धनकुटामा अब शुद्ध खानेपानी

धनकुटा । सदरमुकाममा वितरण गरिँदै आएको खानेपानी शुद्ध बनाउन विशेष प्रकारको फिल्टर ट्यांकी जडान गरिने भएको छ ।

पहिलो चरणमा धनकुटा बजार क्षेत्रमा वितरण गरिने खानेपानी शुद्धताका लागि जडान गर्न लागिएको खानेपानी उपभोक्ता समिति अध्यक्ष द्रोणप्रसाद गुरागाईले बताए ।

भारतको मुम्बईबाट ४३ लाखमा ३ लाख लिटर पानी छान्न सक्ने क्षमताको फिल्टर ल्याइएको उनले बताए ।

जडान गर्ने अन्तिम तयारी गरिएको छ ।

‘प्राविधिक झिकाएर चाँडै जडान गरिने छ’, अध्यक्ष गुरागाईले भने, ‘अब नगरबासीले शुद्ध पिउने पानी पाउने छन् ।’

ट्यांकी लहरे चौतारास्थित खानेपानी ट्यांकीस्थलमा राखिएको छ ।

यसैगरी, स्कुलडाँडा र निगालेमा समेत फिल्टर ट्यांकी जडान गरिने तयारी गरिएको छ ।

करिब २५ करोड लागतमा सरकार, एसियाली विकास बंैक (एडीबी) र उपभोक्ताको संयुक्त लगानीमा सञ्चालित दोस्रो साना सहरी खानेपानी तथा सरसफाइ आयोजनाबाट तीन वर्षअघिदेखि खानेपानी वितरण हुँदै आएको छ ।

ताङ्खुवा र निभुवा खोलाबाट पम्पिङ गरी ल्याइएको पानी विभिन्न ७ वटा टयांकीमा जम्मा गरी वितरण गरिँदै आएको आयोजनाका सुपरिवेक्षण परामर्शदाता इन्जिनियर विरेन्द्र महर्जनले बताए ।

धनकुटा बजार क्षेत्रमा करिब ३ हजार ५ सय खानेपानीका उपभोक्ता छन् ।

प्रतिसेकेन्ड २२ लिटर पानी संकलन गर्ने क्षमता भए पनि हाल प्रतिसेकेन्ड १८ लिटर मात्र पानी आउने गरेको उपभोक्ता समितिको कार्यालयले जनाएको छ ।

उपभोक्ताले न्यूनतम मासिक ४ सय रुपैयाँ महसुल तिर्नु परे पनि खानेपानी वितरण अझै व्यवस्थित बन्न नसकेको ग्राहक अर्जुन राईको गुनासो छ । शुल्कअनुसार व्यवस्थापन पक्ष कमजोर रहेको उनको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )