सुगम शान्ति टोलमा पुनः सुवास

बिर्तामोड ।  पूर्वका चार जिल्लाको प्रमुख व्यापारिक केन्द्र बिर्तामोड नगरपालिकाको वडा नम्बर ६ स्थित सुगम शान्ति टोल सुधार समितिको अध्यक्षमा सुवास भट्टराई चयन भएका छन् । समितिमा उनको यो दोस्रो कार्यकाल हो ।

समितिको शनिबार सम्पन्न दोस्रो अधिवेशनले भट्टराईलाई आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भट्टराई बिर्तामोडका प्रतिष्ठित व्यवसायी हुन् भने नेपाल अलैंँची व्यवसायी महासंघका केन्द्रीय कोषाध्यक्ष हुन् ।

समितिको उपाध्यक्षमा सञ्चारकर्मी लीला अनमोल र सचिवमा गोपाल लकान्द्री चयन भएका छन् । यसअघि उनीहरु सोही पदमा थिए । ११ सदस्यीय समितिको सहसचिवमा कमल लुइँटेल, कोषाध्यक्षमा बुद्धिप्रसाद विमली र सदस्यमा शिवकुमार वाग्ले, रशिद अलि, यादव खतिवडा, डिल्ली कोइराला, गोमा लुइँटेल र मालती विक चयन भएका छन् ।

यसअघि समितिको तेस्रो साधारणसभामा अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

जिल्ला समन्वय समितिका सभापति सोमनाथ पोर्तेलको प्रमुख आतिथ्यमा सचिव गोपाल लकान्द्रीले सञ्चालन र उपाध्यक्ष लीला अनमोलले स्वागत गरेको साधारणसभामा अध्यक्ष भट्टराईले ३ लाख १८ हजार २२० रुपैयाँ आय र ३ लाख नौ हजार ३९२ रुपैयाँ खर्च, ६ बुँदे नीति तथा कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समिति टोलको विकासमा लागिपरेको अध्यक्ष भट्टराईले बताएका छन् । समितिकै अगुवाइमा बिर्तामोड नगरपालिकाको सहयोगमा टोलका ३० जना महिलालाई कुसान तथा गुडिया बनाउने तालिम दिई स्वरोजगार बनाइएको, टोलको सुरक्षा, सुविधाका लागि रचनात्मक काम गरिएको, तिहारमा देउसी खेली रकम संकलन गरिएको, समितिको पहलमा नगरपालिकाको ५ लाख लगानीमा बाटो निर्माणको काम गरिएको लगायतका काम गरिएको भट्टराईले जानकारी दिए ।

०६२–०६३ मा तीनवटा मात्र घर बनेको सो टोलमा एक दशकभित्रमा १०२ घर निर्माण भइसकेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )