स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री राई

मोरङ । मुख्यमन्त्री राईले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएको बताएका छन् ।

‘समृद्ध र विकसित प्रदेश र देश निर्माणका लागि स्वस्थ्य र शिक्षित नागरिक आवश्यक हुन्छ,’ मुख्यमन्त्री राई पशुपति शिक्षा मन्दिर कटहरीको उद्घाटन सभामा आइतबार भने, ‘त्यसैले नयाँ नेपाल निर्माणका सक्षम र दक्षजनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि ऐन, नियम निर्माणको काम सुरु गरिएको छ ।’

ऐन, नियम आइसकेपछि योजनाबद्ध रुपमा शिक्षा र स्वास्थ्य क्षेत्रमा द्रुत गतिमा काम अघि बढाउने उनको भनाइ थियो ।

प्रदेश १ को विविधिता र मौलिकता जोगाउने शिक्षा नीति ल्याउने उनले बताए । उनले समृद्ध र विकसित प्रदेश निर्माणका भारतको सहयोग अपरिहार्य भएको पनि बताए ।

‘प्रदेश १ को तीनतिर भारतको सिक्किम, पश्चिम बंगाल र बिहार रहेका छन्,’ उनले भने, ‘भारतका प्रदेशहरुको अनुभवले प्रदेश १ लाई समृद्ध र विकसित बनाउन मद्दत मिल्छ त्यसका लागि सहकार्य गरेर अघि बढ्छौं ।’

नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले प्रदेश १ भारतका लागि महत्वपूर्ण भएको बताए ।

‘प्रदेश १ भारतको तीन वटा प्रदेशसँग जोडिएको छ,’ उनले भने, ‘यो प्रदेश विकसित र समृद्ध भए त्यसको सकारात्मक प्रभाव भारतमा पनि पर्छ त्यसैले यहाँको विकासका लागि सहकार्य गर्छौं ।’

उनले नेपाल र भारतको सम्बन्ध प्राकृतिक रहेकोले सधैं रहिरहने विश्वास व्यक्त गरे ।

‘संस्कारयुक्त कुशलता प्रदान गर्ने आधुनिक प्रविधिमा आधारित गुणस्तरीय शिक्षाले दक्ष र सक्षम नागरिक उत्पादन हुन्छ,’ उनले भने, ‘पशुपति शिक्षा मन्दिरले सुरु गरेको संस्कारसहितको आधुनिक शिक्षा प्रभावकारी हुन्छ ।’

प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले विद्यार्थीले जीवनको महत्वपूर्ण १५र२० लगानी गरेर आर्जन गरेको शिक्षाले आफ्नो खुट्टामा उभिन नसक्ने परम्परागत शिक्षा नीतिमा गुणात्मक सुधारको आवश्यक्ता रहेको बताए ।

कटहरी गाउँपालिका अध्यक्ष रामकुमार कामतले पशुपति शिक्षा मन्दिर सञ्चालनले आफ्नो गाउँपालिकाको शैक्षिक क्षेत्र विकासमा ठूलो सहयोग पुगेको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )