सहाराको स्थापना दिवसमा सम्मान र पुरस्कार

झापा ।  कारोबारका हिसावले एक नम्बर प्रदेशकै ठूलो र सदस्य संख्याका आधारमा मुलुककै ठूलो मानिएको बिर्तामोडमा प्रधान कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २२औँ स्थापना दिवस भव्य रुपमा मनाएको छ ।

सामाजिक क्षेत्रमा समेत छुट्टै पहिचान बनाएको सहाराले बुधबार सुरुंगामा २२औँ स्थापना दिवस मनाएको हो ।

०५२ साल २१ चैतमा ३३ जना व्यक्तिले ३४ हजार शेयर पूँजीबाट सुरु गरेको सहारा साकोस मुलुककै उत्कृष्ट सहकारी बनेको छ ।

स्थापना दिवसका अवसरमा सहाराले उत्कृष्ट पत्रकार, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट उद्यमी सदस्य, असल छोरी–बुहारी, दिवंगत शेयर सदस्य तथा केही सहकारी संस्थाहरुलाई समेत सम्मान तथा पुरस्कृत गर्‍यो ।

पत्रकार रोहित काफ्लेलाई सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । उनलाई नगद १५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो ।

कार्यक्रमकी प्रमुख अतिथि कन्काई नगरपालिकाकी उपमेयर मञ्जु प्रसाईं, सहाराका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला लगायतले पत्रकार काफ्लेलाई नगद तथा सम्मानपत्र प्रदान गरेका थिए । पुरस्कृत पत्रकार काफ्ले आर्थिक पत्रिका निर्माण लहर साप्ताहिकका सम्पादक हुन् ।

स्थापना दिवसका अवसरमा सहाराले कन्काई नगरपालिकास्थित कोटीहोमका ५० जना बृद्धबृद्धालाई सम्मान गरेको थियो ।

कन्काई–७ को जानकी आधारभूत विद्यालयका १ सय ७६ जना विद्यार्थीलाई हाृस ड्रेस वितरण गरिएको छ । स्थापना दिवसमा सहाराले स्वास्थ्य शिविर, औषधि वितरण, रक्तदान लगायत कार्यक्रम आयोजना गरेको थियो ।

सामाजिक क्षेत्रमा अग्रणी सहारा
सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सामाजिक क्षेत्रमा पनि छुट्टै पहिचान बनाएको छ । ०५२ सालमा स्थापित सहाराले विभिन्न रचनात्मक तथा सामाजिक क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गरेको सहारा नेपालका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले बताए ।

प्रदेश नम्बर १ को ६ वटा जिल्ला झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुरमा कार्यक्षेत्र रहेको सहाराको ५७ सेवाकेन्द्रअन्तर्गत १ लाख ३० हजार ८ सय १ जना शेयर सदस्य छन् ।

०७४ फागुन मसान्तसम्ममा संस्थाको शेयर पूँजी ७६ करोड ७२ लाख ६५ हजार ४ सय रुपैयाँ रहेको प्रमुख कार्यकारी अधिकृत गिरीले जानकारी दिए ।

उनका अनुसार संस्थाको बचत ३ अर्ब २४ करोड ३६ लाख ३९ हजार ६० रुपैयाँ, बाह्य ऋण १ अर्ब ४९ करोड ५४ लाख ४३ हजार ६ सय ९८ रुपैयाँ, विभिन्न कोषहरुमा ५१ करोड ६९ लाख ३२ हजार ८ सय ५९ रुपैयाँ र ऋण लगानी ५ अर्ब २१ करोड ९४ लाख ३५ हजार ६ सय ८५ रुपैयाँ छ ।

संस्थाको कुल सम्पत्ती तथा दायित्व ६ अर्ब ४१ करोड ५४ लाख ४४ हजार ७ सय ५० रुपैयाँ छ ।

यस्तो छ सहाराको सामाजिक कार्य
सहाराले आफ्ना सदस्यहरुमाझ निःशुल्क स्वास्थ्य सेवा सुरु गर्दैछ । संस्थाले आफ्ना शेयर सदस्यलाई जीवन बरदान कार्यक्रमअन्तर्गत शल्यक्रिया, उपचार र जटिल रोगहरुमा सहुलियत उपलब्ध गराउँदै आएकोमा यसलाई थप बृद्धि गरिने प्रमुख कार्यकारी अधिकृत गिरीले बताए ।

संस्थाले २०८० सालदेखि सम्पूर्ण स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।

सञ्जिवनी कार्यक्रमअन्तर्गत रक्तचाप र मधुमेहको औषधिमा ५० प्रतिशत सुविधा उपलब्ध गराउँदै आएको सहाराले अबदेखि थाइराइडको औषधिसमेत उपलब्ध गराउने भएको छ ।

आगामी दिनमा १० वटा जटिल रोगको औषधिमा सहयोग पुर्‍याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलले बताए ।

सहाराले आफ्नो कार्यक्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै १ करोड ६५ लाख रुपैयाँको लागतमा एउटा सुविधासम्पन्न एम्बुलेन्स खरिद गर्ने भएको छ । आइसियु सेवासहितको एम्बुलेन्स खरिद गरी सञ्चालन गर्ने तयारी रहेको अपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले बताए ।

कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको सहाराले प्रदेशस्तरको एउटा मौरी उद्योग स्थापना गर्ने भएको छ । आगामी ३ वर्षभित्रमा १८ करोड रुपैयाँ खर्चमा १५ हजार किसानलाई बाख्रा र कुखुरा पालनमा व्यवसायिक बनाउने सहाराको लक्ष्य छ ।

बाढीपीडितलाई घर
गत साउनमा आएको बाढीबाट प्रभावित व्यक्तिहरुलाई सहाराले ५ सय ३८ वटा अस्थायी घर निर्माण गरी हस्तान्तरण गरेको छ ।

घरविहीन परिवारलाई निःशुल्क घर उपलब्ध गराउनका लागि विराटनगर महानगरपालिका, कन्काई नगरपालिका र कमल गाउँपालिका समेतको सहकार्यमा सयवटा स्थायी घर निर्माण प्रारम्भ गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।

सहाराले हालसम्म झापाको दूधे र होक्सेमा गरी २ वटा ज्येष्ठ नागरिक चौतारी निर्माणमा सहयोग पुर्‍याएको छ ।

चारपानेमा एउटा सहकारी नमूना मन्टेश्वरी विद्यालय सञ्चालन गर्दै आएको सहाराले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई राडार गन खरिदका लागि ७ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )