झापाका सिडिओले टेलिभिजनकर्मीलाई भिडियो खिच्न रोक लगाएपछि….

झापा । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आफ्नो कार्यकक्षभित्र टेलिभिजन पत्रकारलाई भिडियो खिच्न रोक लगाएका छन् । सोमबार नेपाली कांग्रेसले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदा समाचारका लागि भिडियो खिच्न गएका ‘एपी वान’ टेलिभिजनका क्यामरा पर्सन विष्णु श्रेष्ठ सहितका टेलिभिजनकर्मीलाई ज्ञापनपत्र बुझाएको भिडियो खिच्न रोकेका हुन् ।

‘त्यो क्यामरा बन्द गर, भनेर तीन पटकसम्म प्रमुख जिल्ला अधिकारी दाहालले क्यामरा बन्द गर्न लगाए,’ एपी वानका क्यामरा पर्सन विष्णु श्रेष्ठ भन्छन् । यसबेला प्रमुख जिल्ला अधिकारी दाहालले क्यामरा बन्द गर्न टेलिभिजन पत्रकारलाई ठाडो रुपमा बारम्बार निर्देशन दिएका थिए ।

उनले ‘मोबाइलबाट खिचे खिच्नुस्, टेलिभिजनको क्यामराबाट खिच्न मेरो कक्षमा दिन्न’ भन्दै सञ्चारकर्मीलाई बारम्बार भनिरहे । प्रमुख जिल्ला अधिकारी दाहालसँग यसबारे जिज्ञासा राख्दा उनले यो आफ्नो कक्ष भएकाले यस भित्र आफ्नो पूर्ण अधिकार हुने भन्दै सोमबार टेलिभिजनका क्यामरा बन्द गर्न लगाएको स्वीकार गरे ।

‘मेरो कक्षमा मेरो अधिकार हो, टेलिभिजनले लाईभ गर्छन्, म लाईभ गर्न दिन्न, मोबाइलबाट खिच्न रोक लगाएको होइन, टेलिभिजनको क्यामरा बन्द गर्न मैले नै लगाएको हो,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने । यो सरकारकै निर्णय र निर्देशन भएको समेत दाहालको दावी छ । उनले कांग्रेसले बुझाएको ज्ञापनपत्र लिइरहँदा त्यहाँ पुगेका नेता कार्यकर्ताले भने मोबाइलबाटै फेसबुक लाईभ गरिरहेका थिए भने फोटो र भिडियो समेत खिचिरहेका थिए । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )