यस्तो छ संघर्षशील महिला पबित्रा निरौलाको जीवनकहानी

समाजमा धेरै खाले परिबेशमा मानिस बाँचेको हुन्छ । जसले कुनै न कुनै रुपमा आफ्नो क्रियाशीलता देखाइरहेको हुन्छ । त्यसमा पनि एउटी महिला जो तीसौं बर्षदेखि यही समाजमा आफ्नो उपस्थिती जनाइरहेकी छन् । त्यो पनि शसक्त रुपमा । हो, उनै हुन पबित्रा निरौला खरेल । एमालेकी महिला नेतृ ।
पूर्ब मै मात्र नभएर मुलुकमै एउटी नारी हस्ताक्षरको रुपमा सकृयता देखाइरहेकी पबित्राले झापा जस्तो सचेत जिल्लाबाट यही मंसिर २१ गते हुने प्रतिनिधीसभाको निर्बाचनमा झापा क्षेत्र नं २ बाट टिकट पाएकी छन् । उनका बारेमा पत्रकार सुब्रत न्यौपानेले तयार पारेको आलेख ।

यसरी आइन्, राजनीतिमा

अझ त्यसमाथि राजनीतिमा सक्रिय हुनु त्यो बेला चानचुने कुरा थिएन । समाजले हेर्ने दृष्टिकोण बद्लिने कुनै सङ्केत समेत देखेकी थिइनन् उनले । परम्परागत सोचाइको साँघुरो घेरामा समेटिएको समाजलाई उनले चुनौति दिने आँट गरिन् र होमिइन् राजनीतिमा ।

निरङ्कुश राज्य सत्ताको दवदवामा आफूलाई जोगाउन हम्मे हम्मे हुन्थ्यो त्यो बेला । सुराकी गर्नेहरुबाट पनि जोगिन झन् मुस्किल । निरङ्कुश सत्ताका सिपाहीलाई छक्याएर मध्यरातमा सङ्गठन निर्माण गर्दै हिँड्नु खुकुरीको धारमा ज्यान राख्नु जस्तै थियो ।

निरङ्कुश राज्य सत्ताको दवदवामा आफूलाई जोगाउन हम्मे हम्मे हुन्थ्यो त्यो बेला । सुराकी गर्नेहरुबाट पनि जोगिन झन् मुस्किल ।
रत्तिभर उनले त्यसको पर्वाह गरिनन् ।

कहिल्यै उनका पाइला रोकिएनन् । एउटा अनन्त यात्रामा उनका अगाडि समय मात्रै त्यस्तो साक्षी थियो, जसले सधैँ झक्झक्याएर उनलाई साथ दिइरह्यो । हो, तिनै पात्र हुन्, एमाले नेतृ पवित्रा निरौला खरेल ।

आस्थाकी पुञ्ज

नेपाली कम्युनिष्ट राजनीतिमा सक्रिय भएर तीन दशकको समय बिताइरहँदा पवित्रा एउटा सशक्त राजनीतिज्ञका रुपमा उदाइसकेकी छन् । आर्थिक विपन्नताको कहालीलाग्दो परिवेशबाट हुर्किएर समाजको रुपान्तरणमा अहोरात्र खटिएकी उनी राजनीतिमा प्रवेश चाहने नयाँ पुस्ताका लागि एउटा भरपर्दो पाठशाला हुन् , आस्थाकी पुञ्ज हुन् । फराकिलो सोचाइ भएकी महिला हुन् ।

२०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षबाट प्रारम्भ भएको पवित्राको राजनीतिक यात्रा यतिबेला प्रतिनिधि सभा सदस्यका लागि मङ्सिर २१ मा हुने निर्वाचनको सामुन्ने उभिएको छ ।

दमकको हिमालय माध्यमिक विद्यालय पढ्दै गर्दा इन्द्र बुढाथोकी र पर्शुराम सञ्जेलले सङ्गठित गरेकी पवित्रा सधैँ सशक्त भूमिकामा प्रस्तुत भइन् ।

२०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षबाट प्रारम्भ भएको पवित्राको राजनीतिक यात्रा यतिबेला प्रतिनिधि सभा सदस्यका लागि मङ्सिर २१ मा हुने निर्वाचनको सामुन्ने उभिएको छ ।

त्यो बेला समाजमा हुने थिचोमिचो र अन्यायविरुद्ध उत्रिन तयार भएको विद्यार्थी युवा दस्ताको एउटा दरिलो सिपाही थिइन् पवित्रा । फराकिलो आत्मविश्वास र दृढताले उनलाई राजनीतिको यो यात्रामा कुनै न कुनै जिम्मेवारीमा स्थापित गरिरह्यो ।

२०३८ मा एकताको छैठौ राष्ट्रिय सम्मेलनमा सहभागी हुन राजधानी काठमाडौँ गइरहँदा प्रहरी घेराबन्दीमा परेकी उनी शौचालयमा लुकेर बच्न सफल भइन् । ‘पहिलो पटक राजधानी काठमाडौँ जाँदाको अनुभव थियो त्यो’, उनले भनिन् ।

२०३८ सालतिर अखिल नेपाल महिला सङ्घको गाउँ समिति सदस्य हुँदै उनको राजनीतिक यात्रा अघि बढ्छ । त्यो बेला उनले जिल्ला तयारी समितिको अध्यक्ष हुने मौका पाइन् ।

तर सहज रुपमा पार्टी सदस्यता दिने प्रचलन थिएन त्यस बेला । जनवर्गीय सङ्गठनमा काम गर्ने सबैले सदस्यता पाएका पनि हुँदैनथे । २०४४ सालमा मात्रै उनले पार्टी सदस्यता प्राप्त गरिन् ।

२०४० सालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अबसरमा दमकमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम सकेर इन्द्र बुढाथोकीको घरमा समीक्षा बैठक बसिरहेका बेला उनलाई प्रहरीले पक्राउ गर्यो ।

सोही दिन भएको प्रहरी हस्तक्षेपमा टाउकोमा गहिरो चोट पनि लागेको सम्झना छ उनलाई ।

२६ दिन प्रहरी हिरासतमा बिताउँदा पाएको यातना भनिसाध्य छैन । पवित्रासँगै दीपक कार्की, लीला कट्टेल पनि जेल परे त्यो बेला । विष्णु खँड्का र सीता उप्रेती प्रहरी हिरासतबाटै छुटे । तर पवित्रालाई भने प्रहरीले झापा कारागार चलान गर्यो । तीन वर्षको जेल जीवनपछि २०४३ सालमा उनी मुक्त भइन् ।
दमन र अत्याचारविरुद्ध खरो प्रस्तुती

राज्य सत्ताले गरेको दमन र अत्याचारविरुद्ध उनी अझै खरोरुपमा प्रस्तुत भइन् । उनको हिम्मत झन् बलियो भयो । जेलबाट छुटेपछि झापा धरमपुरका देबी रेग्मीको घरमा बसिरहेका बेला प्रहरीले फेरि घेरा हाल्यो ।

रेग्मीसहित होम गौतम, विश्व बराल, बलजीत राई, होम दङगाल र रेग्मीका छोरा पक्राउ परे । आफू घरबेटी रेग्मीकी छोरी भएको बताएपछि उनी प्रहरी फन्दामा पर्नबाट जोगिइन् ।

२०४४ सालतिरको कुरा हो, पार्टीले उनलाई इलाम पठायो । दुई वर्ष इलाममा बसेर उनले पार्टी काम गरिन् । त्यो बेला इलाम जिल्ला कमिटीकी सदस्य थिइन् पवित्रा । २०४६ सालको आन्दोलनअघि अनेमसङ्घको राष्ट्रिय सम्मेलन भयो ।

उनले झापाबाट प्रतिनिधित्व गरिन् । केन्द्रीय सदस्यमा निर्वाचित पनि भइन् । सम्मेलनले इलाम कारागारमा रहेकी अष्टलक्ष्मी शाक्यलाई सङ्घको अध्यक्ष बनायो । १७ सदस्यीय केन्द्रीय समिति बनेको उनलाई सम्झना छ ।

सपरिबार नै राजनीतिमा

२०४७ सालमा पवित्राको बिहे भयो । उनका बेहुला थिए नरेश खरेल, जो कम्युनिष्ट राजनीतिका एक जना असल र इमान्दार सिपाही हुन् ।

जेलनेल र यातनाको कहालीलाग्दो सङ्घर्षपूर्ण राजनीतिक जीवन बिताएका नरेश इमान्दारिताको कसीमा कहिल्यै घटी छैनन् । उनी आदर्श राजनीतिका अग्ला पुरुष हुन, निष्ठाका प्रतिमूर्ति हुन्, जो कहिल्यै कसैलाई बिझाउँदैनन् ।

‘उहाँसँग चिनजानै थिएन’, एउटा भेटमा पवित्राले भनिन्, ‘पार्टीले नै हाम्रो बिहेको चाँजोपाँचो मिलाई दियो । खुशीसाथ हामी बैवाहिक जीवनमा प्रवेश गर्यौ ।’

२०५४ सालमा जिल्ला विकास समिति झापाको मनोनित सदस्य हुन् पवित्रा । यसबाहेक सामाजिक सङ्घ संस्थामा उनको संलग्नता र योगदान पनि उत्तिकै छ ।

विर्तामोड खानेपानी तथा सरसफाई समितिमा पवित्राले १० वर्ष बसेर काम गरेकी छन् । एक कार्यकाल कोषाध्यक्ष र अर्को कार्यकाल उपाध्यक्षको सशक्त भूमिकामा देखिएकी उनी जनताका बीचमा काम गर्न रमाउँछिन् । त्यसैमा जीवनको खुशी मिल्छ उनलाई ।

जनअनुमोदित हुने चाहना

उनी आफ्नो जिम्मेवारीलाई प्रतिनिधिसभा सदस्यका रुपमा फराकिलो पार्न चाहन्छिन् । ‘जनताबाट अनुमोदित प्रतिनिधिका रुपमा काम गर्ने मेरो इच्छा हो’, उनले भनिन् ,‘जनताप्रतिका सबै अभिभारा र जिम्मेवारी पूरा गर्न अब म परिपक्व छु जस्तो लाग्छ ।’
२०६६ सालमा एमाले जिल्ला कमिटी सचिव भएकी पवित्रा निरन्तर पार्टीमा क्रियाशील छिन् ।

त्यसयता उनले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य बनेर काम गरिन् । अनेमसङ्घको केन्द्रीय सदस्य भएर भूमिका निर्वाह गरिन् । अहिले एक नम्वर प्रदेश कमिटीको सदस्यका रुपमा उनको जिम्मेवारी छ ।

उनी आफ्नो जिम्मेवारीलाई प्रतिनिधिसभा सदस्यका रुपमा फराकिलो पार्न चाहन्छिन् ।

‘जनताबाट अनुमोदित प्रतिनिधिका रुपमा काम गर्ने मेरो इच्छा हो’, उनले भनिन् ,‘जनताप्रतिका सबै अभिभारा र जिम्मेवारी पूरा गर्न अब म परिपक्व छु जस्तो लाग्छ ।’ त्यही भएर पनि उनले झापा क्षेत्र नम्वर–२ का जनतालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरेकी छन् ।

त्यो बेलाको समाजको साँघुरो घेराबाट उम्किएर नेपाली महिला दिदीबहिनीको स्वतन्त्रता र स्वाभिमानका खातिर गरेको योगदानको मूल्याङ्कन जनताले गर्छन् जस्तो लाग्छ उनलाई ।

‘यस क्षेत्रका महिला दिदीबहिनीप्रति म अझै बढी आशा र भरोसामा परेकी छु’, उनले भनिन्, ‘दाजुभाईको सहयोग मेरा लागि झन् अपरिहार्य छ ।’

समाजको आर्थिक विकास र समृद्धिका लागि मेरिमेट्ने महिला हस्ताक्षर हुन् पवित्रा । दृढ आत्मविश्वास, इमान्दारिता र सरलता उनका विशेषता हुन् ।

सरल जीवन शैलीका बीच उनको राजनीतिक यात्रा अघि बढिरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )