८४ बालबालिकाको स्क्रिनिङ, ९ मा उच्च कुपोषण

भद्रपुर ।  भद्रपुरमा बालबालिकामा कुपोषणको जोखिम देखिएको छ । खासगरी निम्नवर्गीय आदिवासी तथा सिमान्तकृत सन्थाल समुदायका बालबालिका कुपोषणको जोखिममा रहेको देखिएको हो ।

चन्द्रगढी स्वास्थ्यचौकीको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय झापाको प्राविधिक सहयोगमा भद्रपुर–९ र १० को टोलका पाँच वर्षमुनिका बालबालिकाको तौल र उचाई परीक्षण गर्दा १५ प्रतिशतभन्दा बढी बालबालिका कुपोषणको उच्च जोखिम र ४० प्रतिशतभन्दा बढी बालबालिका कुपोषणको जोखिममा रहेको पाइएको स्वास्थ्य चौकी इञ्चार्ज लालबहादुर पन्तले जानकारी दिए ।

कुपोषण देखिएका बालबालिकालाई मेची अञ्चल अस्पतालको पोषण गृहमा रेफर गरिएको पन्तले बताए । ‘तर उनीहरु त्यहाँ पुग्छन् कि पुग्दैनन् भन्ने शंका छ’, पन्तले भने, ‘अधिकांश सन्थाल समुदायका अशिक्षित आमाहरु छन्, उनीहरुले पोषण गृहमा जानुपर्छ भन्ने क्षमता राख्छन् कि राख्दैनन् ।’

त्यसक्रममा गर्भवती महिलाको पनि स्वास्थ्य परीक्षणपछि पोषण स्वास्थ्य शिक्षा प्रदान गर्नुका साथै पाखुराको जाँच गरिएको थियो । अनमी चन्द्रकला खनाल र कञ्जन रिजालले जाँच गर्नुका साथै पोषण सम्बन्धी जानकारी गराउको स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सरोज निरौलाले जानकारी दिए ।

इञ्चार्ज पन्तले यो परीक्षणले भद्रपुरमा पनि बालबालिका तथा गर्भवतीमा पोषणको अवस्था निकै कमजोर रहेको देखाएको बताए ।

‘हामीले नमूनाका रुपमा दुईवटा टोलका बालबालिकाको स्क्रिनिङ तथा गर्भवतीहरुको पनि पोषणको अवस्था जाँच ग¥यौँ’, पन्त भन्छन्, ‘यसले भद्रपुर पनि कुपोषणको जोखिममा रहेको पुष्टि गर्छ । अब हामी अरु गाउँ र वस्तीमा पनि यो कार्यक्रम लिएर जानेछौँ ।’

गत साउनको बाढीपछि स्वास्थ्य मन्त्रालयले झापाका विभिन्न स्थानमा बालबालिकाको पोषणको अवस्था बारे अनुसन्धान, सर्वेक्षण गरेको थियो ।

ती स्थानमा पोषणको अवस्था निकै खस्किएको पाइएपछि सरकारले पोषणसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गरिरहेको छ ।

कार्यक्रम अनुसार सर्वेक्षणका क्रममा कुपोषण देखिएका बालबालिकाका लागि पोषणयुक्त खानेकुराहरु मिश्रण गरिएको एकप्रकारको लिटो जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत वितरण गर्न थालिएको छ ।

त्यतिबेला साविकको भद्रपुर क्षेत्रका बालबालिकाको पोषणको अवस्थाको सर्वेक्षण हुन नसकेको र अहिले कुपोषणको उच्च जोखिममा रहेका भद्रपुर क्षेत्रका बालबालिका पोषणयुक्त खानेकुरा पाउनबाट वञ्चित हुनुपरेको पन्तको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )