम्रै चहलपहल हुने यस बजारमा पहिलाको तुलनामा कारोवारसमेत घटेको छ ।

तर स्थानीयले भनेजस्तो बजार सुक्ने अवस्था भने नभएको स्थानीय बताउँछन् ।

बन्द भएका सटरहरू बजार सुनसान भएर होइन, अवैध रूपमा सामान निकासी पैठारीका लागि प्रयोग हुने गरेको एक स्थानीयले बताए ।

‘यी बन्द भएका सटर छन् नि, यी त सामान ल्याएर राख्ने ठाउँ हो’, उनले भने, ‘कति सटरहरूमा त भारत पठाउन राखिएका सामानहरू पनि छन् ।’ नेपालबाट निकासी हुने वस्तुहरू साना गाडीबाट भारत र नेपालको सीमावर्ती हिले भन्ने स्थानमा लगेर स्टोर गर्ने गरिएको छ ।

त्यस्तै, नेपाल आयात हुने वस्तुहरू पनि पशुपतिनगर बजारको तल्लो भेग र बौद्धधामसम्म स्टोर गर्ने गरिएको छ ।

खुला सीमा भएको र वारिपारिका स्थानीयको अर्मपर्म चल्ने भएकाले पनि केही सामान ल्याउने र लैजाने गरिन्छ । तर व्यावसायिक रूपमा नै तस्करी बढ्न थालेपछि भने स्थानीय निकै चिन्तित छन् ।

अहिले पनि पशुपतिनगरमा भारतीय चिनी र अवैध मदिरा खुलेआम बिक्री भइरहेको छ ।

भौतिक संरचना नहुँदा ८ मध्ये ३ छोटी भन्सार मात्र संचालनमा पशुपतिनगर भन्सार कार्यालयअन्तर्गत रहेका ८ वटा छोटी भन्सारमध्ये ३ वटा मात्र संचालनमा रहेका छन् ।

छोटी भन्सार संचालन नहुँदा अवैध रूपमा भारततर्फबाट निकासी भइरहेको हो । २०२१ सालमा पशुपतिनगर भन्सार कार्यालय मातहत इलाम र पाँचथरमा ८ वटा छोटी भन्सार संचालनमा रहेकामा सशस्त्र द्वन्द्वका बेलामा छोटी भन्सार कार्यालयमा क्षति पुगेपछि बन्द हुनपुगेका थिए ।

शान्ति प्रक्रियापछि हाल ३ वटा मात्र पुनः स्थापना भई संचालनमा रहेका छन् ।

मानेभञ्ज्याङ र छिरुवामा छोटी भन्सार कार्यालय तथा छबीसेमा छोटी नाका संचालनमा रहे पनि इलामको तुम्लिङ, बन्दुके र माइमझुवा तथा पाँचथरको मेमेङ र च्याङथापु छोटी भन्सार संचालनमा छैनन् ।

भौतिक संरचना नभएकाले सबै क्षेत्रमा छोटी भन्सार कार्यालय संचालन गर्न समस्या रहेको पशुपतिनगर भन्सार कार्यालयका नायव सुब्बा चेतनाथ खनालले बताए ।

संचालनमा रहेका छोटी भन्सारको समेत आफ्नो कार्यालय भवन नहुँदा भवन भाँडामा लिएर कार्यालय सहयोगीको भरमा संचालन रहेको खनालले बताए ।

सीमा क्षेत्रमा भारतीय ल्यान्ड कस्टम नरही कस्टम चेक प्वाइन्ट मात्र रहँदा मालवस्तुको निर्वाध निकासी पैठारीमा समस्या हुनुका साथै दरबन्दीअनुसारका कर्मचारी नपठाउँदा नियमित कार्य संचालनमा समस्या रहेको खनालले बताए ।

२०७२ बैशाख ६ गते कार्यालय प्रमुखका रूपमा आएका भन्सार अधिकृत प्रकाश पोखरेल २०७४ असोज २५ गते सरुवा भई वीरगन्ज कार्यालयमा गएका कारण भन्सार कार्यालय प्रमुखविहीन बनेको छ ।

भन्सार अधिकृत नहुँदा हाल नायव सुब्बा सुरेशराज थपलिया निमित्तको रूपमा काम गरिरहेका छन् ।

इलाका प्रहरी प्रमुख भन्छन् स् अवैध कारोवार भएको छैन यता, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख शिवकुमार बुढाथोकीले अवैध रूपमा यहाँबाट मालवस्तु निकासी र पैठारी हुने गरेको खण्डन गर्दै पशुपतिनगरबाट यस्तो अवैध कारोवार नभएको दाबी गरे ।

उनले भने, ‘तपाईंहरूसँग केही जानकारी छ भने दिनुहोस्, हामी कारवाही गर्छौं ।’

सीमा क्षेत्रमा हुने अवैध कारोवार रोक्न आफूहरू तयार रहेको बुढाथोकीको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )