प्रधानमन्त्री दाबी गर्दै केपी ओली आज शीतलनिवास जाने

काठमाडौं ।  प्रतिनिधिसभाको चुनावी नतिजालाई निर्वाचन आयोगले औपचारिकता दिन बाँकी छँदै वाम गठबन्धनका नेताहरुले शीतलनिवास जाने गृहकार्य थालेका छन् ।

आयोगले बुधबार राष्ट्रपतिलाई नतिजा बुझाउने सम्भावना देखेपछि एमाले र माओवादीका नेताहरु प्रधानमन्त्रीको दाबीका लागि तम्तयार भएका हुन् ।

आयोगका पदाधिकारीहरु शीतलनिवासबाट बाहिरिनासाथ वाम नेताहरुले प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्ने छन् ।

बुधबार पार्टी एकता संयोजन समितिको बैठक राखिएको छ ।

तर, यसवीचमै आयोगले नतिजा बुझाएमा नेताहरु बैठककै वीचमा शीतलनिवास जानेछन् ।

प्रधानमन्त्रीको दाबी प्रस्तुत गर्नेबारे मंगलबार ओली र प्रचण्डवीचको ‘वान टु वान’ वार्तामा छलफल भएको एमालेका एक नेताले बताए ।

निर्वाचन आयोगले समानुपातिक सांसदको नाम सच्याउन दलहरुलाई आजसम्मको समय दिएका छन् । नाम सच्याउन भनिएका तीन दलमध्ये माओवादी र राजपाले मंगलबार नै बुझाइसकेका छन् ।

अब कांग्रेसले मात्रै नामावली बुझाउन बाँकी छ ।

दलहरुले अन्तिम नामावली बुझाएको लगत्तै प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा हुनेछ ।

अन्तिम परिणाम घोषणा गरेको ७ दिनभित्र राष्ट्रपतिलाई बुझाउने पर्ने संवैधानिक व्यवस्था छ ।

तर, आयोगले बुधबार शीतलनिवास जाने गृहकार्य गरेको छ । एक आयुक्तले भने( ‘दलहरुले बुझाएको नाममा गडबडी रहेनछ भने आजै राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाउँछौं ।’

आयोगले बुधबार नै राष्ट्रपतिसमक्ष निर्वाचनको अन्तिम परिणाम बुझाएको खण्डमा आजै एमाले र माओवादीले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दावी पेश गर्ने एक नेताले बताए ।

एमालेका एक नेताले भने( ‘निर्वाचन आयोगले आज निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाएमा प्रधानमन्त्रीका लागि दावी पेश गर्ने दुई दलवीच सहमति भएको छ ।’

संविधानतः कुनै एक दलको बहुमत भए उक्त दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ । नभए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउनेलाई प्रधानमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको बहुमत छ । साथै दुबै दल एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमत छन् ।

केपी ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेलगत्तै वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको बहिर्गमनले औपचारिकता पाउने छ ।

निर्वाचन सकिएपछि पनि सरकार नछाडेको भन्दै प्रधानमन्त्री देउवामाथि आलोचना हुँदै आएको छ । मंसिर २१ गते नै प्रतिनिधिसभाको चुनाव सकिए पनि राष्ट्रियसभाको निर्वाचन नसकिई सत्ता हस्तान्तरण नगर्ने अडानमा देउवा रहँदै आएका छन् । र, यसवीचमा राष्ट्रियसभाको पनि निर्वाचन सकिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )