सताक्षीधाम स्पोर्टिङ क्लबसँग चर्च ब्वाइज स्तब्ध

झिलझिले ।  आधा दर्जन राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको आयोजक टोली सताक्षीधाम स्पोर्टिङ क्लब झापाको शिवसताक्षीस्थित झिलझिलेमा जारी दोस्रो संस्करणको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  काठमाडौँको चर्च ब्वाइजलाई ३–० को फराकिलो गोलअन्तरले पाखा लगाउँदै आयोजकले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो ।

झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा बिहीबार भएको खेलमा आयोजकसामु चर्च ब्वाइज निरीह देखियो । यद्यपि, पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् ।

राष्ट्रिय खेलाडीहरुले भरिएका कारण आयोजक टोलीले चर्च ब्वाइजलाई पहिलो हाफभर दबाबमा राख्न सफल भयो । विमल घर्तीमगर, अनन्त तामाङ, विक्रम लामा, विशाल श्रेष्ठ, हेमन्त थापा मगर, रजिन लिम्बूजस्ता प्रभावशाली खेलाडी आयोजकका तर्फबाट खेलेका छन् । जसका कारण चर्च ब्वाइजले पहिलो हाफमा आयोजकविरुद्ध गोल गर्ने अवसरसमेत सिर्जना गर्न सकेन ।

दोस्रो हाफमा दुबै टोली आक्रमक बने पनि गोलको खाता खोल्न भने आयोजक सफल भयो । दोस्रो हाफको ९औँ मिनेटमा विमल घर्तीमगरले गोललाई जाली चुमाउँदै आयोजकलाई १–० को अग्रता दिलाए । अनन्त तामाङको हेड पासमा विमलले गोल गरेका हुन् ।

दोस्रो हाफको २२ औँ मिनेटमा आयोजकका सुनिल बलले गोल थप्दै गोलअन्तर दोब्बर पारे । उनले डि–एरियाको नजिकबाट फ्रि–किकमार्फत गोललाई जाली चुमाएका हुन् । ३१औँ मिनेटमा विमलले पुनः गोल गरी ३–० को स्पष्ट जित सुनिश्चित गरे । उनले एक्लो प्रयासमा सुन्दर ढंगले गोल गरेका हुन् ।

यसअघि खेलको १८औँ मिनेटमा आयोजक टोलीका हेमन्त थापा मगरको फ्रि–किक बाहिरिएको थियो । लगत्तै आयोजककै तीर्थ बस्नेतले पनि सुन्दर अवसरलाई गोलमा परिणत गर्न सकेनन् ।

३२ औँ मिनेटमा सताक्षीधामका विमल घर्तिमगरको सुन्दर पासलाई सदुपयोग गर्न तीर्थ फेरि चुकेका थिए । दोस्रो हाफको १६औँ मिनेटमा आयोजकका विमलले डि–बक्सभित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोलरक्षक बाबु मगरले बचाए । दोस्रो हाफभर चर्च ब्वाइजका गोलरक्षक व्यस्त देखिन्थे । दोस्रो हाफमा चर्च ब्वाइजले पनि केही मौकालाई सदुपयोग गर्न सकेन । खेलमा रेफ्री नविन्द्र महर्जनले ४ वटा पहेँलो कार्ड प्रयोग गरेका थिए ।

खेलको म्यान अफ द म्याच आयोजक टोलीबाट २ गोल गर्ने विमल घर्तीमगर घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगिताअन्तर्गत शुक्रबार हुने खेलमा मोरङ–११ र रुपन्देही–११ बीच भिडन्त हुने फुटबल प्रशिक्षक एवम् म्याच कमिस्नार भगिरथ आले मामाले जानकारी दिए । १० वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेता टीमले दुई लाख पचास हजार हात पार्नेछ ।
शिवसताक्षीमा खेलकुद एकाडेमी सञ्चालन गर्ने उद्देश्यसहित स्थानीयस्तरबाट आवश्यक स्रोत व्यवस्थापन गरी प्रतियोगिताको आयोजना गरिएको आयोजक सतासीधाम स्पोर्टिङ क्लवका अध्यक्ष रमेश लावतीले बताए ।

आयोजक सतासीधाम स्पोर्टिङ क्लवले यस वर्ष प्रतियोगिता सञ्चालनबाट ३१ लाख ५० हजार रुपैयाँ बचत गर्ने लक्ष्य राखेको छ । बचत रकमबाट कोषमा १० लाख रुपैयाँ राखेर बाँकी रकम खेलकुद एकाडेमी सञ्चालनका लागि खर्च गरिने क्लवका आर्थिक समिति संयोजक गणेश प्रधानले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )