बिर्तामोड बाल मैत्री नगर बन्दै

बिर्तामोड बाल मैत्री नगर बन्दै

बिर्तामोड । बिर्तामोड नगरपालिका बाल मैत्री नगरको रुपमा स्थापित हुँदै गएको छ ।

बालदिवसको अबसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार शिवाकोटीले नगरमा बाल श्रमिकहरुको संख्या शुन्य भएको भन्दै नगरले नगरपालिकालाई बाल मैत्री नगरको रुपमा स्थापित बनाउने योजना बनाएको उल्लेख गर्नुभएको हो ।

राष्ट्रिय बाल दिवस २०७६ अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख शिवाकोटीले बाल मजदुरहरु राख्न पनि नपाइने भन्दै अन्तरक्रिया कार्यक्रममा विभिन्न बालक्लबहरुबाट सहभागि भएका विद्यार्थीहरुले सोधेको प्रश्नको उत्तर दिनु भयो ।

कार्यक्रममा सहभागि बालक्लबका विद्यार्थीहरुले बिर्तामोड नगरपालिकाका मेयर धुव्रकुमार शिवाकोटी, शिक्षा अधिकृत दिनेश कुमार आचार्य, ट्राफिक प्रहरी प्रमुख होम प्रसाद अधिकारी, बिर्तामोड नगरपालिका स्वास्थ्य शाखा इन्चार्ज खगेन्द्र दङ्गाल लगायतलाई प्रश्न गरेका थिए ।

बालबालिकाहरुले बिर्तामोड नगरपालिका भित्र बाल इजलास छ कि छैन यदि छ भने कहाँ छ र छैन भने किन छैन ?, नगरपालिका भित्र हेल्थ सेनिटेरि किन सञ्चालन गरिएन ?, बाल अधिकार संविधानमा मात्र सिमित हो यदि होइन भने हाम्रो नगरमा कहिलेबाट पाउँछौ?, नगरभित्र बाल मजदुरको संख्या कति छ, हामिले बुझ्न चाहेमा कहाँ खोज्न सक्छौँ, नगरभित्रका पायः अधिकांश विद्यालयहरु सडक छेउमा छन् जसले गर्दा दुर्घट्ना बढेको छ यसलाई नियन्त्रण गर्न कस्तो किसिमको पहल गर्नुभएको छ ? लगायतका प्रश्न सोधेका थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख धुव्रकुमार शिवाकोटीले नगरका हरेक विद्यालयमा कलको पानी खानुपर्ने व्यवस्थाको अन्त्य गरि स्वच्छ पिउने पानीको व्यवस्था गर्ने जानकारी दिनुभयो ।

त्यसका साथै नगर भित्रका रहेक विद्यालयमा शिक्षकका लागि मात्र भनेर बनेका शौचालयहरु नगरले ताला लगाउने जानकारी दिनुभयो । शिक्षक र विद्यार्थीको शौचालय एउटै भए मात्र सबै विद्यालयको शौचालय सफा हुनेमा नगरप्रमुखले जोड दिनुभयो ।

कार्यक्रममा बिर्तामोड नगरपालिकाका सम्पूर्ण वडाबाट र अर्जुनधारा नगरपालिका गरि १० वटा भन्दा बढि बालक्लबहरुको सहभागिता रहेको थियो ।

बिर्तामोड वडा नम्बर ५ कोे आयोजना र सिर्जनशील एकता बालक्लब र उज्यालो मनकामना बालक्लबले व्यवस्थापन गरेको थियो । हाल बिर्तामोडमा ५,९ मा मात्र बालक्लब रहेको छ ।

उज्यालो मनकामनाकी सचीव इनु थापाको स्वागत रहेको कार्यक्रममा सहजकर्ता सरोज पौडेलले प्रष्ट पारेका थिए । आयोजक वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र लिङ्देनले शुभकामना व्यक्त गर्दै बालबालिकाको क्षेत्रमा आफू सक्रियतापुर्बक लाग्ने बताए । मनिस न्यौपानेको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिब श्रेया ढुंगानाले गरेकी थिइन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )