पहिला आफूलाई चिनौं

पहिला आफूलाई चिनौं

चन्द्रकान्त ढकाल
‘विश्वमा थोरै मानिसले मात्र मुर्नभन्दा पहिला आफूलाई चिन्न सफल हुन्छन्’ इमर्सनको यो भनाइले विश्वका धेरै मानिसहरुलाई ज्ञान हुनुपर्ने हो कि म सही अर्थमा आफूलाई चिन्न असफल छु ।

तर, मानिसहरु यस्तो कुरा मान्न तयार हुँदैनन् । त्यसैले उनीहरु जीवन बुझ्नबाट वञ्चित छन् । यदि हामी सत्यलाई स्वीकार्न तत्पर छौं भने म जान्दछु भन्ने अहंकारले मानिसलाई थप अन्यौलता तर्फ धकेल्छ हामी प्रष्ट छौं ।

केही मानिसहरुभन्दा म जान्दछु अवश्य हुन सक्छ । तर सबैकुरा र सबैभन्दा जान्दछु, केही विषयमा केही जान्दछु कहिले हुँदैन ।

योे एउटा विषयवस्तुको सन्दर्भको मात्र कुरामा मैले भने तर खास मानिसले जान्नैपर्ने प्रकृति जीवन र जगतको रहस्यको विषयमा भन्ने हो भने पहिलो कुरा त मानिसको जान्ने पूर्ण समयको लागि उमेर नै पर्याप्त छैन ।

उसले जान्न चाहेर, मेहनत गरेर पनि सब कुरा जान्न सक्दैन । अतः संसारको सबै कुरा जान्ने प्रयत्नको सट्टा मानिसले आफूलाई चिन्ने प्रयत्न गरेमा धेरै राम्रो हुन्छ । उसले पाउने सुखको उत्तम उपाय यही हुन सक्छ ।

हामी सुखको आनन्दको लागि काम गर्छौं । चाहे कार्य जे होस् त्यसको उद्देश्य अन्ततः आनन्द प्राप्त गर्ने नै हो ।
विद्धान ग्लाड स्टोनले भनेका छन्– ‘मानिस स्वयम् सृष्टीको अद्भूत आश्चर्य हो यसको स्वभावको अध्ययन सबैभन्दा श्रेष्ठ अध्ययन हो ।’ त्यसैले स्वयम् मानिस दुनियालाई बुझ्नुको सट्टा आफूलाई बुझ्नतिर लागेमा धेरै लाभ हुनेछ । किनकी ऊ आफैंमा एउटा रहस्य हो ।

जसले टर्च (लाइट) बोकेको छ अन्धकारमा उसैले सबैलाई र सबकुरा देख्छ÷चिन्छ । तर, उसलाई कसैले चिन्दैन । अतः जसले आफूलाई प्रकाशित गर्छ उसले दुनियालाई सजिलो गरी चिन्दछ÷जान्दछ ।

तर, दुनिया भने उसको रहस्य बुझ्नबाट वञ्चित रहन्छ । त्यसैले महात्माहरु दुनियालाई जान्दछन् तर महात्माको रहस्य कोही पनि बुझ्दैनन् ।

जीनज्याक रुषो भन्छन्– मानिस स्वभावले स्वतन्त्र, असल, सिधा, भद्र र विनम्र हुन्छ । हो, वास्तवमा मानिस त्यस्तै हुन्छ । उसको मातृ गुण त्यस्तै हो ।

यदि उसले आफूलाई चिनेको छ भने तर मानिस त्यस्तो किन भएन त ? यो एउटा प्रश्न हो । यसमा यस्तो भयो होला सायद मानिसले आफ्नो स्वरुप नजानेर वा भुलेर बाहिरी प्रभाव र स्वार्थको कारण आफूलाई परतन्त्र बनायो होला । खराब र बाङ्गो टिङ्गो बनायो अनि विद्रोही र अहंकारी बनायो होला ।

हामीले कुनै काम बिर्सियौ भने त्यसबाट हुने फाइदा गुमाउँछौं । त्यसरी नै मानिसले आफ्नो असली स्वरुप भुल्यो भने आफूलाई नचिनेर नै आयुलाई समाप्त गर्न पुग्छ ।

र, जीवनको रहस्य नबुझेरै मर्छ । घटनालाई हेर्ने दृष्टिकोणबाट मानिसले आफ्नो परिचय बनाउँछ । अतः घटनालाई विश्लेषणात्मक रुपमा हेर्नु सवोत्तम कुरा हो ।

कुनै पनि वस्तुको विषयमा लेखिनु उसलाई खुम्च्याएर सीमित गर्नु हो । यदि उसको बारेमा लेखिएको छैन भने उसको व्यापकता अनन्त हुन्छ ।

