उपचार अभावमा तीन महिनादेखि साङ्लोमा सुरेन्द्र

झापा । मानसिक रोगले थलिएका हल्दीबारी गाउँपालिका–२ का ३६ वर्षीय सुरेन्द्र राय तीन महिनायता फलामे साङ्लोमा बाँधिएका छन् । उपचार खर्चको अभावका कारण उनलाई साङ्लोमा राखिएको जनाइएको छ ।

विगत ४/५ वर्ष अघिदेखि उनी रिँगटा लाग्ने, बेहोस् हुने जस्ता समस्याबाट पीडीत थिए । गत जेठदेखि सुरेन्द्रको मानसिक सन्तुलन गुमेको उनकी श्रीमती उमा रायले बताइन् ।

स्थानीय चिया बगानमा ज्यालादारी रुपमा पत्ति टिप्ने काम गर्ने उमाले ६ वर्षका समीर र २ वर्षका सुवी रायको पालनपोषण समेत गर्दै आएकी छिन् ।

खर्च अभावको कारण उपचार गर्नुको सट्टा आफन्त र छिमेकीले सुरेन्द्रलाई जोखिमबाट बचाउनका लागि यसरी साङ्लीमा बाँधेर राख्न बाध्य भएको बाबु होमबहादुर रायले बताए । अत्यन्तै न्यून आर्थिक अवस्थामा रहेको राय परिवारले बिरामीलाई यसअघि गत भदौ महिनामा बिर्तामोड लगेर चेकजाँच गराएको जनाइएको छ ।

भत्किसकेको फुस्को घरमा जीविको पार्जन गर्दै आइरहेको राय परिवारलाई हाल बिहान–बेलुका जाउलो खानसमेत समस्या छ । इन्सेक जिल्ला प्रतिनिधी अर्जुन बस्नेत र मानव अधिकार महिला सञ्जाल झापाकी अध्यक्ष कविता शर्माले घटनाको विषयमा जानकारी पाएपछि कात्तिक २६ गते स्थलगत अध्ययन गर्नको लागि पीडितको घरमा गएका थिए ।

सुरेन्द्रकी श्रीमती, बुबा र छिमेकीले खर्च अभावका कारण झनै जटिल समस्या पर्दै गइरहेको भन्दै उपचारको लागि सहयोग गरिदिन मानव अधिकारकर्मीहरुसँग आग्रह गरेका थिए । विरामी रहेका सुरेन्द्रको दायाँ खुट्टामा दुईवटा ताला लगाएर चाबी बन्द गरिएको साङ्लो घरको खाँबोमा बाँधेर दैनिकी चलिरहेको छ । उनले दिसा, पिसाव समेत सोही ठाउँमा गर्ने गरेको स्थानीय लेखनाथ पौडेलले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (1 )