कम्युनिष्टलाई जिताए मात्र परिवर्तन सम्भवः श्रीप्रसाद मैनाली

मेचीनगर । झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम कार्की र प्रदेशसभा २ का उम्मेदवार गोपाल बुढाथोकी शुक्रवार मेचीनगर–१२ का विभिन्न टोलमा आयोजित चुनावी कोणसभामा ब्यस्त रहे ।

चुनावी प्रचारप्रसार कार्यक्रमलाई तीब्रता दिने क्रममा उम्मेदवारहरुले धाइजनका मतदातासँग भेट गरेका छन् । वडाको कालिझोडा चोकमा आयोजित कोणसभामा बोल्दै प्रतिनिधिसभा सदस्यका उम्मेदवार कार्कीले समाजमा दुई खालका मान्छेहरु रहेको बताए ।

‘यहाँ हुने खाने र हुँदा खाने वर्गबीच लडाइँ छ,’ उनले उदाहरण दिँदै भने– ‘चिया बगानमा गयौँ भने त्यहाँ चिया टिप्ने छन्न, अर्को थरिका मान्छे सिसाको घरभित्रबाट हेर्ने खालका छन् ।’

कार्कीले चिया बगानको जस्तै राजनीतिक पार्टीमा पनि दुई थरीका प्रवृत्ति रहेको बताए । उनले एउटा पक्ष गरी खाने र अर्को शोषक वर्ग रहेकाले कतातिर लाग्ने त्यो आफैंँले फैसला गर्ने दिन आएको बताए ।

‘उनीहरुसँग टिभी छ, रेडियो छ, हामीसँग के छ त भन्दा सङ्ख्या बढी छ, त्यो सङ्ख्या बढी भयो भने हामीले जित्छौँ ।’
नेता कार्कीले राजनीतिलाई डोजरको संज्ञा दिँदै डोजरले माटो सम्याउने काम गरेजस्तै कम्युनिस्टले मात्र त्यो चलाउन सक्ने दाबी गरे ।

कार्कीले आफूलाई टुरिस्ट नेता भनेकोप्रति कडा आपत्ति जनाउँदै जन्म र मृत्यु आफ्नो हातमा नहुने बताए । उनले भने– ‘जन्म, मृत्युको टुङ्गो छैन, कोही मोरङबाट यता आउँदा आउँदै बाटैमा मर्न सक्छन् त कोही सिलगडीको नर्सिङ होममा जन्मिन्छन्न, के अब उनीहरु टुरिस्ट भए त ?’

२०३५ सालदेखि राजनीतिमा क्रियाशील रहँदै आएको चर्चा गर्दै उनले झापालाई राजनीतिको कर्मभूमि बनाएको बताए । ‘मेरो घर यहीँनेर छ । तर, राष्ट्रिय राजनीतिको दौरानमा सबैतिर पुग्नुपर्ने बाध्यता मेरो छ, यसबीचमा म धैरै पटक आएँ गएँ ।’

कार्यक्रममा निर्वाचन परिचालन कमिटीका क्षेत्रीय संयोजक विष्णु प्रसाईं, रमेश भट्टराईलगायतले बोलेका थिए ।
दुवै उम्मेदवारले चारआली, सहरेडाँगी, कालिझोडालगायतका विभिन्न स्थानमा घरदैलो तथा कोणसभा गरेका छन् ।

यस्तै, प्रदेशसभा २ का उम्मेदवार श्रीप्रसाद मैनालीले मेचीनगर– ३ का मतदातासँग शुक्रबार भेटेका छन् ।
वडाका विभिन्न चोकमा आयोजित चुनावी कोणसभामा बोल्दै उम्मेदवार मैनालीले विकासप्रेमी उम्मेदवारलाई जिताउन आव्हान गरे ।

उनले सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीका उम्मेदवारलाई जिताए मात्र परिवर्तन सम्भव हुने बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Disqus (0 )