भारतीय ओरियन्ट्स कम्पनीको औषधि नेपालमा कारोबार गर्ने गिरोहको पर्दाफास, झापामा १३ महिलासहित २१ जना पक्राउ

भारतीय ओरियन्ट्स कम्पनीको औषधि नेपालमा कारोबार गर्ने गिरोहको पर्दाफास, झापामा १३ महिलासहित २१ जना पक्राउ

झापा । प्रतिबन्धित नेटवर्किङ व्यवसायमा संलग्न गराउँदै सयौं युवालाई ठगी गरेको आरोपमा झापाको मेचीनगरबाट १३ महिलासहित २१ जना पक्राउ परेका छन् । भारतीय कम्पनी ओरियन्ट्स ग्लोबल मार्केटिङ प्रालिमा आवद्ध हुनेहरुलाई प्रहरीले पक्राउ गरेको हो । ओरियन्ट्स ग्लोबल मार्केटिङ मार्फत नेटवर्किङको काम गर्दै आएका उनीहरुलाई झापाको धुलाबारीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

धुलाबारीस्थित खुट्टेडाँगीमा कोठा भाडामा लिएर नेटवर्किङमा संलग्न भएको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । पक्राउ पर्नेमा १३ महिला र ८ जना पुरुष रहेका छन् । उनीहरु १७ देखि २० वर्ष उमेर समूहका रहेको बताइएको छ ।

पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अधिकांश कैलाली, सल्यान, दाङ, बैतडी लगायतका युवायुवती रहेको बताइएको छ । उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन् ।

पूर्वी नाका कांँकरभिट्टा हुँदै भारत जान लागेका उनीहरुलाई शंका लागेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भारतमा मानव तस्करले बेच्न लागेको आशंका गरिएपनि उनीहरु नेटवर्किङ ब्यवसायमा संलग्न भएको पक्राउ पछि खुलेको प्रहरीले जनाएको छ ।

भारतको गोरखपुरमा मुख्य कार्यालय रहेको तथा अन्य विभिन्न स्थानमा कार्यालय विस्तार गरेको ओरियन्ट्सबाट गाउँगाउँका सयौं नेपाली युवा ठगिएको र करोडौं रकम बाहिरिएको अनुमान गरिएको छ । ठगी धन्दामा कम्पनीले नेपालीहरुलाई नै प्रयोग गरिरहेको पाइएको छ । विभिन्न प्रलोभन देखाएर आठ हजारसम्म भारतीय रुपैयाँ लिई एक साताको तालिम दिएर हजारौंको औषधि बोकाएर उनीहरुलाई गाउँगाउँमा विक्रीका लागि पठाउने गरिन्छ ।

शुल्क बुझाई तालिम लिएपछि उनीहरु सदस्यको रुपमा त्यस कम्पनीमा भित्रिन्छन् र अरुलाई पनि सदस्य बनाउँदै कम्पनीको सामान बेचेर व्यापार बढाउँदै आएका छन् । यस्तो काममा नजिकैको साथीले लोभ्याएपछि त्यहाँ पुग्ने गरेको केही पीडितहरुले बताएका छन् । मेचीनगरमा पक्राउ पर्नेहरु प्रतिबन्धित नेटवर्क व्यवसायमा सम्लग्न भई अरुलाई पनि आवद्ध गराउने कार्यमा अग्रसर रहेको बताइन्छ । कम्पनीले नेपालको झापासहित विभिन्न जिल्लामा घर तथा फ्ल्याट नै भाडामा लिएर नेपाली ठग्न नेपाली युवा नै प्रयोग गरिरहेको पाइएको छ । उक्त कम्पनीको नेटवर्क र व्यापार अन्तर्गत हप्तामै करोडौं नेपाली रकम त्यहाँ जम्मा हुने गरेको छ ।

नेटवर्किङ व्यवसाय सञ्चालन गरी भारतीय कम्पनीका लागि नेपालमा सञ्जाल विस्तारमा सक्रियको संख्या यति नै छ भन्ने तथ्यांक छैन । सदस्य बनिसक्दा पनि धेरैलाई कम्पनीबारे त्यति थाह हुँदैन । जतिधेरै सदस्य बनाउन सक्यो उति धेरै कमिशन बढ्दै जाने भन्ने गरिएकाले नेपाली युवा लोभिएर ठगीमा पर्दै आएको बताइन्छ । प्रहरीका अनुसार नेटवर्किङ व्यवसाय चलाउने भारतीय कम्पनी गाउँ केन्द्रित भई त्यहाँका सोझा युवालाई धेरै कमाई हुने लोभ देखाएर फसाई रहेका छन् ।

यसअघि पनि विभिन्न नामका भारतीय कम्पनीबाट नेपाली ठगिँदै आएका थिए । प्रहरीले एक क्षेत्रमा निगरानी बढाएपछि अर्को क्षेत्रमा उही कम्पनी वा अर्को कम्पनीका नाममा सञ्जाल विस्तार गर्ने गरिएको पाइएको छ । ओरियन्ट्समा सदस्य बन्न नेपालीले ८० हजारदेखि दुई लाख भारतीय रुपैयाँसम्म तिर्ने गरेको बुझिएको छ ।

सदस्य बनेपछि धेरै कमाई हुने र कमिशन आउने बताउने गरिए पनि ठूलो परिमाणमा कमाई गर्ने कोही पनि भेटिएका छैनन् । स्रोतका अनुसार सदस्य बनेकालाई अरु सदस्य खोज्न लगाइन्छ । उनीहरुलाई थप सदस्य बनाउन सके रकम फिर्ता हुने र नबनाए सबै लगानी फिर्ता नहुने बताउने गरिएको छ । सदस्य बन्न जानेलाई कुनै स्थानको ठूलो महल देखाएर कम्पनीबाट कमिशन आउन थालेपछि खरिद गरेकोसम्म भनेर प्रलोभन देखाउने गरिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )