रंग नचिन्नेले गाडी हाँक्न मिल्छ ? कानुन भन्छ– हुँदैन, विज्ञ भन्छन्– हुन्छ

रंग नचिन्नेले गाडी हाँक्न मिल्छ ? कानुन भन्छ– हुँदैन, विज्ञ भन्छन्– हुन्छ

काठमाडौं । करिब आठ वर्षअघि खेमलाल गुरुङ आफ्नो ड्राइभिङ लाइसेन्स नवीकरण गर्न ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय पुगे । तर, ड्राइभिङलाई पेसाकै रूपमा अपनाएका गुरुङले नयाँ लाइसेन्स पाएनन् ।

विगत ०४६ सालदेखि नै गाडी चलाउँदै आएका गुरुङलाई कहिल्यै पनि त्यसरी खालीहात फर्काइएको थिएन । तर, ४३ वर्षको उमेरमा, ड्राइभर बनेको २२ वर्षपछि कर्मचारीले उनका आँखामा एउटा खोट देखाएर फर्काइदिए ।

कर्मचारीले देखाएका विभिन्न रङ गुरुङले चिन्न सकेनन् । अर्थात्, उनी त ‘कलर ब्लाइन्ड’ रहेछन् ।

विगतमा २२ वर्षसम्म विभिन्न संघसंस्थाका लागि गाडी चलाउँदा उनलाई आँखाकै कारण कुनै समस्या भएको थिएन । तर, यसपटक भने उनको लाइसेन्स नवीकरण भएन । फलतः तत्कालीन समयमा एउटा बैंकका लागि काम गर्दै आएका गुरुङले जागिर गुमाए ।

‘कतिचोटि नवीकरण गर्न गएँ । सधैँ आनन्दले लाइसेन्स पाइन्थ्यो । तर, ०६८ सालमा ‘तपाईँले गाडी चलाउन मिल्दैन, रङ नै चिन्नुभएन’ भन्दिए,’ ५१ वर्षे गुरुङ सम्झन्छन्, ‘त्यसले गर्दा राम्रो सुविधा भएको जागिर गुम्यो ।’

गुरुङ थप्छन्, ‘मलाई गाडी चलाउँदा केही समस्यै भएको थिएन । कहिल्यै चस्मा त लगाउन परेको थिएन । तर ‘ब्लाइन्ड’ भएको भनेर लाइसेन्स नपाएपछि पाँच वर्ष बेरोजगार बस्नुपर्‍यो ।’

कलर ब्लाइन्ड भएका कारण लाइसेन्स नपाउने गुरुङ मात्र एक्ला व्यक्ति होइनन् । उनीजस्ता दर्जनौँको यस्तै गुनासो छ । तिनैमध्ये एक हुन् २६ वर्षे राजीव शर्मा ।

काठमाडौँको ठूलोभर्‍याङस्थित यातायात कार्यालयमा लाइसेन्स लिन गएका शर्माले सबै फारमहरू भरे । प्रक्रिया पूरा हुञ्जेल कुरे । अन्त्यमा खाली हात फर्किनुपर्‍यो।

‘अस्ट्रेलिया जानुअगाडि लाइसेन्स लिएरै गयो भने सजिलो हुन्छ भनेर साथीहरूले भन्थे । त्यसैले लाइसेन्स लिन गइयो,’ शर्मा भन्छन्, ‘तर, मलाई त्यहाँ एउटा किताबमा धेरै रङहरू मिसिएका चित्रहरू देखाए । ती चित्रमा विभिन्न अङ्कहरू लेखिएका रहेछन्, जुन मैले देखिनँ । तर, छुट्टाछुट्टै देखाएको भए म सबै रङ आनन्दले चिनिहाल्थेँ नि ।’

यो नियमले दिक्दार भएका शर्मा लाइसेन्स ननिकाली अस्ट्रेलिया गए । उनले अस्ट्रेलियामा बिनाकुनै झञ्झट लाइसेन्स पाए ।

नेपालमा हाल विद्यमान कानुनलाई हेर्ने हो भने गुरुङ र शर्मा दुबै लाइसेन्सका लागि अयोग्य नै देखिन्छन् । यातायात व्यवस्था ऐन २०४९को दफा ४७ (च) अनुसार रातो, हरियो र पहेँलो रङ देख्न नसक्ने व्यक्तिले सवारी चालक अनुमति पत्र पाउँदैनन् ।

‘यस्तो हावा ऐन कसले बनाएछ ?’ शर्माको आक्रोश छ, ‘जुन देशमा ट्राफिक लाइटको अभ्यास नै छैन, त्यस्तो ठाउँमा यस्तो नियम किन चाहियो ?’

यस विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वप्रवक्ता रामेश्वर ज्ञवालीलाई सोध्दा उनी आफैँ अचम्ममा पर्छन् ।

‘ऐनले यस्तो पो भन्ने रहेछ ? यस्तो त नहुनुपर्ने हो,’ ज्ञवालीको तर्क छ, ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार त कलर ब्लाइन्डले पनि गाडी चलाउन पाउँछन् । खासै अप्ठ्यारो हुने नि होइन । ट्राफिक बत्ती पनि सबैले बुझ्न सक्ने गरी नै डिजाइन गरिएको हुन्छ ।’

अब ऐनलाई संशोधन गरेर कलर ब्लाइन्डलाई लाइसेन्स नदिने नियम हटाउनुपर्ने शर्माको सुझाव छ । ‘रङ् पो नचिन्ने हो त, दृष्टिविहीन त होइन नि । गाडी चलाउनै नदिनु त गलत हो जस्तो मलाई लाग्छ ।’

तिलगङ्गा आँखा अस्पतालकी डाक्टर सिर्जना अधिकारीको तर्क पनि यस्तै छ । उनका अनुसार कलर ब्लाइन्डले सजिलै गाडी तथा मोटरसाइकल चलाउन सक्छन् ।

‘यदि कुनै व्यक्तिले रातोलाई सामान्य व्यक्तिको भन्दा अलिकति फरक देख्छ भने पनि उसलाई त्यो रातो रङकै एक प्रकार हो भन्ने त थाहा हुन्छ,’ उनी भन्छिन्, ‘ऐन पुरानै रै’छ, यस्तो कानुनलाई सकेसम्म छिट्टै संशोधन गरेकै राम्रो ।’

हुन त कानुन संशोधन गर्नुपर्ने कुरामा यातायात व्यवस्था विभागका पदाधिकारीहरू पनि सहमत छन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयका प्रमुख डम्बरबहादुर हमाल आफू पनि यस्तो ऐन संशोधनको पक्षमा रहेको, तर यसका लागि आफूले केही गर्न नसक्ने बताउँछन् ।

‘म ऐन कानुनविरुद्ध जान मिलेन । रङ नचिन्नेलाई सवारी अनुमतिपत्र नदिनू भन्ने कानुन छ, म कसरी दिन सक्छु र ?’ उनी भन्छन्, ‘बरु हाम्रा सांसदहरूले यस्तो कुरा बुझेर उपयुक्त संशोधन गर्नुपर्ने हो ।’

पाँच सय घुस दिएँ, पास भइयो !

यसैवीच, धेरैपटकको प्रयासपछि अहिले गुरुङले लाइसेन्स नवीकरण गराएका छन् । । उनले आफ्नो पेसालाई फेरि निरन्तरता दिएका छन् ।

‘लाइसेन्स बनाउन म फेरि गएँ । रङ चिन्ने टेस्ट फेरि दिनुपर्‍यो । मलाई फेरि फेल हुन्छु कि भन्ने डर लाग्यो,’ उनी भन्छन्, ‘तर मैले चलाखी गरेँ । टेस्ट लिने कर्मचारीलाई पाँच सय रुपैयाँ घुस दिएँ । उसले तुरुन्तै मलाई पास गरिदियो । यस्तो थाहा पाएको भए त पहिले नै गर्थेँ नि । बेक्कारमा, राम्रो जागिर हातबाट गयो ।’ अनलाइन खबरमा शाश्वत पन्तको समाचार छ

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (1 )