मानिसको हकमा पनि यस्तै हुन्छ । उसले आफ्नो व्यापकता अर्को मानिसको सीमित विषय र वस्तुसँग तुलना ग¥यो, नाप्न थाल्यो र विश्लेषण गर्यो भने ऊ खुम्चिएर सानो हुन्छ ।

धेरै मानिसलाई थाहै भएन कि म एउटा विशाल आकाशमुनि छानो हालेर आफ्नो आकाशलाई छानो मुनि समेट्दै छु भनेर । उसले आफ्नो परिचयको अनन्तता आफ्नो ऋष्टिको अनादिता र आत्माको अमरता कहिल्यै बुझ्न सकेन ।

केही समय बाँच्ने एकदमै छोटो समयका लागि मानिस अनावश्यक वस्तुको संकलनमा लागेर व्यर्थमा आफ्नो नाम र परिचयलाई गुमनाम बनाई रहेको छ ।

तर, उसलाई यस्तो लागीरहेको छैन । एउटा किसान खेत खनेर गल्छ, बैंकको क्यासीयर (खजाञ्ची) पैसा गनेर गल्छ । आखिर दुबै जना गल्छन् ।

खेत खन्ने मानिस पैसाको लागि खेत खन्छ उसलाई पैसा गनेर गलिन्छ भन्ने विश्वास लाग्दैन । तर, पैसा गन्नेहरु झन् बढी गल्छन् ।

अझ हिसाब मिलेन भने डल्ला नफुटेभन्दा कठिन हुन्छ । कयौं पैसा कमाउने होडमा आफ्ना मान्यता बिर्सिएर मानवीय स्वभावबाट मानिस कति टाढा पुगेको छ ।

धेरै इमान्दार र सरल मानिसहरुले तिनको सक्कली रुप चिनेका छन् । एउटा सुकुम्बासी यही धर्तीको छातीमा निदाउँछ एउटा अथाह जग्गाको धनीपूर्जा वाला पनि यही धर्ती मै निदाउँछ ।

निदाएपछिको आनन्दमा दुबैमा केही फरक छैन । पञ्च महाभूत तत्वको सहाराले फलेको अन्न नै खाएर संसारको सबैभन्दा गरीब र सबैभन्दा धनीहरु समान रुपमा अघाउँछन् । राम्ररी बुझ्न सक्यौ भने मानिसको रवाफ नै सम्पन्नता र असल परिचय होइन ।

सिस्टममा रहेर र हार्दिकतापूर्वक व्यवहार गरेर कोही अलि आर्थिक रुपले माथि कोही तल पर्नु स्वभाविकै हो । यो अर्थतन्त्रको कुरा हो । तर, पैसा हुने बित्तिकै आफूभन्दा कम आर्थिक अवस्था भएकाहरुलाई मान्छे नै नगन्ने र आफूलाई कुवेर नै सम्झने केही घनाढ्यहरुलाई यही धनप्रतिको मोह र अहंकारको फलामे ढोकाले आफ्नो परिचय पाउने सुन्दर बाटोमा दरबिलो अवरोध खडा गरी दिएको छ ।

डा. राधा कृष्णनले भनेका छन्– मानव दानव हुनु, उसको हार हो । मानिस मानव हुनु उसको जीत हो । मानिस महामानव हुनु उसको चमत्कार हो । हामीले बुझी सक्यौं कि मानिस कति स्वरुपको हुनसक्छ । यसको लागि उसले आफूलाई चिन्नैपर्छ । अन्यथा ऊ कसरी खुशी रहन सक्ला र ?

त्यसैले त मर्नुभन्दा पहिला थोरै मानिसले मात्र आफूलाई चिन्न सक्छन्, मानिएको छ । मानिस पञ्च महाभुत तत्व, आकाश, पृथ्वी, जल, तेज र वायुको साकार स्वरुपबाट बाह्य परिचित स्वरुप हो । त्यसभित्र उसको आफ्नो स्वरुप आत्मा छ र यो मन बुद्धिसहित एक पूर्ण मानव बन्दछ ।

तर त्यसमा पनि मानिसले म भन्ने तत्व भनेको आत्मा मात्र हो । जो अमर र अनादि छ । शद्ध छ र सफा छ । तर, यति हुँदाहुँदै पनि इन्द्रीयका विषय भोगको लालसा मनमा उत्पन्न गरेर मानिस आफ्नो आत्मलाई दुषित बनाएर भगवत क्षेत्रको विमुख हुन जान्छ । भगवान समिपमा रहेर मानिसलाई आफ्नो स्परुप जान्न प्रेरित गर्दछ । तर, मानिस संसारी मोहमायामा फसेर आफ्नो स्वरुप बिर्सिएर परिचय गुमाउन पुगेको छ ।

आत्मा ज्ञानी र भक्तिका आचार्यहरु मानिसलाई आनन्द प्राप्तिको मार्ग बताउँछन् । तर मानिस यो मान्न तयार छैन । जसरी एउटा खाली बोतलमा बिर्को कसेर समुन्द्रमा जति समय डुबाए पनि पानी भरिँदैन सोही अनुरुप जिद्धी र मुर्ख मानिसमा ज्ञानको संचित गर्न सकिँदैन र उनीहरु आफूलाई जान्न असफल हुन्छन् र दुनिया बुझनबाट परै रहन्छन् । जो अहंकार गर्छ र आफ्नो मुर्खता पूर्ण ज्ञानलाई विध्वता पूर्ण ठान्छ ।

उसको लागि जतिसुकै लामो जिन्दगी पनि व्यर्थ हुन्छ । तर आफूलाई चिनेकाहरुको जीवन अर्थपूर्ण र महत्वको हुन्छ । उनीहरुले आफ्नो जीवनलाई मृत्युसँग जोडी सकेका हुन्छन् र मृत्यु पछिको सुनौलो जीवनको परिकल्पनाले उनीहरुले मृत्युसँग निर्भयताको सम्झौता गरी सकेका हुन्छन् ।

हुन त म यो विचार लेख्ने मानिसले मृत्युसँग कति निर्भयताको सम्झौता गरेको छु । यकिन अझै गर्न सकेको छैन तर मैले साथीहरुलाई भन्ने गरेको छु । मलाई सदा बाँचिरहने रहर पनि छैन र मलाई मरिहाल्न हतार पनि छैन । तर, बाचुनञ्जेलसम्ममा मैले मलाई राम्ररी चिनी सक्नुपर्ने भने अवश्य छ ।

धेरै दार्शनिकहरु भन्छन् समय महत्वपूर्ण हुन्छ । तर म भन्छु समयभन्दा जीवन महत्वपूर्ण हुन्छ । समय त अनादीकालदेखि अनन्तसम्म सधै छँदैछ ।

चाहे हामी हौ या नहौं । तर जीवन चाहिँ सँधै छैन हाम्रो भौतिक शरीर क्षणिक छ । त्यही क्षणिक प्राप्त भौतिक शरीरले आत्मा र ब्रम्हज्ञान प्राप्त गरेर भगवानको भक्ति गर्दै आफ्नो लक्ष्य हासिल गर्नु हाम्रो उद्देश्य हुनुपर्छ ।

आफूलाई भौतिकवादी भन्ने कयौं मेरा प्रिय पाठकहरुलाई मेरो आध्यात्मिक लेखले पीडा हुन गएमा म क्षमाप्रार्थी छु । तर, विनम्रतापूर्वक अनुरोध पनि गर्न चाहन्छु जन्म र मृत्युको रहस्य । आफैमा एउटा खोजको विषय हो जसलाई शरीर मन, बुद्धि, इन्द्रीयले खोज्न र भेट्न सक्दैन ।

यो आत्मसँग सम्बन्धित छ र आत्माले पत्ता लगाउन सक्छ यसको रहस्य किनकि हरेक शरीरले जीवनको यात्रा पूरा गरी मृत्युपछि आत्माको स्वरुपमा रहन्छ भन्ने हाम्रा शास्त्रीय मान्यता छ । र, हामी ती मान्यतालाई पालना गर्दै आइरहेका छौं । अनादीकालदेखि हाम्रो आत्मा हामीसँग सँधै साथमा छ । जसलाई हामी म भन्ने गर्छौ र बाँकी सबैलाई हामी मेरो भन्ने गर्छौ ।

वेद र अन्य शास्त्रहरुले यही कुरा भनेका छन् । संसारमा समय समयमा यस्ता महापुरुषको अवतरण भयो जसले प्रकृति, जीवन, जगत अनि म र मेरो रहस्य हाम्रोसामु स्पष्ट राखी दिए । तर, हामीले ति विषय वस्तुलाई विश्वास गरेनौं र आफ्नो बुझ्नै पर्ने रहस्यबाट सदा बञ्चित रह्यौं अनि सदा दुःखकष्टको भूमरीमा फसी रह्यौं ।

हामीले हाम्रो जन्म र मृत्युको श्रृंखलालाई आत्माको निरन्तरता शरीर र इन्द्रीयकोे अन्त्यतासँगको रहस्यसँग जोडेर हेर्न सक्यौं भने आफ्नो रहस्य बुझ्न सजिलो हुन्छ होला भन्ने मेरो विचार हो । मेरो विचारसँग असहमत यदि तपाई हुनुहुन्छ भने मेरो जिज्ञासा यो हो कि संसारका सबै वैज्ञानिकहरुलाई तोरीको दानामा कुन कुन तत्व छ अवश्य थाह छ । त्यही तत्व संसारमा पनि छ ।

अब भन्नुहोस ति तत्वको सम्पूर्ण तत्व समीश्रण गरेर के वैज्ञानिकले कृतिम तोरीको दाना बनाएर उमार्न सक्छन् ? मलाई लाग्छ सक्दैनन् । त्यसैले वैज्ञानिकलाई पञ्च महाभुत तत्वको पूर्ण जानकारी भएर पनि यसको सञ्चालकको बारेमा पत्तो छैन । यसैले मेरो विचारमा आध्यात्मले सत्य र अनादी सास्वत चिजको विषयमा कुरा गर्छ ।

विज्ञानले तिनै अनन्त सास्वत चिजहरुको पत्ता लागेको रहस्यसम्मको विषयमा कुरा गर्छ । त्यसैले आध्यात्म समुद्र हो भने विज्ञान त्यसबाट आवश्यक परेर झिकिएको पानी हो । आध्यात्म शिखर हो भने विज्ञान पूगेसम्मको फेदी हो । हामी जे जान्दछौं त्यो सम्पूर्णताबाट झिकेको अपूर्णतामात्र हो ।

या एउटा सानो अंश मात्र हो । यसमा श्रीश्री रवि शंकरले भनेका छन्– ‘सम्पूर्णता अदृष्य है अपूर्णता देखाइदेती है ।’ त्यसैले हामी मानिसहरुले आफ्नो रहस्यलाई बुझै र आफूलाई चिनौं मानिस बनौं र आफूलाई प्राप्त समयको सदुपयोग गरेर जीवनलाई सार्थक बनाऔं । र, आफूलाई चिन्न सफल बनौं ।

मान्छे र उसको जीवन सार्थकताको लागि प्राप्त निश्चित समयलाई कसरी सदुयोग गर्ने यो चुनौति र अवसरलाई केवल अवसरमा रुपान्तरण गर्ने अवसर हामीमा प्राप्त हुन सकोस् ।

अब आउनुहोस् छोटो शब्दमा भन्नुपर्दा आफूलाई कसरी चिन्ने 
कहिलेकाही जब हाम्रो अतिमहत्वपूर्ण कुरा अन्धकारमा हराउँछ तब हामी एउटा टर्च बोकेर कसैलाई नभनी बढो सर्तकता र सूक्ष्मरुपमा त्यो सानो सामानलाई हराएकै ठाउँको वरिपरि खोजी गर्छाैं । हो, हामीले पनि हाम्रो जीवनको रहस्य र आफूलाई चिन्नका लागि यस्तै तरिका अपनाउन सक्छौं ।

छोटो गरी भन्नुपर्दा हामीले आफूलाई आफैले आफैभित्र खोज्नुपर्छ । आफ्ना विचार र कर्मलाई विलकुल एकान्तमा बसेर आफ्नै मृत्युलाई सम्मुख राखेर सही र गलतको तुलो समातेर आत्मालाई साक्षी राखेर निर्णय लियौं भने न हामीबाट कसैको कुभलो हुन्छ । न हामी जीवनको कुनै झमेलामा फस्छौं । राम्रो काम गर्न हामी सधैं स्वतन्त्र छौं । यसमा हाम्रो सर्तकता धेरै महत्वपूर्ण हुन्छ ।

यसमा ज्ञान र विवेकको प्रयोग पनि उत्तिकै महत्वपूर्ण छ । जबसम्म हामी आफ्नो रहस्यको सम्मुख हुँदैनौ तबसम्म हामी आफ्नो परिचय पाउनबाट वञ्चित नै रहन्छौं । त्यसैले रहस्यको सम्मुख पर्नका लागि हामीले आफ्नो हालको दिसालाई परिवर्तन गर्नैपर्छ । या सोचलाई बदल्नु पर्छ ।

मुख्य समस्या भनेकै हामी अनन्त जुनीको फोहोरमैलाको सोचबाट ग्रसित छौं र यस जुनीको पनि प्राप्त वस्तुको होस् या मनको अहंकार र अरुको इष्र्याबाट ग्रसीत छौं ।

साथै सत्य कुराको अनुसरण गर्नुको सट्टा बरु मर्न तयार छौं । यही हाम्रो प्रमुख समस्या हो । यसका लागि एकपटक हामीले हाम्रो सम्पूर्ण परिचयलाई समाप्त गरेर सून्यबाट उठ्न सक्नुपर्छ । यो मेरो विचार हो । तपाईं आफ्नै तरिकाले पनि अगाडि बढ्न सक्नुहुन्छ ।

र, आफ्नो परिचय वा आफूलाई चिन्न सफल हुनु होला । जे होस् मेरो यो लेखको एउटै मात्र उद्देश्य हो की हरेक मानिसहरुलाई आफ्नो जीवन बुझ्को लागि प्रेरणा र सफलता मिलोस् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )