साम्यवाददेखि साम्यवादसम्म

साम्यवाददेखि साम्यवादसम्म

लक्ष्मी गौली

कार्ल मार्क्स श्रम सम्बन्धको आधारमा समाजलाई पाँच भागमा बिभक्त गरेका छन् । आदिम साम्यवाद ,दास युग ,सामन्तवादी युग ,पुँजीवादी युग र साम्यवादी युग । संसारको प्रारम्भिक समाजमा निजी सम्पत्तिको अस्तित्व थिएन । सबै जना मिलेर सिकार मार्नु पर्ने , थोरै हतियार हुने, त्यो पनि समूहको स्वामित्वमा हुने गथ्र्यो । त्यो आदिम साम्यवाद थियो । आदिम् साम्यवादको समयमा मानिसहरुसँग घर थिएन । भण्डारहरु पनि थिएनन् । त्यसैले भोलिको लागि भण्डारण गर्ने चलन थिएन । आजको लागि आजै, भोलिको लागि भोलि नै शिकार गर्नु पथ्र्यो । शिकार सबैमा बराबर बाढिन्थ्यो । बिस्तारै आगोको आविष्कार भयो । मानिसहरु समूह समूहमा बस्न थाले । समूहको नेतृत्व एक जनाले गर्न थाले ।

अनि सुरु भयो दास युग । यस युगमा एक समूहले अर्को समूह माथी हमला गर्न थाल्यो । जित्नेले हार्नेहरुलाई बन्दी बनाएर काममा लगाउन थाले । बधुवा मजदुरको रुपमा प्रयोग हुन थाल्यो । बधुवा मजदुरलाई उनीहरु मनोरञ्जनको रुपमा प्रयोग गर्न थाले । उनीहरुको चौतर्फी हत्या हुन थाल्यो । बिस्तारै सम्पूर्ण दासहरुमा चेतना प्रवाह भयो र उनीहरुले बिद्रोह गर्न थाले । नारकीय जीवनका विरुद्ध सबैतिर बिद्रोह भयो र दास युगको समाप्त भयो । तर मालिकहरु अझै पनि मालिक नै थिए । उनीहरुको अस्तित्व समाप्त भने भएको थिएन ।

मालिकहरुले उनीहरुलाई काममा लगाउने तरिका हेरफेर गरे । पहिला बाधेर काममा लगाउथे भने पछि केहि टुक्रा जमिन दिएर काम लगाउन थाले । त्यो युग सामन्तवादी युग थियो । सामन्तवादी युगमा श्रमिकहरुको शोषण अनेकौ तरिकाबाट हुन थाल्यो । पहिला अन्न बुझाउनु पर्ने अवस्था थियो भने बिस्तारै अन्नको ठाउँमा यसलाई बेचेर पुँजी बुझाउनु पर्ने भयो । अनेकौ तबरले आफ्नो शोषण भैइरहेको कारणले भुमीहिनहरुले बिस्तारै बिद्रोह गर्न थाले । सामन्तवादी युगको बिस्तारै अन्त्य हुँदै गयो । तर पूर्ण रुपले अन्त्य भने हुन सकेन ,त्यसका अवसेशहरु हामी माझ अझै पनि देख्न सकिन्छ ।

सामन्तवाद सक्किए पनि सामन्तहरुले श्रम शोषण गर्ने अनेक–अनेक उपाय खोज्न थाले । यसै क्रममा औद्योगिक क्रान्तिको सुरुवात भयो । उत्पादनमा चै सामाजिकिकरण र उपभोगमा निजीकरण गर्ने यस व्यवस्था नै आजको पुँजीवादी ब्यवस्था हो ।
श्रमको मुल्य भनेर उत्पादनको अत्यन्तै कम अंश श्रमिकहरुलाई दिने र ज्यादै ठूलो अंश उत्पादन साधनको स्वामित्व भएकाहरुले राख्ने । यस ब्यवस्थाले विश्वमा झनै धेरै श्रमजीवी वर्गको खुन चुसिरहेको छ । पुँजीवादी व्यवस्थामा श्रमजीवी वर्गको शोषण आज यस चरणसम्म विश्वमा आइपुगेको छ कि विश्वको जम्मा १५ पुँजीपति धनी मान्छेसँग नै विश्वको ५०५ सम्पत्ती रहेको छ । त्यस्तै १० प्रतिशत पँुजीपतिसंँग विश्वको ८५ प्रतिशत पुँजी रहेको छ भने बाँकी ९० प्रतिशत मानिससँग १५ प्रतिशत पँुजी रहेको छ ।

विश्वको ३० प्रतिशत पँुजीपतिसँग विश्वको ९७ प्रतशित सम्पत्ति रहेको छ साथै बाँकी ७० प्रतिशत मानिससँग ३ प्रतिशत मात्रै सम्पत्ती रहेको छ । पुजीवादले पुँजीको बितरण अत्याधिक पक्षपाती ढंगले गर्छ भन्ने कुरा हामी यो तथ्याङक मार्फत देख्न सक्छौ । विश्वका सबै श्रमजीवी वर्गको खुन चुसेर मोटाएको पुँजीवादले धनीलाई अझै धनी र गरिबलाई झन–झन गरिब बनाउदै लगिरहेको छ । विश्वका १५ धनी व्यक्तिसँग विश्वको ५० प्रतिशत सम्पत्ति रहेको छ भने आज पनि विश्वको एक खरब जनसंख्याले दुई छाक मात्र खाना खान पाइरहेको छ । पुँजीपतिहरुले आफ्नो शारिरीक श्रम केहि पनि नगरी उधोग चलाएर एक उधोग माथि अर्को उधोग खोल्ने ,घर थप्ने ,महल बनाउने तर त्यसमा मेहनत गर्ने श्रमिकहरुले भने एक छाक पनि खान नपाउने स्थिति को श्रृजना वर्तमान पुँजीवादले गरेको छ ।

आजको पँुजीवादले सम्पुर्ण प्रकृतिको दोहन गरेर बिकास र उत्पादनको नाममा पृथ्वी नै तहसनहस गरिरहेको हामी प्रस्ट देख्न सक्छौ ।
आदिम साम्यवाद हुँदै दासयुग, दासयुग हुँदै सामन्तवादी समाज र सामन्तवादी समाज बाट पुँजीवादी समाजसम्म आइपुग्दा यो विश्वले लामो यात्रा तय गरिसकेको छ । आजसम्म जति पनि समाजहरु यो विश्वमा अस्तित्वमा रहे ती सबै समाज उत्पादन औजारको स्वामित्व , उत्पादनको बितरणसँग सम्बन्धित छन् ।

हामी आजसम्मको इतिहासबाट के कुरा निस्कर्स निकाल्न सक्छौ भने आदिम साम्यवाद बाहेक हरेक समाजमा पहिलो पुँजीपति बर्गले दोस्रो श्रमिक वर्गलाई शारीरिक तथा मानसिक रुपमा शोषण गरिरहेको छ । दास युगमा मालिकले दासलाई , सामन्तवादमा जमिनदारले भुदासलाई तथा पुँजीवादी समाजमा पुँजीपति वर्गले श्रमिक वर्गलाई । मार्क्सका अनुसार यी दुई बर्गहरु एक आपसमा सधै संघर्ष गरिरहन्छन । दास युगमा दासहरुले बिद्रोह गरे ( विश्व प्रख्याय स्पाटार्कस बिद्रोह ) , सामन्तवादी समाजमा भुमिहिनहरुले बिद्रोह गरे (नेपालको तराईको किसान बिद्रोह) भने पँुजीवादी समाजमा पनि यी दुई बर्ग बिच निरन्तर रुपमा संघर्ष भैरहेको छ र जबसम्म विश्वमा पुर्ण रुपमा साम्यवादी व्यवस्था आएर समाज बर्गहिन बन्दैन तबसम्म श्रम शोषण पनि सकिँदैन ,वर्ग संघर्ष पनि निरन्तर चलिरहन्छ । आजको पुँजीवादको यात्रा पनि सैयौ वर्ष पुरानो भैसकेको छ ।

विश्वमा पुँजीवादसँग लड्ने र समाजवाद हुँदै साम्यवादको लक्ष्य प्राप्तिको लागि धेरै संघर्षहरु भएका छन् । कति संघर्स सफल भए भने कति संघर्षहरु पुँजीवादीहरुबाट बल पूर्वक दबाइए ।
पुँजीवादले एउटा उद्योगले गरेको २० लाख नाफा लाई १६ लाख उद्योगको स्वामित्व भएको मालिक र बाँकी ४ लाख त्यहाँ काम गर्ने मजदुरहरुलाई बाढिदिन्छ भने समाजवादले २० लाख नै त्यहाँ काम गर्ने मजदुरहरुलाई बाढिदिन्छ र उद्योगको स्वामित्व पनि सबैमा बराबर हुन्छ । अठारौं शताब्दीमा सोभियत संघले मार्क्सले देखाएको समाजवादमा हिड्ने कोशिस गरेको थियो ।

तत्कालीन पुँजीवादी विश्वलाई टक्कर दिदै समाजवाद स्थापना कुनै काल्पनिक कुरा होइन रहेछ भनेर प्रमाणित गरेको थियो । वैज्ञानिक क्षेत्रमा पनि अगाडि बढेर बिज्ञानलाई एउटा नयाँ उचाई दिएको थियो । उत्पादन क्षमता अपुग तथा विविध बाह्य साम्राज्यवादिहरुको कारणले विश्व साम्यवादी इतिहासको एउटा आदर्श समाज धेरै समय टिक्न त सकेन तर विश्वमा समाजवादी व्यवस्था सम्भव छ भनेर प्रमाणित गरेको थियो ।

मार्क्सवाद विश्वभरी प्रचारित र लोकप्रिय भएपछि समाजवादको नाममा विश्वमा धेरै दक्षिणपन्थी पार्टीहरु पनि देखा परेका छन् । अक्टोबर क्रान्तिपछि विश्वमा समाजवाद लोकप्रिय हुँदै गएपछि आफुलाई समाजवादी देखाउन धेरैले आफुलाई समाजवादी भन्न थाले । बुझ्नु पर्ने कुरा के हो भने समाजवाद भनिसके पछि त्यस्को अगाडि–पछाडि प्रत्यय, उपसर्ग जोडिरहनु पर्दैन । मार्क्सले बताउनु भएको समाजवाद आफैमा बैज्ञानिक समाजवाद हो ।

त्यसैले मार्क्सको समाजवादको लागि मार्क्सवादी समाजवाद अथवा बैज्ञानिक समाजवाद भनिरहनु पर्दैन । समाजवाद भन्ने शब्दले आफैमा बैज्ञानिक र माक्र्सवादी बिचार बोकेको हुन्छ । त्यसैले नेपालको संविधानमा लेखिएको समाजवाद पनि आफैमा बैज्ञानिक र मार्क्सवादी समाजवाद हुन जरुरी छ । तर मासलाई झुक्याउन आफुलाई समाजवादी देखाउन, भनाउन प्रयोग गरिने समाजवादमा भने अगाडि–पछाडि विभिन्न उपसर्ग प्रत्यय जोडिने गरेको छ । जस्तो कि प्रजातान्त्रिक समाजवाद , इन्दिरा गान्धिको नेहरुभियन समाजवाद , इस्लामिक समाजवाद आदि ।
आज पनि धेरै गैरकम्युनिस्ट र केही कम्युनिस्ट साथीहरू पनि साम्यवाद आउने कुरामा शंका गर्छन । केही पुँजीवादीहरु पुँजीवादलाई नै संसारको सबैभन्दा सुन्दर राजनीतिक ब्यवस्था मान्छन् । उनिहरु मार्क्सवाद सहि र राम्रो थियो भने किन फेल भयो त भनेर तर्क गर्छन् । बुझ्नु पर्ने कुरा के हो भने ८ हजार वर्ष पुरानो वर्ग समाज परिवर्तन गरेर नयाँ व्यवस्था ल्याउनु कुनै सानो कुरा पक्कै पनि हैन । करिब १ सय ७० वर्ष पहिला मात्रै जन्मेको मार्क्सवादले आज ८ हजार वर्ष पुरानो वर्ग समाजलाई हल्लाएर केही ठाउँमा समाजवाद ल्याएर प्रयोग गर्दागर्दै विविध कारणले यो व्यवस्था ढल्न पुग्यो । यसको अर्थ मार्क्सवाद फेल भयो भन्ने पटक्कै हैन । हामी वर्तमानलाई नियालेर हेर्दा देख्न सक्छौ फेल त पुँजीवाद भइरहेको छ ।

पुँजीवादले आज संसारमा प्रकृतिको दोहन गर्दै केही थान पुँजीपतिको हातमा पुँजी पुर्याउने काम गरिरहेको छ । विज्ञानले पनि के प्रमाणित गरेको छ भने यहि तरिकाले पृथ्वीको प्रकृतिको दोहन गर्दै जाने हो भने अबको ५ सय वर्ष पछाडि यो पृथ्वी बस्न लायकको नै रहदैन । पुँजीवादले विश्व सखाप गरिरहँदा , आफ्नै विश्वको अक्सिजनको भण्डारमा लागेको आगो बचाउन चै नसकेर र नचाहेर हजारौं प्रकाश वर्ष टाढा रहेको ग्रहमा पानी खोजिरहँदा पनि यो पुँजीवादलाई केही लम्पटहरु सफल मान्छन् र साम्यवाद आउन नसक्ने तर्क गर्छन ।

मानव सभ्यताको ऐतिहासिक चरणहरुको अध्ययन गर्दा के सिद्ध हुन्छ भने मानवजातीले एक पछि अर्को विकसित ,समानतामा आधारित समाज निर्माण गरिरहेको छ र भविष्यमा वर्गहीन समाजको निर्माण हुनेछ । त्यो साम्यवादमा श्रमिक र पुँजीपति बर्ग रहने छैन । त्यहाँ समानता ,उत्पादनको समान वितरण , योग्यता र इच्छा अनुसारको काम हुनेछ ।
नेपालको सन्दर्भमा समाजवाद

चौतर्फी दलाल पुँजीवाद हावी भैइरहेको बेला संविधानमा भने प्रस्तावना मै समाजवाद उन्मुख भनेर लेखिएको अवस्था छ । मैले अगाडिनै भनिसकेको छु समाजवाद अगाडि–पछाडि केहि नजोडिदाँ यसको अर्थ स्वतः मार्क्सवादी समाजवाद अथवा बैज्ञानिक समाजवाद भन्ने लाग्छ । भलै, केही मानिसले यसलाई प्रजातान्त्रिक समाजवादसँग जोडेर पनि हेर्ने गरेका छन् । तर, कथित प्रजातान्त्रिक समाजवाद र वैज्ञानिक समाजवादको पर–परसम्म सम्बन्ध भने छैन । पँुजी परिचालन उधमहीन क्षेत्रमा तिब्रताका साथ अगाडि बढिरहेको छ । बिदेशबाट पैसा कमाएर ल्याउने नेपाल आएर प्लटिङमा पैसा लगाउने , अलिकति पैसा जम्मा भइसक्दा सिमेन्टको घर बनाउनु पर्ने जस्ता उधमहीन कामहरुले गर्दा नेपालमा दलाल पुँजीवाद हावी भइरहेको छ ।

दलाल पुँजीवादले कहिले पनि रोजगारी सृजना गर्दैन ,न कुनै उत्पादन गर्न सक्छ । यसले त सिर्फ अकुत सम्पत्ति थुपार्ने काम गर्छ , भएको सबै सम्पत्ति बैंकमा थुपार्ने काम गर्छ । चरम भ्रस्टाचारले गर्दा नेपालको सर्कुलेसनमा रहेको कुल पुँजीको एउटा ठूलो भाग बिदेशी बैंकहरुमा जम्मा भइरहेको छ । त्यस्ता भ्रस्टाचार गरिएका सम्पत्ति उत्पादन क्षेत्रमा लगानी गर्दा समस्या आउन सक्ने कारणले भ्रष्टहरुले सबै सम्पत्ती विदेशी बैंक तथा क्यास अवस्थामै लुकाएर राख्ने भएको कारणले आजको समयमा दलाल पुँजीवाद हाम्रो समाजावाद उन्मुख समाजको प्रमुख समस्याको रुपमा प्रकट भईरहेको छ ।

पुँजीले पुँजी उत्पादन गर्न नसक्नु, उत्पादनशील क्षेत्रमा पुँजी लगानीलाई प्राथमिकता र ब्यापकता दिदै रोजगारी तथा उत्पादनको सृजना गर्न नसक्नु ,अनुत्पादक तथा उधमहिन क्षेत्रमा मात्र पुँजीको ठूलो हिस्सा लगानी हुनु ,अवैध कारोबार तथा चरम भ्रस्टाचार को कारणले ब्ल्याक मनिको आकार झन–झन बढ्दै जानू आजको राष्ट्रको ठूलो समस्या हो ।
भनिन्छ शिक्षा ,स्वास्थ समाज ,मानिसका लागि संवेदनशिल क्षेत्र हुन् । तर हाम्रो देशमा भने यो क्षेत्र नै व्यापारीको हातमा दिइएको छ । देशका प्रायः बिधालय र हस्पिटलमा निजी क्षेत्र कै बाहुल्यता देख्न सकिन्छ । बर्गहीन समाजको परिकल्पना गरेका कम्युनिस्टहरुको संख्या संविधानसभामा दुई तिहाइ भएको बेला पनि दुई भिन्न प्रकारका बिधालयले दुई फरक–फरक वर्गका बिधार्थी उत्पादन गरिरहेको छ ।

यो क्षेत्रमा सुरुमै राज्यको हस्तक्षेप नभएसम्म समाजवाद तर्फ अगाडि बढ्न सकिँदैन । यस्ता धेरै समस्याहरुको कारण भावी नेपालले कस्तो खालको समाजवादी यात्रा तय गर्छ भन्ने कौतुहल सबैमा हुनु स्वभाविक पनि छ । समाजवादको आर्थिक धरातल निर्माण गर्न राष्ट्रिय पुँजीवाद आवश्यक भएको कारणले दलाल पुँजीवादलाई परास्त गर्दै उद्दार पुँजीवादलाई नियन्त्रण गर्दै राष्ट्रिय पुँजीवादलाई अगाडि लिएर आउन जरुरी छ ।

आज सत्तामा दुई तिहाइको कम्युनिस्ट पार्टीको शासन भइरहँदा यसले कुन प्रकारको राजनीति तथा अर्थव्यवस्थालाई अगाडि बढाउछ भन्ने कुराले यो पार्टी साच्चिकै कम्युनिस्ट पार्टी हो कि बामपंथी दावी गरिरहने पुँजीवादी पार्टी हो भनेर प्रमाणित गर्नेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )