बिद्युत प्राधिकरण बिर्तामोडका कर्मचारीले यसरी लिन्छन् घुस

बिद्युत प्राधिकरण बिर्तामोडका कर्मचारीले यसरी लिन्छन् घुस

झापा । नेपाल विद्युत प्राधिकरणका कर्मचारीले नयाँ मिटर जडान गर्न र जलेको वा बिग्रेको मिटर मर्मत गर्न कसरी सेवाग्राहीलाई झन्झट दिएर घुसबापत अवैध रकम असुल्छन् भन्ने तथ्य फेला परेको छ । झापाको बिर्तामोडस्थित अनारमनी वितरण केन्द्रका चुहावट तथा अनियमितता नियन्त्रण फाँटका कर्मचारी आफैँ सेवाग्राहीसँग बार्गेलिङ्ग गर्दै घुस माग्ने गरेको खुलासा भएको छ ।

झापाको बिर्तामोड—५ का कृष्ण अग्रवालले आफ्ना बुवा पवनकुमार अग्रवालको नाममा रहेको सिंगलफेज मिटर जलेपछि मर्मतका लागि बुधबार अनारमनी वितरण केन्द्रमा निवेदन दिएका थिए । सो बापत अग्रवालले विभिन्न शिर्षकमा २ हजार ३ सय ८६ रुपैयाँ ५६ पैसा कार्यालयलाई बुझाउनुपर्ने भयो ।

मिटरको मुल्यबापत १ हजार ९ सय ३४ रुपैयाँ ५६ पैसा, टर्मिनल सिलबापत ३ सय ३९ र बक्सा सिलबापत १ सय १३ रुपैयाँ रकम मिटर लिनका लागि कार्यालयलाई तिर्नुपर्ने बिलमा उल्लेख छ । तर चुहावट तथा अनियमितता नियन्त्रण फाँटका प्रमुख समेत रहेका मिटर रिडिङ सुपरभाइजर दाताराम घिमिरेले कार्यालयमा मिटर उपलब्ध नभएको भन्दै अग्रवाललाई अतिरिक्त रकम तिर्न लगाएका थिए । ‘एकमुष्ट २० हजार रुपैयाँ दिएको खण्डमा मिटर उपलब्ध गराउन सकिन्छ भन्नुभयो’ अग्रवालले भने, ‘आफुसँग तत्काल त्यती रकम नभएको भनेपछि घिमिरेले सबैतिर मिलाउनुपर्ने भएकाले कम्तीमा १५ हजार रुपैयाँ माग्नुभयो ।’

तत्काल मिटर मर्मत नभए घर अन्धकार हुने भएपछि अग्रवालले १५ हजार रुपैयाँ जोहो गरी पुनः अनारमनी वितरण केन्द पुगे । अग्रवालले कार्यालय परिसरमै घिमिरेलाई घुसबापत अतिरिक्त १२ हजार ६ सय १४ रुपैयाँ बुझाए ।

उनले घुसबापत रकम लिएपछि तत्काल उनलाई किन यसरी अवैध रकम असुलेको भनेर प्रश्न गर्दा उनले आफुबाट गल्ती भएको भन्दै सेवाग्राहीलाई रकम फिर्ता गर्न खोजिरहेका थिए ।

प्राधिकरणले सिंगल फेजको मिटर जलेमा वा बिग्रेमा एक दिन, थ्री फेजको तीन दिनमा जडान तथा मर्मत गर्न मातहतका ग्राहक तथा वितरण केन्द्रलाई निर्देशन दिएको भएपनि कर्मचारीले विभिन्न बहाना र झन्झट देखाउँदै यसरी नै अवैध रकम असुल्ने गरेको गुनासो सेवाग्राहीको छ ।

यस विषयमा अनारमनी वितरण केन्द्र बिर्तामोडका प्रमुख विरेन्द्रकुमार झाले आफु बिहीबारबाट मात्रै कार्यालयमा हाजिर भएकाले घटनाबारे विस्तृत थाहा नभएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )