‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ लागू, प्रधानमन्त्रीले दिए यस्तो सन्देश

काठमाडौं । सरकारले निजी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरणको व्यवस्थासहित ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ लागू गरेको छ ।

सामाजिक सुरक्षा कार्यक्रम औपचारिक रुपमा सरकारले आज सुरु गर्दै छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा असक्तता र आश्रीत परिवार सुरक्षा योजना कार्यक्रम सुरु गरेको हो ।

निजी क्षेत्रका कम्तिमा ३५ लाख श्रमिकको सामाजिक सुरक्षा ग्यारेन्टी गर्न कार्यक्रम लागू गरिएका श्रम मन्त्रालयले जनाएको छ ।

सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योगदान गर्नुपर्ने छ । कोषमा झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको छ ।

अर्थ मन्त्रालयले सामाजिक क्षेत्रका सम्पूर्ण कामदारको मासिक तलवबाट एक प्रतिशत रकम कोषमा जम्मा गर्दै आएको छ ।

यो योजना तत्काल उद्योग÷प्रतिष्ठानका कार्यरत श्रमिमले कोषमा नियमित रुपमा तलवबाट निश्चित रकम जम्मा गरी सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुने पाउने छन् ।

अनौपचारिक क्षेत्रलाई विस्तारै समेट्ने योजना सरकारको छ । वृद्ध अवस्थामा सुरक्षा योजनाअन्तर्गत कोषमा योगदान गर्ने श्रमिकले ६० वर्ष कटेपछि निवृत्तिभरण वा एकमुण्ठ रकम बुझ्ने पाउने व्यवस्था गरिएको छ ।

१५ वर्षसम्म निरन्तर योगदान गरेका श्रमिकले यस्तो सुविधा पाउने छन् । त्यसका लागि एउटै रोजगारदातासँग श्रम गर्नु भने पर्दैन ।

कोषमा रोजगारदाताले श्रमिमको आधारभूत पारिश्रमिमको १० प्रतिशत सञ्चयकोषवापत र ८ दशमलव ३३ प्रतिशत उपदानवापत समेत गरी जम्मा १८ दशमलव ३३ प्रतिशत रकम र श्रमिकले सञ्जयकोषवापत गर्ने १० प्रतिशत योगदान गरी जम्मा २८ दशमलव ३३ प्रतिशत रकमबाट वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिने भएको छ ।

यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताएका छन् ।

पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताए ।

सन्देशमा उनले आजदेखि सामाजिक सुरक्षा योजना लागू भएको भन्दै आफूले अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गरेका छन् ।

उनलेसबै देशवासीलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामनासमेत सन्देशमार्फत व्यक्त गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )