झापाका लोकेशलाई युएईमा आर्थिक सहयोग

रुपेश अधिकारी/युएई

युएईमा ब्लडमनीको मुद्दा सकेर नेपाल फर्कन लागेका झापा अर्जुनधारा नगरपालिकाका लोकेश खतिवडालाई यहाँका विभिन्न संघ संस्थाबाट आर्थिक सहयोग जुटेको छ ।

खतिवडालाई झापाली समाज, ताप्लेजुङ समाज र प्रवासी एकता समाज नाङखोल्याङ तथा केही सामाजिक व्यक्तिबाट सहयोग मिलेको हो ।

जसमा झापाली समाजले २२ सय दिराम (६३ हजार रुपयाँ) सहयोग गरेको संस्थाका सचिव प्रकाश सिग्देलले जानकारी दिए । उनका अनुसार लोकेशको उपचारमा समेत संस्थाले विभिन्न समयमा सहयोग गर्दै आएको थियो ।

यस्तै ताप्लेजुङ समाजको पहलमा ताप्लेजुङ समाज र प्रवासी एकता समाज नाङ्खोल्याङले पनि लोकेशलाई आर्थिक सहयोग गरेका छन् ।

ताप्लेजुङ समाजले १४ सय ५ दिराम (४० हजार रुपयाँ) र प्रवासी एकता समाज नाङखोल्याङबाट ३६ सय दिराम (१ लाख २ हजार रुपयाँ) गरि कुल १ लाख ४२ हजार रुपयाँ सहयोग गरिएको ताप्लेजुङ समाजकी अध्यक्ष सोनी भण्डारीले जानकारी दिइन् ।

सामाजिक सञ्जालमा समूह बनाएर नाङ्खोल्याङकको पहलमा कतार, मलेसिया, साउदी अरव, कुवेत र युएईमा रहेको प्रवासी एकता समाजबाट संकलित रकम हस्तान्तरण गरिएको प्रवासी एकता समाज नाङ्खोल्याङकका केन्द्रीय अध्यक्ष घनेन्द्र खतिवडाले जानकारी दिए ।

उनका अनुसार लोकेशको जन्मभूमि ताप्लेजुङ भएकाले त्यहाँका आफन्तमार्फत विभिन्न देशबाट सहयोग जुटेको हो ।

सबैप्रति आभारी छु : लोकेश
यसैबीच आफूलाई सहयोग गर्ने सबैप्रति लोकेशले आभार व्यक्त गरेका छन् । आफू पीडामा रहँदा समेत सहयोग र हौसला दिने युएइका सामाजिक संघसंस्था, विभिन्न देशबाट सहयोग गर्ने प्रवाशी एकता समाज, विभिन्न व्यक्ति र दुताबासलाई धन्यवाद व्यक्त गरेका हुन् ।

उनले भने, ‘४ वर्षदेखि घर फर्कने बाटो हेरेर बसेको थिएँ । अहिले त्यो पूरा भयो । यसमा युएईमा रहेको सबै नेपालीको जीत भयो ।’

दूताबासको कदमप्रति निकै खुशी देखिएका लोकेशले दुतावासले गर्न चाहँदा नेपालीले दुःख नपाउने बताए । अहिलेको दुताबासको टिम नेपालीको समस्या बुझ्ने गरिको रहेको उनले सुनाए ।

साथै उनले आगामी दिनमा समस्यामा परेकाहरुलाई यसरी नै सहयोग गर्न आग्रह गरे । लोकशको नेपाल फर्कनका लागि सबै प्रक्रिया पूरा भएको दूताबासले जनाएको छ ।

दुताबासले वेभसाइटमार्फत लोकेशको प्रसाशनिक प्रक्रिया पूरा भइ उनलाई पासपोर्टसमेत उपल्बध गराएको उल्लेख गरेको छ । अब उनी आफ्नो इच्छाअनुसारको समयमा नेपाल फर्कन सक्नेछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )