दक्षिण एसियाभरी नै डेंगुको प्रकोप

दक्षिण एसियाभरी नै डेंगुको प्रकोप

बिर्तामोड । नेपालमा मात्रै होइन दक्षिण एसिया भरी नै डेंगुले यतिबेला प्रकोपको रुप लिएको छ। दक्षिण एसियाली देशका सरकार, स्वास्थ्यकर्मी तथा वैज्ञानिकहरु अब के गर्ने भनेर सोचिरहेका छन्।

डेंगुका कारण फिलिपिन्समा सयौंको मृत्यु भइसकेको एएफपीले बताएको छ। भियतनाममा डेंगुका विरामी तीन गुणाले वृद्धि भएको त्यहाका अधिकारीहरुले बताएका छन्। मलेसिया, म्यानमार र कम्बोडियाका अस्पतालहरु डेंगुका विरामीले भरिभराउ छन्। बढ्दो तापमान र कम प्रतिरोधात्मक क्षमताका कारण दक्षिण एसियामा डेंगुले विकराल रुप लिएको छ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भाद्र २२ गतेसम्मको तथ्यांकअनुसार नेपालमा यो वर्ष ३ हजार ८ सय ९९ जना डेंगुका विरामी देखिएका छन्।

यस्तो अवस्थामा वैज्ञानिकहरुले डेंगुको प्रकोपलाई कसरी कम गर्न सकिन्छ भनेर विभिन्न अनुसन्धान गरिरहेका छन्। वैज्ञानिकहरूको एउटा समूहले यतिबेला डेंगुको एन्टीबोडी (प्रतिरोधक) को काम गर्न सक्ने किरा (बग)मा परिक्षण गरिरहेका छन्। यसले विश्वकै लागि चुनौतिको रुपमा रहेको डेंगुको सामना गर्न सक्ने वैज्ञानिकहरुले आशा लिएका छन्।

विश्व लामखुट्टे कार्यक्रम (डब्ल्यूएमपी) ले विकास गरेको एक विधिमा एडीज एजिप्टाइ जातको भाले र पोथी लामखुट्टेलाई वोल्बाकिया नामक रोग–प्रतिरोधी ब्याक्टेरियाबाट संक्रमित गराएर वातावरणमा छोडिन्छ।

केही हप्तामा, ती लामखुट्टेका बच्चा पनि वोल्बाकियाबाट संक्रमित हुन्छन्, यो विधिबाट डेंगु घट्नमा धेरै मद्धत पुग्ने वैज्ञानिकहरुको अपेक्षा रहेको छ। यो विधिबाट डेंगु मात्र नभई जीका, चिकनगुनिया र एल्लो फिभर जस्ता रोग पनि नियन्त्रण गर्न सकिने बताइएको छ।

अस्ट्रेलियामा पहिलो पटक परीक्षण गरिएको यो विधि हाल भियतनामलगायत विश्वका नौ वटा देशमा परीक्षण गरिएको छ। ती सबै देशहरुमा परीक्षणको प्रारम्भिक नतिजाले केही आशावादी बनाएको वैज्ञानिकहरुले बताएका छन्।

ुवोल्बाकिया संक्रमित लामखुट्टेलाई वातावरणमा छोडिएपछि डेंगुका केसमा उल्लेखनीय कमी देखिएको छु, ना त्राङमा डब्ल्यूएमपी का कार्यक्रम संयोजक नुविन बिन् नुविनले भने।

उनको टोलीले गत बर्ष दक्षिणी भियतनामको डेंगुग्रस्त जिल्ला विन लुवोङमा लगभग पाँच लाख वोल्बाकिया संक्रमित लामखुट्टेलाई वातावरणमा छाडेको थियो।

उक्त परीक्षण भएदेखियता नजिकैको सहर ना ट्राङको तुलनामा विन लुवोङमा डेंगुको संक्रमण ८६ प्रतिशतले कम भएको छ।

आजभोलि पनि विन लुवोङका खुला पसल, क्याफे र घरहरुमा लामखुट्टे कराएको त सुनिन्छ। तर त्यहाँका मानिसहरुमा परीक्षण गर्दा भने डेंगु नभइ वोल्बाकिया पाइएको छ।

पहिले उक्त लामखुट्टेले टोकेमा मानिसलाई डेंगु लाग्दैन भनेर स्थानीयलाई विश्वस्त पार्न नै त्यहाका स्वास्थ्यकर्मीहरुका लागि चुनौतिपूर्ण थियो। त्यसअघि ुलामखुट्टे नभए, न लार्भा, न डेंगुु भन्ने सरकारको आधिकारी नाराका कारण मानिसहरुमा लामखुट्टे नै मास्नु पर्छ भन्ने बुझाइ थियो।

डेंगुको संक्रमण लामखुट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्छ। र त्यस्ता लामखुट्टे भीड, तातोपना र आर्द्रता बढि रहेको स्थाना फस्टाउँछन्।

विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय स्वास्थ्य संस्थाहरुको तथ्यांक अनुसार यस बर्ष दक्षिणपूर्व एशियामा ६ लाख ७० हजार जना संक्रमित भएका छन् भने १ हजार ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको छ। यो पछिल्ला केही वर्षहरुकै सबैभन्दा खराब प्रकोप भएको विज्ञहरुले बताएका छन्।

डेंगुको प्रकोप यो मात्रामा फैलनुमा तातो मौसम प्रमुख कारण भएको बताइएको छ। यो वर्षको जुलाई महिनालाई विश्वव्यापी रूपमा अहिलेसम्मकै तातो महिनाको रुपमा रेकर्ड गरिएको थियो। र लामखुट्टेले पनि तातो मौसम नै मन पराउँछन्। रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुको समूहमा पनि यो रोगले प्रकोपको रुप लिएको बताइएको छ।

वोल्बाकियालाई पहिलो पटक १९२० को दशकमा हार्वर्ड युनिभर्सिटीका वैज्ञानिकहरुले कलेजको नालीमा बस्ने लामखुट्टेमा पत्ता लगाएका थिए।

कीरा प्रजातिमध्येका ६० प्रतिशतमा यो ब्याक्टेरिया पाइन्छ। यो ब्याक्टेरियालाई १९७० को दशकसम्म बेवास्ता गरिएको थियो। त्यसपछि मात्रै यसले डेंगु जस्ता रोग फैलाउन कम गर्न सक्ने पत्ता लागेको थियो।

त्यसपछिका वर्षहरुमा वैज्ञानिकहरूले वोल्बाकियामा डेंगुको प्रतिरक्षाबारे अध्ययन गरेका थिए, जसमा केही सफलता पनि हात परेको थियो। डब्ल्युएमपीले अब यो विधिलाई नै निरन्तरता दिन चाहन्छ।

डब्ल्युएमपी विश्वको एक मात्र संगठन हो जसले डेंगुसँग लड्न वोल्बाकिया संक्रमित लामखुट्टेसहितको कोलोनी बनाउन चाहन्छ। डेंगु हरेक वर्ष विश्वभर १० करोड मानिसहरुमा फैलिने गरेको अनुमान गरिएको छ।

धेरै देशहरूले डेंगुको संक्रमण भएका स्थानहरुमा कीटनाशक राखेर फगिङ पनि गरिरहेका छन्। तर यो विधि भने छोटो अवधिको लागि मात्रै प्रभावकारी देखिएको छ। कीटनाशक राखिएको केही दिनमै लामखुट्टे फर्किने गरेका छन्। र त्यस्ता लामखुट्टेमा रासायनिक कीटनाशकविरुद्ध प्रतिरोधको विकास समेत भएको पाइएको छ।–पहिलो पोष्ट डटकम

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )