रिक्सा चालकले जब झोलामा सुनको चुरा देखे…

झापा, ४ असोज

ऋण लिएर सिटी रिक्सा चलाइरहेका झापा बिर्तामोडमा डेरा गरी बस्ने दिनेश साह सधैँझैँ यात्रुकै प्रतिक्षामा थिए । त्यतिकैमा बिर्तामोडको पश्चिम बस स्टेन्डबाट २ जना यात्रु उनको रिक्सामा चढे ।

झन्डै १० मिनेटपछि ती यात्रु गोमेन्द्र कलेजको पछाडिपट्टी ओर्लिए । र, भाडा तिरिसकेर आफ्नो गन्तव्यतर्फ लागे ।

रिक्सा चालक दिनेश पनि बस स्टेन्डतिरै फर्किए । केहीबेरपछि व्यक्तिगत काम परेका कारण रिक्सा लिएर उनी बिर्तामोडबाट कन्काई नगरपालिकातर्फ गए । फर्किएर बिर्तामोड आइसकेपछि उनलाई कसैले बोलायो– ‘भाइ, तिम्रो रिक्सा म त ब्याग छ त !’

उनले त्यो ब्याग कसको हो भन्ने सहजै अनुमान लगाए । किनभने अन्तिमपटक उनले बिर्तामोड पश्चिम बस स्टेन्डदेखि गोमेन्द्र कलेजसम्म २ जना यात्रु लगेका थिए । ब्यागमा सुनको २ वटा चुरा, २ वटा मोबाइल र १३ हजार रुपैयाँ पैसा थियो ।

दिनेश इमान्दारसाथ प्रहरीमा पुगे । र, उक्त सामान फिर्ता गरे । यसबीचमा रिक्सामै सामान छोड्ने मदनकुमार श्रेष्ठ र उनकी श्रीमती पनि सामान रिक्सामै छुटेको निवेदन दिन इलाका प्रहरी कार्यालय बिर्तामोड पुगिसकेका थिए ।

प्रहरीले उक्त व्यागभित्र छुटेको मोबाइल नम्बरमा धेरैपटक फोन गरिसकेको थियो । तर, फोन उठेको थिएन । एक्कासि दिनेश उक्त ब्याग लिएर प्रहरीकहाँ आफैँ पुगेपछि उनको इमान्दारिता झल्कियो ।

ब्याग रिक्सामै छाड्ने मदनकुमार श्रेष्ठ र उनकी श्रीमतीले दिनेशलाई धन्यवादसहित २ हजार रुपैयाँ पनि दिए ।

‘रिक्सामा ब्याग छुटेको डेढ घण्टापछि मात्रै मैले थाहा पाएँ,’ रिक्सा चालक दिनेश भन्छन्, ‘अहिले मलाई लाग्छ, मेरो ठाउँमा अरु रिक्साचालकहरु थिए भने यो सामानहरु फिर्ता दिँदैनथिए होला ।’

दिनेश रिक्सा चलाएर दिनको ८ सयदेखि १२ सय रुपैयाँसम्म कमाउँछन् । रिक्सा चलाएर ३ छोरासहित ५ जनाको परिवारको गुजारा चलाउँदैछन्, उनी ।

‘काठ्माडौँमा त चालकले इमान्दारिता देखाएको पाएको थिएँ,’ इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी राजकुमार सिलवालले भने, ‘मिडियाबाट यस्तो समाचार आएपछि झापामा पनि नयाँ सन्देश जान्छ कि !’

डिएसपी सिलवालले रिक्सा चालक पनि इमान्दार देख्न पाउँदा आफूलाई असाध्यै खुशी लागेको बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )