प्रेम जालमा खर्लप्प, १ लाख ५० हजारको लागि प्रेमको नाटक गरेको खुलासा

प्रेम जालमा खर्लप्प, १ लाख ५० हजारको लागि प्रेमको नाटक गरेको खुलासा

शम्भु दाहाल
झापा । प्रेमजालको पासोमा परेर कतिपयले आफ्नो घरबार देखि जीवन नै समाप्त पारेका घटना पर्याप्त छन् । खासगरी पर्याप्त सम्पत्ति भएका घरका युवा, पुरूषहरू यसरी प्रेमजालमा परी बर्बाद भएका छन् ।

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गर्दै माया प्रेमको नाटक मञ्चन गरेर ठग्ने क्रम बढेको छ । यसै बहानामा कतिले परिवार गुमाएका छन् त कतीले जिन्दगी भरी कमाएको पैसा र इज्यत मायाकै जालमा जेलिएर गुमाएका घटना धेरै छन् ।
झापा बिर्तामोडका एक व्यवसायीलाई ‘हनिट्रयाप’मा पार्दै ४० लाख रकम माग्ने चार जनालाई प्रहरीले गत मंगलबार
सार्वजनिक गरेको थियो । पैसा कमाउनकै लागि योजनाबद्ध रुपमा रुपमा व्यवसायीलाई केटीको प्रयोग गर्दै रकम असुल्न खोज्दा उनीहरु उल्टै फँसे । व्यवसायीको हैसियतभन्दा बढी रकम डिमाण्ड गरेपछि योजनाकारहरु फँसे ।

प्रहरीले बिर्तामोड–४ घर भएका मिराज खान, इलाम घर भए बिर्तामोड–२ मा बस्दै आएकी ऋतु फियाक लिम्बु, भारत पश्चिम बङ्गाल, जिल्ला दार्जीलिङका सञ्जय क्षेत्री भनिने सुजन शङ्कर र बिर्तामोड–४ का प्रकाश दासलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने काशिद शेख आलमलाई फरारको सूचीमा राखेर खोजी गरिरहेकोे छ । बिर्ताज्योतीले यसपटकको विशेष खोजमा यो काण्डका सम्लग्न भएकाहरुको बारेमा तथ्य बाहिर ल्याउने कोशिष गरेको छ ।

मिराज खान

बिर्तामोडमा लामै समयदेखि बसोबास गर्दै आएका खान केही वर्ष पहिलासम्म ग्यारेजमा काम गर्ने गर्थे । अहिले मोटरसाइकलको रिकण्डिसन हाउस चलाउने खानसँग करोडौँको सम्पत्ति अचानक बढेको स्रोतले बतायो । देखावटी रुपमा रिकण्डिसन हाउस सञ्चालन गरे पनि खानले व्यापारीसँग मिटर ब्याजमा लाउने गरेको जानकारहरु बताउँछन् । पैसा मिटर ब्याजमा लाउने र पहिलेनै जबरजस्ती चेक कटाउने गरेका खानको साथबाट ५० वटाभन्दा बढी त्यस्ता चेकसमेत अनुसन्धानको क्रममा प्रहरीले फेला पारेको छ ।

यो घटनाको मुख्य योजनाकार पनि खान नै रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी मोहनकुमार थापाले बताए । खानले यस घटनामा सम्लग्न व्यापारीको पनि तीन लाख रुपैयाँ पैसा चलाएको स्रोतले बतायो । खानले सुजन शङ्करको समेत ११ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । खानले शङ्करलाई व्यापारी फसाउने योजना सुनाएर आधा हिस्सा दिने बताएपछि शङ्करले भारतमा रहेकी उनकी प्रेमिका ऋतु फियाक लिम्बुलाई बोलाएका थिए ।

सञ्जय क्षेत्री भनिने सुजन शङ्कर

कही समय अघिसम्म बिर्तामोडको कृषिथोकमा एक होटल सञ्चालन गरी यौनजन्य गतिविधि गराउने गरेका शङ्कर र उनकी श्रीमतीलाई प्रहरीले मानबेचबिखन मुद्दा चलाएको थियो ।

झापा जिल्ला अदालतले दुई वर्षअघि १० वर्ष कैद फैसला सुनाए पनि शङ्कर फरार रहेका थिए । उनकी श्रीमती सुस्मा चौधरी भने अहिले जेलमा नै रहेकी छन् । त्यहीबेला होटलमा आइजाई गर्ने गरेकाले शङ्करको चिनजान ऋतुसँग भएको जानकारहरु बताउँछन् । श्रीमती जेल गएसँगै उनीसँगको भेटघाट प्रेममा परिणत भएको हो ।

ऋतु फियाक लिम्बु
इलाम घर भएकी लिम्बु पहिले बिर्तामोड नै बस्थिन् । अहिले दिदिसँग भारतमा बस्दै आएकी उनी यही कामको लागि पे्रमीसँग १ लाख ५० हजारमा डिल गरि आएको प्रहरीले जनाएको छ । बागडोग एयर पोटमासम्म उनललाई लिन पुगेका खान र शङ्कर पुगेका थिए । बागडोगाबाट बिर्तामोडसम्म आउँदा गाडीमै सबै योजना खानले लिम्बुलाई बुझाएको प्रहरीले बतायो । सोही योजना अनुसार नै उनले व्यवसायीलाई मायाजालमा फसाएर भेट्न बोलाएकी थिन् ।

के हो ‘हनिट्रयाप’ ?
यसलाई अपराधको अर्को रूप ‘हनिट्रयाप’ भन्ने गरिएको छ । युवतीहरू प्रायः सुन्दर, खानदानी देखिने र सेक्सी समेत बन्छन् । जो चाँडै प्रेम बन्धनमा बाँधिएको नाटक गर्छन् । युवक अथवा पुरूषले प्रस्ताव राख्न हिचकिचाए पनि प्रस्ताव राख्छन् र कुनै नाटक गरी समस्या सुनाउँछन् । समस्या सुनाउँदा पनि काम नभए अपहरण गरी रकम हात पार्छन् ।

प्रायः यस्ता युवतीको गिरोह नै हुन्छ । भारतमा यस्तो गिरोहको ठूलो सञ्जाल छ, जुन नेपालसम्म विस्तार भइसकेको छ । यो अलग प्रकारको अपराध हो । यसमा प्रेमजालको पासो थापेर लुट्नेर भाग्ने या हत्या गर्नेसम्मका काम हुन्छन् ।
यस्तो गिरोहले सम्बन्धित व्यक्तिलाई लामो समयदेखि अध्ययन गरेर उसको पछि लागेको हुन्छ । कुनै न कुनै बेला आफ्नो जालमा फँसाएर ब्ल्याकमेलिङ गर्ने, त्यसले पनि काम नगरे अपहरणसम्म हुने गरेका कतिपय घटनाका प्रकृतिले पुष्टि गर्छ । कतिपय घटना उच्च घरानीय धनाढ्य अथवा व्यापारी व्यवसायीले प्रहरीसम्म आउन नदिने वा नचाहने पनि हुनसक्छ । यसकारण यो प्रकृतिको अपराध भइरहेको हुन्छ ।

लुटपाटका लागि मात्र नभएर कतिपय राष्ट्रिय सुरक्षाका गोप्य जानकारी लिनका लागि सुरक्षा अधिकारीलाई पनि ‘ हनिट्रयाप’को माध्यमबाट फसाउने गरिँदै आएको छ । हनिट्रयाप रुसबाट सुरु भएको थियो । अमेरिकाका गोप्य जानकारी हात पार्नका लागि सीआइए अधिकारीबाट सूचना चुहाउन रुसले राम्री युवतीहरू खटाउने गर्दथ्यो । जसमा अधिक सफलता मिलेको भन्ने चर्चा रुसमा भयो । कुटनीतिक, सुरक्षा संयन्त्रका वैधानिक जानकारीका लागि अवैध हिसाबका मिसनका रूपमा सुरु गरिएको हनिट्रयाप नेपालसम्म आइपुग्दा अपराधको एउटा नयाँ श्रृङ्खला बनिसकेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )