दशैंमा घुम्न जाने मन छ ? यी हुन् झापाका १६ गन्तव्य

दशैंमा घुम्न जाने मन छ ? यी हुन् झापाका १६ गन्तव्य

नेपालीहरुको महान चाड दशैले घर आँगनमा प्रवेश पाइसकेको छ । दुःखजिलो गरेरै भएपनि दशै मनाउर्ने बाध्यतामा हुन्छन् कतिपय मान्छेहरु । दशैं त मनाउने तर कसरी ? आफन्तजनको घरमा पुगेर आशिर्बाद माग्नेदेखि रमाइलो गर्ने त नियमित नै भयो । त्यस बाहेक दशैंलाई बढी उपयोगी र आनन्ददायक कसरी बनाउने भन्ने चिन्ता सबैमा हुन्छ ।

तसर्थ, यसपटको अंकमा बिर्ताज्योति साप्ताहिकले दशैंलाई उपयोगीरुपमा मनाउने र आनन्ददायक बनाउन केही आइडिया र जानकारी दिने प्रयास गरेको छ ।

खासगरी झापा बरपर रहनुहुनेहरुका लागि, अन्यत्रबाट झापातिर आउने पाहुना र दशैंमा घर फर्किनेलाई यो एउटा जानकारी हुन सक्छ । र, यसकै माध्यमबाट दशैंलाई बढी मात्रामा उपयोगी बनाउन सकिने आशा हाम्रो टिमले लिएको छ ।

यसका लागि बिशेषगरी झापा वरपर रहेका घुमघामका स्थल, मेला र साँस्कृतिक पर्वहरुको चिनारी दिने प्रयास गरेका छौं । यस जिल्लाका प्रसिद्ध पर्यटकीय एवम् तीर्थस्थलहरूमा कन्काई धाम कोटीहोम, अर्जुनधारा, जामुनखाडी सिमसार क्षेत्र, किच्चकवध, केचनाकवल, सतासीधाम, धनुषकोटी धाम, सुखानी सहीद पार्क हुन् ।

कनकाई धाम

पूर्वाञ्चलको एउटा महत्वपूर्ण धार्मिक पर्यटन क्षेत्र हो । यो धाम नेपालको झापा जिल्लाको करिब मध्य भागमा पर्ने कनकाई नगरपालिकाको वार्ड नं. ४ मा तथा प्रसिद्ध कनकाई नदीको पूर्वतटीय क्षेत्रमा अवस्थित छ ।

यसलाई कनकाई धाम, कोटीहोम, माईधाम, माई आदि नामले पनि जानिन्छ । विगत वि.सं २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाईमा यहाँ एउटा बृहत् धार्मिक अनुष्ठान कोटिहोम महायज्ञ गरिएको थियो । त्यस पश्चात यस स्थानलाई कोटिहोम भनिन थालियो र पछि संस्थागत हुँदै गएपछि कनकाईधामको रूपमा विकसित भयो ।

यस धार्मिक पर्यटन क्षेत्रको विकास कोषको लागि कनकाईधाम धार्मिक विकाससंस्था कोटिहोम सुरुङ्गा नामक निकायले यहाँको विकासको लागि कार्य गरिरहेको भए पनि यहाँ अरु २ दर्जन जतिसंघ सस्थाहरूले आ–आफ्ना गतिविधि गरिरहेका छन् ।

कोटीहोममा २०४२ सालमा महायज्ञ गरिएको ठाउँमा रहेको अग्नि आज पर्यन्त अविछिन्न प्रज्वलित छ र सोही स्थानमा शिवपाञ्चायन मन्दिर रहेको छ । यस बाहेक यहाँ दर्जनौँ पाटी, पौवा, गोत्र अनुसार बनेका मन्दिर धर्मशाला र अनेकौ देवी देवताका मन्दिरहरू अवस्थित छन् ।

यस धार्मिक परिसरमा हाल निर्माणाधीन उद्यान वाटिकाले यहाँ आउने जो सुकैले वास्तविक शान्ति र मनोरञ्जन प्राप्त गर्दछन् । कोटिहोममा वार्षिक पाँच लाख धार्मिक दर्शनार्थी तथा पर्यटक आउने गरेको संस्थाको रेकर्डबाट देखिन्छ ।

विशेष गरी यहाँ आउने मानिसहरु पूजा आजा, विवाह, व्रतबन्ध, पुराण आदि धार्मिक कार्य गर्न साथै दैनिक व्यवहारिक जीवनको अस्त व्यस्तता, शहरी कोलाहलपूर्ण वातावरणबाट मुक्ति पाउन, घुम्नको लागी यहाँ आउने चलन छ । यस बाहेक यो स्थान नेपालमा सबै भन्दा बढी थर गोत्रीय संस्थाहरू एकिकृत भएको धाम पनि यो मात्र हो ।

साथै योगी नरहरिनाथले नेपालमा लगाएका १०० भन्दा बडी कोटिहोममध्ये यो तेह्रौं कोटिहोम हो र महायज्ञ पश्चात् सबै भन्दा बढी विकसित भएको क्षेत्र पनि सम्भवत यही हो ।

यहाँको कनकाई नदी किनारको खुल्ला र शान्त तटीय क्षेत्र, हरियालिपूर्ण जंगल, नजिकै देखिने चूरे पहाडको मनोरम दृश्य, कनकाई नदीको स्नान योग्य स्वच्छ चीसो पानी र सर्वसुलव सुगमक्षेत्र भएको कारण सबैको मन जित्न सफल हुँदै गए पनि संस्थाको सिमित्त साधन स्रोतको कारणले यहाँ पर्यटकहरुको लागि सुविधायुक्त भवनहरू निर्माण हुन थालेका छन् ।

अर्जुनधारा

यो झापा जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थलको साथै पुरानो व्यापारिक केन्द्र हो । शनिश्चर, खुदुनाबारीे र अर्जुनधारा मिलेर अर्जुनधारा नगरपालिका बनेको हो । शनिश्चरे बजार भएको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।

यो नगरपालिकामा पर्ने अर्जुनधारा पुर्बको एक ठूलो धार्मिक स्थल हो । यो धाममा शिव मन्दिर, विष्णु मन्दिर र अन्य मन्दिरमा पूजाआजा गर्नेको जहिल्यै भीडभाड भइरहन्छ । खासगरी महाशिवरात्रि, बालाचतुर्दशी, कृष्णजन्माष्टमी, माघे संक्रान्ति आदि अनेक पर्वमा अत्यन्त घुइँचो हुन्छ ।

अर्जुनधारा क्षेत्र परिसर भित्र अर्जुनले वाण हानी पानी निकालेको प्राचीन पोखरी रभ्ने यसको बीचमा अर्जुनले गाईलाई पानी ख्वाइरहेको मूर्ति स्थापित गरिएको छ । सातकुने उक्त पोखरीको दक्षिणतर्फ पञ्चधातुबाट निर्मित ५ वटा धाराहरू छन् जसबाट निरन्तर चिसो पानी बगिरहन्छ भने पोखरीभित्र विभिन्न जातका रङ्गी विरङ्गी माछाहरू पाइन्छन् ।

२०५५ सालको हुलाक टिकटमा समेत चित्रांकित अर्जुनधारा क्षेत्रमा प्रत्येक वर्ष लाखौँ स्वदेशी तथा भारतीय तीर्थ यात्रीहरूले भ्रमण गर्ने गरेको पाइन्छ । अर्जुनधारा परिसरभित्र सञ्चालित वेद विद्यापीठमा ब्राम्हणका अतिरिक्त दलित जातका विद्यार्थीहरुलाई समेत पढाउने गरिएको छ ।

अर्जुनधारामा प्रत्येक वर्ष बालाचतुर्दशी र श्रावण महिनाभर मेला लाग्ने गर्दछ, जुन अवसरहरूमा देश भित्रका र भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् ।

जामुनखाडी सिमसार

जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र झापा जिल्लाको सुरुङ्गा गाविसको वडा नं. २ र ५ तथा हाल कन्काई नगरपालिकाको डाँडागाउँमा अवस्थित छ ।

स्थानीय जामुनखाडी सामुदायिक वनभित्रको केही भू–भागलाई सिमसार क्षेत्र घोषणा गरी पर्यटकीय स्थलको रूपमा विकास गर्न शुरु गरिएको हो ।

पूर्व–पश्चिम राजमार्गबाट उत्तर लगभग एक किलोमिटको दूरीमा रहेको चारसय एक दशमलव २५ हेक्टर सामुदायिक वनको भू–भागमध्ये १० हेक्टर अर्थात् १४ बिगाह ८ कठ्ठा ६ धुर जमीनलाई समेत सिमसार क्षेत्रको रूपमा विकास गरिएको छ ।

ऐतिहासिक पृष्ठभूमि बोकेको गङ्गा र जमुना पोखरी रहेको सो क्षेत्रमा संरक्षण अभावका कारण हाल गङ्गा पोखरी अस्तित्वमा छैन भने जमुनाको संरक्षण र विकासका लागि विशेष पहल गरिएको छ ।

४ बिगाहा क्षेत्रको बिचमा रहेको लाम्चो आकारको पोखरी पर्यटकको प्रमुख आकर्षणको बिन्दु हो । आर्थिक आम्दानीलाई समेत मध्यनजर राख्दै पोखरीमा व्यवसायिक रूपमा डुङ्गा सञ्चालन गर्ने गरिएको र पोखरीमा माछापालन समेत गरिएको छ ।

विश्वमै दुर्लभ मानिएका अजिङ्गरहरू यहाँको आकर्षण हुन् । त्यसो त निश्चित सीमा निर्धारण गरी राखिएका मृग र जरायो भालु,खरायो दुम्सी, चरीबाघ आदि यहाँका गहना हुन् । यहाँ पर्यटकलाई पूर्ण आनन्द दिनको लागि हर सम्भव प्रयास गरिएको छ भने जामुन पोखरीमा झोलुङ्गे पुलको मजा पनि लिन सकिन्छ ।

किच्चकबध

भद्रपुर नगरपालिकाको वडा नं. २ र ३ मा अवस्थित रहेको छ । झापा जिल्लाको सदरमुकाम चन्द्रगढीबाट लगभग १० किलोमिटर दक्षिणमा देवनिया र मेची नदीको किनारमा किच्चकबध पर्दछ ।

महाभारतकालिन कथामा आधारित किच्चकबधमा थुप्रै पुरातात्विक वस्तुहरू छन् ।
त्यहाँ एउटा षट्कोणको आकारमा रहेको आकर्षक पोखरी देखिन्छ ।

त्यसको छेउबाट देवनीया नदी, बगेकोछ भने त्यस वरिपरि रहेका देवी–देवताका मन्दिर तथा प्रतिमाहरूका कारणले किच्चकबध निकै आकर्षक पनि छ । महाभारत कालीन कथाको प्रसङ्गसँग जोडिएको किच्चकबध करिब १० बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

वरिपरि गहिरो भू–भाग रहेको किचकबधको १० बिगाहामध्ये ९० प्रतिशत भाग एउटा अलग्गै क्षेत्र जस्तो युद्धकालीन गढजस्तो डाँडाको रुपमा रहेको छ । पुरातत्व विभागको चरण चरणको उत्खननबाट विभिन्न संरचना तथा सामग्रीहरू पाइएका छन् ।

उत्खनन् गरिएका अन्य स्थानहरू पुनःसुरक्षित रूपमा छोपिए पनि दुई स्थानहरू भने बाहिरबाट हेर्न मिल्ने गरी राखिएको छ । पुरातत्व विभागले किच्चकबधमा पाइएका वस्तुहरूको प्रयोगशाला परिक्षणबाट करीब २२०० वर्ष पुरानो सभ्यता रहेको प्रमाणित भएको जानकारी गराइएको छ ।

कचनकवल

कचनकवल नेपालको सबैभन्दा होचो ठाउँ भएकोले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल मानिएको यो स्थान समुद्री सतहबाट ५८ मि. उचाइमा रहेको छ ।

यस क्षेत्रमा ४ बिगाहा जमीन अत्यन्त होचो भएको कारण बर्षा याममा पानी जमेर दलदलमा परिणत हुने गर्दछ । तसर्थ हिउँदमा मात्र त्यहाँ निर्मित आधार स्तम्भमा पुग्न सकिन्छ ।

कचनकवलमा वि.सं. २०४४ साल पौष १६ गते तत्कालीन राजा वीरेन्द्र शाहको पूर्वाञ्चल भ्रमणका अवसरमा २० फिट अग्लो स्तम्भ कछुवाको आकृति माथि स्थापना गरिएको छ ।

यो ठाउँ नेपाल–भारत सिमानाबाट करिब ५०० मिटर दूरीमा पर्दछ । केचना क्षेत्रमा २ वटा ऐतिहासिक पोखरीहरू छन् ।

महाभारत कालमा विराट राजाले राज्य विस्तार गर्दा उनका सेनापतिले निर्माण गरेको विश्वास गरिने यी पोखरीहरूको कारणले पनि यस क्षेत्रको महत्व अझ बढेको छ ।

विराटपोखर

विराटपोखर बिर्तामोड नगरपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय महत्वको स्थान हो । बिर्ताबजार भन्दा १ किलोमिटर दक्षिणमा अवस्थित विराटपोखर ऐतिहासिक पृष्ठभूमिमा आधारित छ ।

बिर्ताबजार दक्षिण सैनिकमोडदेखि चारपाने गाविस क्षेत्रको माथिल्लो भागसम्ममा रहेका करिब सात वटा पोखरी रहेको यो क्षेत्रलाई महाभारतकालीन कथासँग जोडेर स्थानीय बासिन्दाहरू विराटपोखर भन्ने गर्दछन् ।

महाभारतकालीन राजा विराटका गाईवस्तुहरूलाई पानी खुवाउन यो पोखरीको निर्माण गरिएको हो भन्ने जनविश्वास रहेको छ । यो पोखरी बिर्तामोडबाट ४ किलोमिटर दक्षिणमा एक बिगाहा क्षेत्रफलमा फैलिएको छ ।

यहाँ पुग्नको लागि बिर्तामोडबाट बस, ट्याक्सी रिक्सा आदिमा चढेर जान सकिन्छ । यस पोखरीलाई ऐतिहासिक र धार्मिक पृष्ठभूमिका अतिरिक्त पर्यावरणीय महत्वका दृष्टिकोणबाट समेत हेर्ने गरिएको पाइन्छ । यस स्थानमा माछापालन गरि नौका विहार गर्न सक्ने प्रचुर सम्भावना रहेको छ ।

कञ्चनगढ

समुद्र सतहबाट लगभग ३०० मिटको उचाइमा अवस्थित अग्लो डाडाँको रमणीय फाँटमा कञ्चनगढ अवस्थित छ  । कञ्चनगढ नजिकैको होचो भागमा चिया बगान र सालको जंगल पनि छ ।

कञ्चनगढमा शिवालय मन्दिर, दुर्गा, काली एवम् श्रीकृष्णको समेत मन्दिर रहेको छ ।
धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको कञ्चनगढ क्षेत्रमा प्रत्येक वर्ष शिवरात्री, बालाचर्तुदशी मेला लाग्ने गरेको छ । विभिन्न धार्मिक ग्रन्थहरूमा समेत व्यख्या गरिएको कञ्चनगढ क्षेत्रको विषेशगरी महाभारतको विराट पर्वमा, श्रीस्वस्थानी व्रतकथामा श्रीमद्भगवतको अष्टम स्कन्धमा चर्चा भएको पाइन्छ ।

समुद्र मन्थनको क्रममा भगवान शिवले हलाहल विषपान गरी मोहनी नाम गरेकी सुन्दरीसँग सम्भोग गरेपछि वीर्यपतन हुन जाँदा उक्त स्थानको निर्माण भएको र वीर्यपतन सँगसँगै सुनचाँदी, हीरामोती आदि समेत पतन भएको किम्बदन्ती रहेको पाइन्छ ।

पतालगड्डा

मेचीनगर नगरपालिकामा अवस्थित मन्दिर हो । मेचीनगर नगरपालिका क्षेत्रमा पर्ने पतालगंगा पवित्र धार्मिक, ऐतिहासिक र दर्शनीय स्थलको रूपमा लिइन्छ ।

झापा जिल्लाको पवित्र तीर्थस्थल अर्जुनधारासँग सम्बन्ध जोडिएको छ भन्ने धार्मिक जनश्रुती पाइन्छ । १९९० सालको भूकम्प जाँदा हालको पतालगंगा रहेको स्थानमा एकाएक दुध जस्तो सेतो फोहरा फुटेपछि स्थानीय मानिसहरूले गङ्गाजल प्रकट भएको विश्वास गरेका हुनाले यहाँ दर्शनार्थीहरू आउन थालेका हुन् । विसं. २०४२ सालमा निजी क्षेत्रको सहयोगमा मन्दिर निर्माण भएको पाइन्छ । पतालगंगाको दर्शन गरेमा मनमा चिताएको कुरा पुग्छ भन्ने विश्वास रहेको समेत पाइन्छ ।

मेचीनगर नगरपालिकामा रहेको टोक्ला चिया बगानको उत्तरमा अवस्थित पतालगंगा वातावरणीय दृष्टिकोणले समेत स्वच्छ र रमणीय छ । पतालगंगा नजिकै अर्को धार्मिक महत्वको नन्दनेश्वर मन्दिर पनि रहेको छ ।

२०१४ सालमा निर्मित यो मन्दिर १ बिगाहा १२ कठ्ठा क्षेत्रमा फैलिएको छ । शिवरात्री गढीको रूपमा अचल सम्पत्ती रहेको यस मन्दिर क्षेत्रमा प्रत्येक वर्ष शिवरात्रीको अवसरमा मेला लाग्ने गरेको पाइन्छ ।

सुखानी शहीद स्मृति प्रतिष्ठान

सुखानी शहीद स्मृति प्रतिष्ठान पनि पर्यटकीय केन्द्रविन्दू बनेको छ । सुखानी जंगलमा २०२९ साल फागुन २१ गते जीवन बलिदान गर्ने पाँच जना शहीद रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुँइकेल, नारायण श्रेष्ठको सम्झनामा प्रतिष्ठानको स्थापना गरिएको छ ।

झापाबाट इलाम कारागार स्थानान्तरण गर्ने वहानामा तत्कालीन निरंकुश सत्ताद्वारा सुखानीको जंगलमा पुर्याई हत्या गरिएको योद्धाहरुको स्मरणमा स्थापित प्रतिष्ठानको उद्देश्य अनुरुप यो स्थानलाई अगाडि बढाइएको छ ।

सुखानी शहीद स्मृति प्रतिष्ठान प्रवद्र्धनमा हाल ऐतिहासिक पर्यटक स्थलकोरुपम विकास भइरहेको यस सुखानी शहीद स्मृती उद्यानमा ५ जना शहीदको पूर्णकदको प्रतिमा, शहीद स्तम्भ, आकर्षक उद्यान, भीमसेन पोखरी, वनभोजस्थल, बहुउद्देश्यीय सामुदायिक भवन, डुंगा सयर, चलचित्र तथा वृत्तचित्र छाँयाकानका साथै कछुवा संरक्षण तथा जैविक विविधता संरक्षण र सामुदायिक विकासका कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

शहीदहरुको स्मृतीमा स्थापना भएको यस ऐतिहासिक स्थल र प्रतिष्ठानको प्रवद्र्धनमा सञ्चालन भइरहेको सुखानी शहीद स्मृती उद्यानले नगरपालिकाभित्र पर्यटन र अध्ययन अनुसन्धानको माध्यमबाट प्रत्येक दिन नयाँ अनुहारहरुको उपस्थितलाई अभिवृद्धी गरेर लगेको हुँदा यो स्थान आफूलाई स्थापित गर्न सफल भएको छ ।

कृष्ण थुम्की

द्वापर युगमा भगवान श्री कृष्णले यस स्थानमा गाई चराएको हुनाले यस स्थानको नाम कृष्ण थुम्की रहन गएको किम्बदन्ती छ । मेची नदी र सिद्धी नदीको संगममा रहेको कृष्णथुम्की धार्मिक एवम् ऐतिहासिक दृष्टिकोणले अयन्तै महत्वपूर्ण छ ।

वरिपरि समथर जमिन रहेको स्थानमा भरेको पाथी जस्तो चुलिएर बसेको कृष्णथुम्कीलाई द्वापर युगमा भगवान श्री कृष्णले गाई चराएको ठाउँ भएको विश्वास गर्ने गरिन्छ । कृष्णथुम्कीमा एउटा चेप्टो ढुङ्गामा मानव र गाईको पद चिन्ह अङ्कित छ । काँकरभिट्टाबाट १३ कि.मी. उत्तरमा अवस्थित कृष्णथुम्कीमा, कृष्णथुम्की र अन्य ५ वटा थुम्की समेत जम्मा ६ वटा थुम्कीहरू रहेका छन् ।

यहाँ रहेको कृष्ण थुम्कीबाहेक अन्य ५ वटा थुम्कीहरूलाई पाँच पाण्डवको प्रतिकको रूपमा लिने गरिएको पाइन्छ । यी थुम्कीहरूबाट झापा जिल्लाको अधिकांश क्षेत्र र भारतको केही क्षेत्रको दृश्यावलोकन समेत गर्न सकन्छि ।

कृष्णथुम्कीमा मेचीनगर नगरपलिका, बाहुनडाँगी गाविस र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा झापा भ्यू टावर निर्माण गर्ने लक्ष्य रहेको समेत देखिन्छ । यस स्थानमा टावर निर्माण भएमा त्यसबाट सूर्याेदयको दृश्यावलोकन गर्न सकिन्छ ।

दोमुखा

पुरानो सतासीधाम र सुरुङ्गा गाविसको बीचमा पर्ने एक पर्यटकीय स्थल हो । यस क्षेत्रबाट कनकाई नहर निकाली झापाको शिवगञ्ज, सतासीधाम, पाँचगाछी गाविस क्षेत्रलाई छोएको छ । झापाको गैंडेमा अवस्थित माई दोमुखा खासगरी पिकनिक स्थलको रूपमा पूर्वाञ्चलमा नै प्रसिद्ध छ ।

पिकनिकको सिजनमा (आश्विनदेखि बैशाखसम्म) दैनिक दश हजारसम्म पिकनिक खाने मानिसहरू आउने गरेका छन् ।

यो स्थानम वैष्णव देवीको मन्दिर समेत छ । पूर्वपश्चिम राजमार्गबाट करिब ३ कि.मी. उत्तरमा अवस्थित माई दोमुखाबाट पूर्वकै सबैभन्दा ठूलो सिँचाई योजना कन्काई सिँचाई प्रणालीको नहरको हेड निर्माण गरी नहर छुट्याएर लगिएको छ ।

विसं. १९९० अगाडि कन्काई माई चुरे पर्वतवाट तराई निस्कदा साँघुरो गल्छी भएको ठाउँमा सखुवाको रुख लडेर दुई मुख परेको अर्को सखुवाको रुखमा अड्किई फड्के पुलको आकार दियो । सो फड्केको उपयोग गरी मानिसहरू आगत जावत गर्दथे र त्यही दुई मुखे सखुवाको रुखबाट यो ठाउँको नाम दुई मुखे भन्दाभन्दै दोमुखा रहन गएको जनश्रुती छ ।

अत्यन्त सुन्दर पर्यटकीय स्थलको रूपमा रूपान्तरित यो स्थानमा बाह्रै महिना जस्तो यहाँ दृश्यावलोकन गर्ने मानिसहरूको भीड लागि नै रहेको हुन्छ । विशेषतः वनभोज स्थलका रूपमा यसलाई प्रयोग गर्ने गरेको पाइन्छ ।

समयगढ

समयगढ त्रिगर्त नरेश सुशर्माले महाभारत कालमा राज्य गर्दा बनाएका गढहरु हाल शिवसताक्षी नगरपालिकमा रहेको छ । यसलाई स्थानीय बासिन्दाहरु सेमेगढ पनि भन्ने गर्दछन् ।

चिल्लागढ

चिल्लागढ कन्काई माईको किनारामा अवस्थित चिल्लागढ पोखरीको ऐतिहासिकता अझै प्रष्ट भएको छैन तर त्यसमा किराँत जातिहरुले आफ्नो पवित्र धार्मिकस्थल भनी पूजाआजा गर्ने गरेका छन् ।

चन्द्रगढ

चन्द्रगढ तत्कालीन चन्द्रगढी गाविसको वडा न. २ (हाल भद्रपुर नगरपालिका) मा ६२ बिगाहा जमीनमा श्री ३ चन्द्र शमशेर आई सैनिक किल्ला कायम गरी भौतिक रूपमा गढ निर्माण गरी सानो भवन, सिसाको इनार समेत निर्माण गरिएकोमा हाल उक्त इनार भग्नावशेषको रुपमा पाइन्छ ।

हाल उक्त स्थानमा गौशाला र लक्ष्मी नारायण मन्दिरको निर्माण गर्ने र आवधिक योजना निर्माण गरी पर्यटकीय स्थल निर्माण गर्ने कार्यमा स्थानीय जनता र धार्मिक तथा सामाजिक संघसस्था लागिपरेको पाइन्छ । यही चन्द्रगढको नामबाट झापा जिल्लाको सदरमुकामको नाम चन्द्रगढी रहन गएको पाइन्छ ।

सतासीधाम

सतासीधाम झापा जिल्लाको शिवसताक्षी नगरपालिका रहेको धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल हो । किम्बदन्ती अनुसार पार्वतीले उनको विवाह भगवान विष्णुसँग गरिदिन आँटेपछि भागेर लुकेको ठाउँ भनी सतासीधामलाई चिन्ने गरिन्छ ।

झिलझिले बजारबाट करिब ४ कि.मी. उत्तर चुरेपहाडको फेदीमा इलामको सिमानासँग जोडिएको यस स्थानमा रहेका प्राकृतिक मूर्तिका स्वरुपहरू, भित्तामा रहेका गाईका थुन आकारका प्रतीकहरू देख्न सकिन्छ ।

सतासी खोलाको एक स्थानको बीच भागमा करिब २० मिटरभित्र मात्र निस्कने गन्धक पानी, फेदीमा रहेका अन्य मूर्तिहरुले पनि यो स्थान धार्मिक र प्राकृतिक दृष्टिले रोमाञ्चकारी रहेको छ ।

सन्थाल नृत्यको मज्जा र जुलेबीको स्वाद

पूर्वी नेपालका आदिवासी सन्थाल जातिको सांस्कृतिक नृत्य हरेक वर्षको दशैंमा मुख्य आकर्षण बन्ने गरेको छ । झापा र मोरङका विभिन्न ठाउँमा लाग्ने मेलाहरुमा संस्थाल समुदायले सामुहिक नृत्य देखाउँदै आएका छन् ।

झापाको गरामनी, कमल गाउँपालिकाका पाडाजुँगी, मंगलबारे, गेउरिया, गौरीगञ्ज, खजुरगाछी, ग्वालडुब्बा, कोरोबारी, कुञ्जिबारी, जनता, बुलुचोक, शिवगञ्ज, रंगियाथान, बनियानी, राजगढ, फूलबारी, घैलाडुब्बा, डाँगीबारी, चारआली, बैंसाबारी, गौरादहलगायतका स्थानमा लाग्ने मेलाहरुमा सन्थाल जातिको नृत्य मुख्य आकर्षण बन्ने गरेका छन् ।

हरेक स्थानीय निकायले महत्व दिएर आयोजना गरिएका त्यस्ता मेलाहरुमा बिषेसत लोपोन्मुख सन्थाल जातिको परम्परागत नृत्य आर्कषण रहेको छ । यसरी लागेका मेलाहरुमा सन्थाल नृत्य नै मुख्य आकर्षण हो ।

यी मेलामा बिभिन्न खानेकुराका परिकारसँगै बिशेषगरेर जुलेबीको स्वादमा रमाउनेहरु निक्कै भेटिन्छन् । खासगरी तात्तातो जुलेबीको स्वादले धेरैको मुख रसाउने नै छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )