हल्दिवारीमा अर्को अनुकरणीय काम ! जनता उपचार कोष गरिबका लागि बरदान

हल्दिवारीमा अर्को अनुकरणीय काम ! जनता उपचार कोष गरिबका लागि बरदान

बिष्णुप्रसाद पोखरेल
दमक । हल्दिवारी गाँउपालिकाले जनताले तिरेको करबाट जनतालाइ नै सेवा भन्ने मुल नाराका साथ बनाएको ‘जनता उपचार साहयता कोष’ प्रभावकारी बनेको पाईएको छ । गाँउपालिकामा जननिर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुले पाउने भत्ताको केहि रकम समेत यसमा हालेर जनताको उपचारमा खर्चेको पाईएको छ ।

यसका लागि गाँउपालिकाले चालु आर्थिक बर्षका लागि २५ लाख रुपिया छुट्याएको र बर्षेनी बढाउदै लैजाने कोषका संयोजक समेत रहनु भएका गाँउपालिका उपाध्यक्ष डम्बर गिरीले बताउनु भयो । यसका लागि आवश्यक कार्यबिधि बनाएर सोहि अनुसार कोषको रकम परिचालन गरिने गरेको जनाईएको छ ।

अति बिपन्न नागरिकहरुलाइ वडा कार्यालयको सिफारीस र सरकारी मान्यताप्राप्त स्वास्थ्य संस्थामा जाँच गरिएको पुर्जा सहित नागरिकता एवं अनिवार्य रुपमा स्वास्थ्य बिमा गरेको प्रमाण लिएर आउनेहरुले यो कोषबाट सुबिधा पाउने जनाईएको छ । रोगको प्रंकृती र बिरामीको खर्चलाइ हेरेर कोष सञ्चालन समितिको निर्णय बमोजिम सहयोग गरिन्छ, गिरीले भन्नुभयो ।

यस्तो राहत सहयोग चेक काटेर बैक मार्फत मात्र दिइने गरेको उहाँले जनाउनु भयो । पाँच÷दश हजार सहयोग ठुलो रकम नभएपनि स्थानीय सरकारले गरेको यो कामको बिरामीहरुले ठुलो सहयोगको रुपमा लिएको पाएका छौ, गिरीले भन्नुभयो । गाँउपालिकाले मात्र नभएर यो कोषमा जनप्रतिनिधि र गाँउपालिकाका कर्मचारीहरुले समेत रकम जम्मा गरेकाछन्, गिरीले भन्नुभयो ।

गाउँपालिका तथा वडास्तरीय योजना तथा कार्यक्रमहरु सञ्चालन गर्दा लागत अनुमानको तीन प्रतिशत रकम कन्टिन्जेन्सी वापत् छुट्याउदै आइएकोमा उक्त तीन प्रतिशत कन्टिन्जेन्सी रकममध्ये एक प्रतिशत रकम विपद् व्यवस्थापन कोष र जनता उपचार कोषमा आधा÷आधा रकम कट्टा गरी राख्ने निर्णय भएको जनाउदै यो कोष बृद्धि हुदै जाने गाँउपालिका अध्यक्ष रबिन्द्र लिङ्देनले बताउनु भयो ।

हल्दीबारी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले वैठक भत्ता वापतको रकम बुझ्दा प्रति वैठक पचास रुपैंया उल्लिखित कोषमा कर्मचारीहरुवाट समेत अनुरोध भए वमोजिम नै जम्मा गर्ने निर्णय भएको छ, लिङ्देनले भन्नुभयो । यसरी कर्मचारीहरु पनि स्थानीय नागरिकप्रति जिम्मेवार बनेको उहाँले जनाउनु भयो ।

यसैबीच गाँउपालिकाले एकसाता अघिदेखि हल्दीबारी स्वास्थ्य चौकीमा चौविसै घण्टा प्रसुती सेवा उपलब्ध गराउन बर्थिङ्ग सेण्टर स्थापनाको गरेको छ । सोहि स्वास्थ्य चौकीमा गाँउपालिकाको आफ्नै ल्याव समेत सञ्चालनमा ल्याईएको पाईएको छ । सामान्य स्वास्थ्य परीक्षणका लागि बिर्तामोड वा भद्रपुर धाउनुपर्ने वाध्यता अन्त्य गर्न गाउँपालिका स्तरीय एक सुविधा सम्पन्न ल्याब स्थापना गरिएको हो, गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत सन्तोष घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )