क्रिकेट खेलाडीलाई प्रधानमन्त्रीको सम्मान

काठमाडौँ । नामिबियामा सम्पन्न आइसिसी विश्व लिग क्रिकेट डिभिजन दुईमा उपविजेता बनेको नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन् ।

युवा तथा खेलकुद मन्त्रयालयद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान तथा बिदाइ कार्यक्रममा सरकारको पूर्वघोषित कार्यक्रमअनुसार उनले राष्ट्रिय क्रिकेट टोलीका प्रत्येक सदस्यलाई सम्मान स्वरुप जनही तीन लाखको चेक हस्तान्तरण गरे ।

प्रधानमन्त्री ओलीले यस किसिमको सम्मानले खेलाडीमा अगाडि बढ्न थप हौसला प्राप्त हुने उल्लेख गर्दै क्रिकेट खेलको विकासको लागि सक्दो पहल गर्ने बताए ।

उनले देशमा अब दिगो सरकार भएकाले खेलको उन्नति र प्रगतिमा विशेष ध्यान दिनुका साथै खेल क्षेत्रको माध्यबाट अन्तराष्ट्रिय पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउने विचार व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले हाम्रो देश प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको भन्दै आगामी योजना आर्थिक उत्पादनमा विशेष ध्यान दिने बताए ।

जिम्बाबेमा यही फागुन २० गतेदेखि आयोजना हुने विश्वकप छनोट क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले सफलताको शुभकामना दिँदै बिदाइ गरे । नेपाली टोली शनिबार राति त्यसतर्फ प्रस्थान गर्नेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )