एक सातामै भत्कियो सडकको नाला

एक सातामै भत्कियो सडकको नाला

बिर्ताज्योती ब्यूरो
झापा । हिउँदभरी आँखा चिम्लेर बस्ने ठेकेदारहरु आसार लागे पछि भ्याइनभ्याई हुन्छन् । किनकी काम लतरपतर गरेर असार मसान्तमा पैसा निकासा गराउनु छ । यस्तै भएको छ झापाको भद्रपुर–८ स्थित शान्तिचौकनजिक निर्माण भएको सडकको नाला निर्माण भएको एक साता बित्न नपाउँदै भत्किएको छ ।

असारमसान्त सकिन लाग्दा बजेट निकासा गर्न हतारमा गरिएको गुणस्तरहीन कार्यले सडकको नाला भत्किएको स्थानीयको दाबी छ ।

भद्रपुर—धुलावारी सडक खण्ड अन्र्तगत भद्रपुर–८ स्थित शान्ति चौक अगाडी झण्डै एक सय मिटर सडकको नाला धसिएर पल्टिएको हो । श्रेष्ठ रसुवा एपेक्स जेभीले निर्माण गरेको सो सडकको नालीको पर्खाल कमसल निर्माण सामाग्री प्रयोग गरेका कारण पल्टिएको स्थानीयको दाबी छ । यसै साता निर्माण कार्य सकेर सम्पन्नको प्रतिवेदन सघन सहरी विकास कार्यालय झापालाई बुझाई भुक्तानी दिने तयारी गरिरहेका बेला सडकको नाला भत्किएको छ । अहिले निर्माण कम्पनीले भत्किएको सडक नाला धमाधम निकालिरहेको छ ।

निर्माण अवधिमै नालीका वाल चर्कन थालेपछि कामको गुणस्तरमा स्थानीयले प्रश्न उठाएका थिए । स्थानीयकाअनुसार नाला निर्माण गर्दा आधार ग्राभेलिङमा मिक्स गिटी प्रयोग गर्नुपर्नेमा माटो मिसिएको धुलो बालुवाले पुर्ने काम भएको थियो । गिटी, बालुवा र सिमेन्टको परिणाम समेत सम्झौता बाहिर गएर ढलानमा ठुला ठुला ढुंगा प्रयोग गरिएकाले नाला एक हप्तापनि नटिकेको स्थानीयको भनाई छ । ‘इन्जिनियरको जस्तो प्राविधीक कुरा त हामी बुझ्दैनौँ’ स्थानीय सुकिलाल राजवंशीले भने, ‘तर काममा धेरै नै लापरवाही भयो ।’

यस अघि नै काम गुणस्तरहीन भएको भन्दै सघन सहरी विकास कार्यालयमा स्थानीयको तर्फबाट हेम घिमिरेले एक महिना अगाडि निवेदन दिएर गुणस्तरीय काम गराइदिन अनुरोध सहित उजुरी दिएका थिए । तर, केही दिन काम रोके जस्तो गरेको नियामक सघन सहरी विकास कार्यालयले असार दोस्रोसाताबाट काम सुचारू गराइ भुक्तानीको बाटो खालिदिएको थियो । प्राविधिक पक्षको साथपछि निर्माण कम्पनीले कमसल काम गर्दा समस्या आएको स्थानीयको गुनासो छ ।

यता निर्मा कम्पनीका प्राविधिक सुदिप बानियाँ भने वर्षाद्का कारणले सडकको नालीको निर्माणाधीन पर्खाल ढलेको दाबी गर्छन् ।

सघन शहरी विकास कार्यक्रम अन्र्तगत भद्रपुरमा ६ वटा प्याकेजमा निर्माण भइरहेको पहिलो, दोस्रो र तेस्रो चरणको काम सम्पन्न भएको भनिएको छ । तर, निर्माण सकिएका अन्य स्थानमा समेत नाला भत्कने, चर्कने र धसिने गरेको छ ।

तर, नियमनकारी निकाय सघन सहरी तथा भवन निर्माण आयोजना भने निर्माण कम्पनीको बचाउँ गर्दै उक्त नाला वर्षाद्का कारणले ढलेको दाबी गर्छ । ‘नालामा ब्याक फिल (नाला साइटमा माटो भरिएको) नभएकाले पानीले लडाएछ’ सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख विदुर खड्काले भने, ‘भुत्तानी दिने प्रक्रियामा थियौँ, अब काम गराएर मात्रै दिने हो ।’

बहुवर्षे आयोजना अन्र्तगत ६ वटा प्याकेजमा २५ वटा योजनाका कामहरू पक्की नाला निर्माण सहित सडक विस्तार भईरहेको छ । दुई अर्व रुपैयाँमा ५ वर्ष भित्र भद्रपुर नगरपालिका भित्र रहेका साना तथा साँघुरा सडक फराकिला बन्ने निर्धारित लक्ष्य छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (1 )