त्यो घर, ती दशैँ

डा. भम्पा राई

आहा दशैँ !
तर, तीन दशक पुग्न लाग्यो, नेपाली मूलका हामी भूटानी नागरिकको जीवन नै आहत छ । नेपालका शरणार्थी शिविर र तेस्रो देशमा बसेर घर सम्झनु परेको छ । हरेक साल दशैँ आउन लाग्दा त्यो घरको सम्झना वेदना बनेर बल्झिदिन्छ ।

दशैँ नजिकिँदै आउँदा म दक्षिण भूटानको साम्ची जिल्लाको बाँडा गाउँमा रहेको त्यो घर सम्झन्छु, जहाँ म जन्मेर हुर्कें । म दिइखान पुग्ने परिवार हाँकेका आइतराज र सुनमाया राईको तेस्रो सन्तान थिएँ ।

घरमा सघाउपघाउ गर्नेहरू थुप्रै थिए । दशैँ लाग्दा खुलेका शारदीय दिनमा महिलाहरू रातोमाटो, कमेरो र गोबरले विशेष रूपमा घर लिपपोत गर्थे । तन्नेरीहरू सनपाटको लठारो बाटेर पीङ बनाउन जुट्थे । दशैँ–तिहारमा एकचोटि भुईं छोड्नुपर्छ भन्ने भनाइ थियो ।

भर्खरै सारा घरआँगन लिपपोत गरिएको माटो र गोबरको हरक, सयपत्री र बाबरीको मगमग, सिकुवामा नयाँ लुगा सिलाइरहेका दर्जीले चलाएको कलको आवाज, घरभित्र मरमसला पिस्दा निस्केको वासना, घर–घरमा चिउरा कुट्दाका ढिकीको आवाजका बीचमा दशैँ गाउँ पस्थ्यो ।

हामी राईको घरमा खसी नचल्ने, तीन वटासम्म सुँगुर काटिन्थ्यो । अटुट दूध–दहीका लागि दुई माउ दुहुना गाई घरमै हुन्थे । एक बिहान माथिको खर्कको गोठमा १५ माउ भैँसी, ६५ माउ गाई, पाडा–पाडी र बाच्छा–बाच्छी थिए । लखेटिएर हिँड्दा ती त्यतिकै छाडिए ।

हाम्रो गाउँको देव्रेपट्टि जलढका र दाहिनेपट्टि तोदे खोला थियो । दशैँ विदामा हामी त्यहाँको कन्चन पानीमा बाँकटे हान्थ्यौँ, माछा मारेर ढुंगामा सुकाएको, घर ल्याएर अँगेनोमा पोलेर नून–खुर्सानीमा चोेप्दै खाँदाको स्वाद यो जिब्रोले यो जुनीमा भुल्दैन ।

हामी कहिले खेल्दाखेल्दै सिरान डाँडामा पुग्थ्यौँ । त्यहाँबाट तलतिर हेर्दा जलढका र तोदे खोलाबीचको फाँटभरि देखिने पाक्दै गरेको धान र चरिरहेका बस्तुभाउ सम्झँदा अहिल्यै पुगिहालुँ जस्तो लाग्छ ।

जलढका र तोदे खोलाकै बीचमा थियो हाम्रो तीन मुरी बीउ लाग्ने घुमाउने खेत, पाँचपाथी बीउ लाग्ने अंके खेत, आठपाथी बीउको खोपीखर्क खेत र १४ पाथी बीउको मसले खेत ।

एक सिजनमा ३० मन जति अलैँची निस्कने अलैँचीबारी र मकै, भटमास, कोदो रोपिने पाखो बारी पनि प्रशस्त थियो । घरसँगै गोबर मल मात्र भेटेका आरू, सुन्तला, मेवा र केरा बगान थियो ।

खेत र बारीका कान्लाहरूमा नाइटे ज्यामिर प्रशस्त थिए । ढिकुटीभरि धान, गोठभरि गाईबस्तु, वरिपरि फलफूलको बगान र बाह्रैमास उब्जाउ दिइरहने रसिलोभरिलो खेतबारी थियो हाम्रो ।

दशैँको टीकाको दिन बुबा र आमाले हामीलाई पालैपालो सेतो टीका लगाइदिनुुहुन्थ्यो । त्यसपछि ठूलो बरण्डामा वरिपरि बसेर नयाँ धानको नरम चिउरासँग दशैँका परिकार खाइन्थ्यो । घरमा टीका थाप्न आउने आफन्तहरूको लर्काे छुट्थ्यो ।

हामी पनि टीका लगाउन मामाघर जान्थ्यौँ । त्यसबेला मानेको दशैँ, हाँसखेल गर्दै बिताएका दिन, दगुर्दै नाघेका कान्ला, सुवानी माली गाई, बोकिहालौँ जस्ता बाच्छाबाच्छी, आफूसँगै भाग बस्ने कुकुर र बिराला आज मसँग छैनन् । छ त केवल तिनको सम्झनाले हुण्डरी चलाइदिने एउटा हृदय !

गाउँबाटै स्कूल फाइनल गरेपछि सन् १९६८ मा एमबीबीएस पढ्न गुहाटी गएँ । फर्केर थिम्पू जनरल हस्पिटलमा काम गरेँ ।

पछि बाङ्लादेशको ढाका विश्वविद्यालयबाट एफसीपीएस डिग्री लिएपछि १९७७ बाट छुका जलविद्युत् परियोजनामा मेडिकल अधिकृत भएँ, शाही नातेदारहरूको पनि डाक्टर बनियो ।

त्यस अवधिमा निश्चय नै गाउँघरसँगैको सम्बन्ध पातलियो, तर हरेक वर्ष दशैँ मनाउन त घरै पुगियो । त्यही घर जहाँ बाबुआमाले हामी सात सन्तान जन्माएर हुर्काउनुभयो ।

१९९० तिर भूटानमा नेपालीभाषीमाथि सरकारी दमन बढ्यो । त्यसको विरोध गर्दा राज्य नै दुश्मन बन्यो । आज मेरा एक दिदी र दुई बहिनी भूटानमा छन् ।

आमाबाबु र कान्छी बहिनी नेपालको शिविरमा दिवंगत भए । भाइ बलराजको परिवार अमेरिकामा पुनर्वास भयो । तर, म र एक दिदी भूटान नै फर्कन चाहन्छौँ, आफ्नै बाँडा गाउँमा ।

यो मेरो आत्माको अडान हो । त्यहाँको घर, खेतबारी, खोला, डाँडापाखा, वन सबैले बोलाइरहेको मेरो मनले सुनिरहेको छ ।

प्रस्तुतिः गोपाल गडतौला
हिमाल खबरपत्रिकाबाट

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )